फाकफोकथुमका सातै वडामा सार्वजनिक सुनुवाई सम्पन्न

  युद्धबहादुर बोहोरा
203 Shares

 

इलाम: फाकफोकथुम गाउँपालिकाको सातै वडाको सार्वजनिक सुनुवाई सम्पन्न  भएको छ । पालिकाको सेवा केन्द्र आमचोकसंगै रहेको ३ नम्बर वडाकार्यालयको केही महिना अघि सार्वजनिक सुनुवाई गरिएको थियो । त्यसपछि जेठ ७ गतेदेखि क्रमशःवडा नम्बर ४,५,७,६ र २ हुँदै १२ गते १ नम्बर वडामा अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गर्न फाकफोकथुम गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन एवम् सहजीकरणमा संचालन भएको हो ।

कार्यक्रममा राजनैतिक दल, सामाजकि संघसंस्था, गैरसरकारी संस्था, उपभोक्ता समिति, सहकारी संस्था, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, आदिवासी जनजाति, महिला, दलित, बालबालिका, युवा, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति एवम् सबै लक्षित वर्ग, नागरिक समाज, समाजसेवी, बुद्धिजीवि संचार जगतलगायत सेवाग्राही र सरोकारवालाको उल्लेख्य सहभागीतामा रहेको थियो ।

१ नम्बर वडामा भएको सार्वजनिक सुनुवाईको अन्तिम कार्यक्रममा १२ जना सेवाग्राहीले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए । सेवाग्राहीको प्रश्न र जिज्ञासाको वडाध्यक्ष कर्ण बहादुर लिम्बु,वडासदस्य कमानसिं सम्बाहाम्फे र प्राविधिक किसन लिम्बुले जवाफ दिएका थिए ।

उनीहरुले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने बताए । वडाअध्यक्ष लिम्बुले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई अनुसरण गरेर अघि बढ्ने प्रतविद्धता जनाए ।

वडासचिव बिनोद कार्कीले सार्वजनिक सुनुवाईको औचित्यसहित स्वागत गरेको कार्यक्रममा वडाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रतिवेदन वडाध्यक्ष लिम्बुले प्रस्तुत गरेका थिए ।

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले ३० जनाको नागरिक अभमित प्रतिवेदन पत्र र ३० जनाको बहर्गिमन अभिमतको नतिजा प्रस्तुत गरेका थिए । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु ‍औंल्याईएको छ । त्यस्तै,बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।

जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले फाकफोकथुमले प्रत्येक वडामा सार्वजनकि सुनुवाई गरेको गाउँपालकिाले जनाएको छ ।

सार्वजनकि सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शीता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका विषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनकि सेवा, वस्तु र निर्णय प्रक्रियामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।

 

कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमको अफिसियल पेज https://www.facebook.com/nayabulanda/ बाट भएको थियो  । सहजीकरण गर्ने मिडिया प्रालिका उपसम्पादकद्वय प्रकाश नेपाल र युद्धबहादुर बोहोरा साथै पत्रकार नवीन ढकालले पनि सहजकर्ता योङ्हाङलाई सबै वडाको कार्यक्रम संचालनमा सहायोगीको भूमिका निर्वाह गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार