विदेशमा अलपत्र परेकाहरुको सारथि बन्दै सामी कार्यक्रम

इलाम : इलाम नगरपालिका १२ की तिलकुमारी लिम्बू करिब १ वर्षअघि वेदैशिक रोजगारीका क्रममा ओमन पुगिन् । दलालमार्फत डेढ लाख रुपैयाँ तिरेर घरेलु कामदारका लागि ओमन पुगेकी लिम्बू साहुकै बन्धक बनिन् । साहुले घरेलु काममा लगाए, तर पारिश्रमिक दिएनन् । त्यतिमात्र होइन साहुबाट मानसिक र शारीरिक  यातना समेत भोगिन् ।

यतनाबाट बच्न तिलकुमारी त्यहाँबाट भागेर एक कम्पनीमा काम गर्न थालिन् । त्यहाँ पनि पारिश्रमिक नपाएपछि लिम्बू विदेशी भूमिमा अलपत्रमा परिन् । उक्त कम्पनीबाट पनि भागेकी तिलकुमारीलाई स्वदेश मन लाग्यो । तर स्वदेश फर्कनका लागि मेनपावरमार्फत नगई दलालमार्फत गएको हुनाले त्यति सहज थिएन । राजदुतावासको सम्पर्कमा पुगेकी तिलकुमारीलाई स्वदेश फर्किन मन लागेपनि फर्किन वातावरण भएन । किनकी उनी मेनपावरमार्फत नभई दलालमार्फत ओमन पुगेकी थिइन् ।

उक्त घटनाबारे तिलकुमारीले परिवारमा जानकारी गराइन् । घटनाबारे परिवारले जानकारी पाएपछि स्वदेश फर्काउन पहल गरेपनि विदेश पठाउने दलालसँग सम्पर्क नरहेकाले सकेनन् । अन्तत: इलाममा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमसँग तिलकुमारीको परिवारको सम्पर्क भयो । सामीको निरन्तर पहलपछि तिलकुमारी ८ महिना अघिमात्र स्वदेश फर्कन सफल भएकी छन् ।

‘म विदेशमा अलपत्र भएपछि राजदुतावासको सम्पर्कमा पुगेपनि दलालमार्फत गएको हुनाले स्वदेश फर्कन सकिरहेकी थिइन । परिवारमा खबर त गरियो तर उहाँहरुको प्रयास पनि सफल हुन सकेको थिएन’ तिलकुमारीले सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा भनिनन्, ‘साइनोमा बोजु पर्ने इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू (दाहाल) मार्फत मेरो परिवारको सम्पर्क सामीसँग भएछ । त्यसपछि सामीले निरन्तर प्रयास गरेर म सकुशल घर फर्कन सफल भएकी छु ।’

उता देउमाई नगरपालिका ६ का सोमबहादुर राईको विदेश गएको ३ दिनमा नै मृत्यू भयो । उनको शव विदेशमा अलपत्र भयो । शव ल्याउन सोमबहादुरका भतिज चन्द्रबहादुर राईले एक सातासम्म निक्कै पहल गरे, तर सम्भव भएन ।

जब चन्द्रबहादुरको सम्पर्क सामीसँग भयो, तब ४ दिनमा नै शव घरमा आइपुग्यो । त्यसका लागि सामीले जिल्ला प्रशासन कार्यलयमार्फत वैदेशिक रोजगार विभाग र अन्य सम्बन्धित निकायमा पहल गरेको थियो । ‘मेरो काकाको शव ल्याउन आफैंले गरेको पहल सफल नभएपछि सामीको सम्पर्कमा पुगे । उहाँहरुको पहलमा ४ दिनमा नै शव घरमा आइपुग्यो’ चन्द्रबहादुरले सञ्चारकर्मीसँग भने ।

सामीले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा इलाम नगरपालिका ८ अर्जुन तामाङको मुनाल ओभर्सिजले २ वर्षदेखि नियन्त्रणमा लिएको राहादानी र तीस हजार रुपैयाँ फिर्ता गराएको छ ।

यसरी सामीले वैदेशिक रोजगारीका क्रममा अनेक समस्या झेल्न बाध्य भएकाको उद्धारका लागि निरन्तर पहल गर्दै आएको छ । विदेशमा अलपत्र परेका, मृत्यु भएका, बेसाहारा भएकालगायत विभिन्न समस्यामा परेका नेपालीलाई सामीले घरसम्म ल्याउन पैरवी गर्दै आएको छ । सामीको यस्तो प्रयासबाट श्रम बेच्न गएका नेपालीहरुले राहत महसुस गर्न थालेका छन् ।

जिल्लाको इलाम, सूर्योदय र देउमाई नगरपालिका एवम् माङसेबुङ गाउँपालिकामा सामी कार्यक्रम संचालन भईरहेको छ । यसअघि ४ वर्ष सुरक्षित आप्रवासन (सामी) परियोजनाको नाममा संचालन भएपनि गएको वर्षदेखि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको नाममा संचालन भइरहेको हो ।

विदेशबाट कमाएर पठाएको रकमको सही उपयोग गराउन, उनीहरुको परिवारका सदस्यलाई उद्यमशीलता तथा मनोसामाजिक परामर्शका लागि पनि सामीले भूमिका निर्वाह गर्दै आएको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार पछिल्लो ९ महिनामा इलामबाट १२ हजार पाँच सय ८७ जना व्यक्तहरु श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । चालु आर्थिक वर्ष २०७९।०८० को साउनदेखि चैतसम्मको तथ्याङ्कमा सबैभन्दा धेरै कात्तिकमा एक हजार छ सय ११ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

* सामीले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा इलाम नगरपालिका ८ अर्जुन तामाङको मुनाल ओभर्सिजले २ वर्षदेखि नियन्त्रणमा लिएको राहादानी र तीस हजार रुपैयाँ फिर्ता गराएको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । – सम्पादक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार