सामीले गर्योो पत्रकारसँग अन्तरक्रिया र अभिमुखीकरण

  नयाँ बुलन्द
329 Shares

इलाम :  इलामको चारवटा पालिकामा सञ्चालन भईरहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले इलामका पत्रकारहरुसँग अन्तरक्रिया र अभिमुखीकरण गरेको छ ।

आइतबार इलाम सदरमुकाममा कार्यक्रम आयोजना गरी कार्यक्रम अन्तरगत संचालित गतिविधिहरुको बारेमा जानकारी गराईएको छ ।

इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू (दाहाल) को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उपप्रमुख दाहालले बैदेशिक रोजगारीमा जानैपर्ने अवस्था भए ज्ञान र सिप सिकेर मात्र जान सुझाव दिइन् । उनले कार्यक्रम संचालन भईरहेको पालिकाका सबै वडामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सचेतना प्रदान गर्ने दायित्व सचेत नागरिकको रहेको बताउँदै त्यसका सबै सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा पूर्वी पहाडका ३ जिल्ला हेर्दै आएका कार्यक्रम अधिकृत रोहित विश्वकर्मा, इलाम जिल्ला संयोजक इश्वरी तामाङ, इलाम नगरपालिकाका सहकारी, श्रम तथा रोजगार शाखा प्रमुख डकेन्द्र बोहोराले सहजीकरण गरेका थिए ।

कार्यक्रममा असुरक्षित तवरले वैदेशिक रोजगारीमा गएर अलपत्र परेको अवस्थामा सामी कार्यक्रमले उद्धार गरेर घर फर्केका जिल्लाबासीहरुले आफ्नो अनुभव प्रस्तुत गरेका थिए । सामीले सहयोग गरेका इलाम नगरपालिका ८ का अर्जुन तामाङ, सूर्योदय नगरपालिका ११ का भगीरथ राई, इलाम नगरपालिका १२ की तिलकुमारी लिम्बू, देउमाई नगरपालिका ६ का चन्द्रबहादुर राईलगायतले आफ्नो अनुभव प्रस्तुत गरेका थिए । उनीहरुले आफूहरु सकुशल घर फर्कन सामी कार्यक्रम सहयोगी भएको बताए ।

कार्यक्रममा विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागित थियो ।

सामी सदरमुकाम रहेको इलामसहित सूर्योदय र देउमाई नगरपालिका एवम् माङसेबुङ गाउँपालिकामा गएको वर्षदेखि संचालन भईरहेको छ । यसअघि ४ वर्ष सुरक्षित आप्रवासन (सामी) परियोजनाको नाममा संचालन भएपनि गएको वर्षदेखि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको नाममा संचालन भइरहेको हो ।

६ सेप्टेम्बर २०१८ बाट स्विस सरकारको सहयोगमा संचालनमा रहेको परियोजना १५ जुलाई २०२२ सम्म संचालन रहने भएको थियो ।

सामी कार्यक्रमले वैदेशिक रोजगारीका क्रममा अनेक समस्या झेल्न बाध्य भएकाको उद्धारका लागि निरन्तर पहल गर्दै आएको छ । विदेशमा अलपत्र परेका, मृत्यु भएका, बेसाहारा भएकालगायत विभिन्न समस्यामा परेका नेपालीलाई सामीले घरसम्म ल्याउन पैरवी गर्दै आएकाले श्रम बेच्न गएकाले राहत महसुस गर्न थालेका छन् ।

विदेशबाट कमाएर पठाएको रकमको सही उपयोग गराउन, उनीहरुको परिवारका सदस्यलाई उद्यमशीलता तथा मनोसामाजिक परामर्शका लागि पनि सामीले भूमिका निर्वाह गर्दै आएको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार पछिल्लो ९ महिनामा इलामबाट १२ हजार पाँच सय ८७ जना व्यक्तहरु श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । चालु आर्थिक वर्ष २०७९।०८० को साउनदेखि चैतसम्मको तथ्याङ्कमा सबैभन्दा धेरै कात्तिकमा एक हजार छ सय ११ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार