पर्यटकको रोजाईमा इलामको पाथीभरा

इलाम : पछिल्लो समय इलामको रोङ गाउँपालिका ३ स्थित पाथीभरा मन्दिर पर्यटकको रोजाईमा पर्ने गरेको छ । नेपालका लागि मात्र होइन, भारतलगायत तेस्रो मुलुकबाट आउने पर्यटकको समेत रोजाईमा पर्दछ पाथीभरा मन्दिर । कति पर्यटकहरु मनोकाङक्ष पूरा गर्ने आशामा आउने गरेका छन् भने कति पर्यटकहरु प्राकृतिक सुन्दर अनुपम दृश्यावलोकन गर्न आउने गर्दछन् ।

पाथीभरा मन्दिर पुग्न झापाको  जिल्लाको चारालीबाट उत्तर मेची राजमार्ग हुँदै २ घण्टामा भाडा वा निजी सवारी साधनबाट पुग्न सकिन्छ । खान बस्न सामान्य होटल छ । मन्दिर रहेको ठाउँबाट मौसम सफा भएको बेला ताप्लजुङको पाथीभरा भगवतीको समेत दर्शन गर्न सकिने भएकोले यसलाई बहिनी पाथिभराको रूपमा लिने गरिएको पाथीभरा मन्दिर संरक्षण समितिका अध्यक्ष दिलीप राईले बताए ।

शनिबार र मंगलबार बढी तिर्थालुहरूको भीड लाग्ने मन्दिरको फेदी (राजमार्गसँग जोडिएको ठाँउ) बाट १ किलोमिटरको ठाडो उकालोमा सिडी बनाएर मन्दिर परिसर सम्म पुगेन व्यवस्था गरिएको छ । मन्दिर नजिकै रहेका दुईवटा पोखरी छेउ हाँसको आकृति भएका ढुङ्गाहरू रहेको यो ठाउँलाई हाँसको आकृति भएका ढुङ्गाहरू रहेकोले यो ठाउँलाई हाँस पोखरी पनि भन्ने गरेको पाईन्छ । यहाँ वि.स. २०५१ सालमा मन्दिर स्थापना गरिएको हो ।

मनले चाहेको भाकल पूरा हुने आशा लिएर कैयौँ भक्तजनहरू इलामको कुटिडाँडा स्थित पाथीभरा देवीको मन्दिरमा दर्शनार्थ आउने गर्दछन् । कुटिडाँडादेखि करीब आठ सय मिटर माथिको डाँडामा यो मन्दिर रहेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको यो मन्दिर समुद्री सतहबाट १ हजार ८ सय चालिस (१८४०) मिटरको उचाइमा अवस्थित छ । मन्दिर नजिकै रहेको रमिते टावरबाट तराइका समतल फाँटहरू, इलामका नागबेली चियावारी, भारत, भुटान र बङ्गलादेशसम्मका भूभागहरू खुल्ला आँखाले नियाल्न पाइन्छ । साथै यहाँबाट विश्वको तेश्रो अग्लो हिम शिखर कञ्चनजङ्घा तथा ताप्लेजुङ्गको ठूलो पाथीभरा पनि देख्न सकिन्छ ।

यो मन्दिर पुग्न मेची राजमार्गको कुटिडाँडा खण्डबाट १ हजार तेत्तीस वटा सिमेन्टका खुट्किला चढेर पुग्न सकिन्छ । यो खुट्किलाबाट चिप्लिएर लडेपछि शरीरबाट रगत निस्किएमा मन्दिरलाई बली दिएको हुने भएकोले केही दिनपछि सो व्यक्तिको मृत्यु हुने गरेको किवदन्ती पाइन्छ । मन्दिर परिसर वरपर अलैंचीको बुट्टा अनि घना जंगलले साँच्चै नै इलामको पहिचान बोकेको छ । ताप्लेजुङ्गमा अवस्थित पाथीभरा देवीको अन्तरी बहिनी भनेर चिनिने यो मन्दिरलाई सानो पाथीभरा पनि भन्ने गरिन्छ । विशेषतः दशैंतिहार, तीज, वालाचतुर्दशी, रामनवमी लगायतका चाडपर्वहरूमा मन्दिरमा मेला लाग्ने गर्दछ । साथै प्रत्येक शनिबार र मंगलबार यहाँ विशेषगरी दर्शनार्थीको भीड लाग्ने गर्दछ । सो दिन मन्दिरमा १ सयदेखि १२ सय जनासम्म भक्तजनहरू आउने गर्दछन् । नेपाल बाहेक भारत, बङ्गलादेश तथा भुटानसम्मका भक्तजनहरू यहाँ आउने गरेका छन् ।

पाथीभराको उत्पत्ति कसरी भयो ?

पाथीभरा देवीको उत्पत्ति कसरी भयो भन्ने बारेमा विभिन्न धारणाहरू व्यक्त हुँदै आएको छ। पूर्खाहरूको पालादेखि नै पूजाआजा गरिँदै आएको हुनाले यसको विकास भएको एउटा किंवदन्ती रहेको छ । तर प्राप्त तथ्यको आधारमा एउटै धारणालाई महत्त्व दिइँदै आएको छ । वि.सं. २००५ साल भन्दा अगाडि हाँसपोखरीमा एउटा ठूलो जंगल थियो, जहाँ मानिसहरू जान डराउँदथे । त्यतिकैमा वि.सं. १९९० सालमा झापा बुधबारे–९ का डिल्लीराम पाठक भन्ने एक जना व्यक्तिले पाथीभरा मन्दिर जाने भाकल गरेका थिए । तर सोबेला मन्दिरको पहिचान भइसकेको थिएन ।

वि.सं. २०३४ सालतिर उनले सपनामा पाथीभरा देवीको अन्तरी बहिनीको इच्छा पूरा गर्ने उर्दी आएपछि उनले सोही वर्षको ऋषि तर्पणी पूर्णिमाको मध्यरात चिन्ता बसेछन् । चिन्ता बस्न थालेपछि मध्यरात पूरै उज्यालोमा परिणत भएछ । के रहेछ भनेर हेर्दा दुई वटा बाघ आएछ, पछि त्यो बाघ दुई वटी केटी भएर निस्कियो । तिनै केटीहरूले पाठकलाई पहिलेको थामडाँडा, हाल सो स्थानमा पाथीभरा देवीको मन्दिरमा पुर्‍याएर मन्दिरको शिला देखाइदिएछन् । जङ्गलको बीचमा भेटिएको उक्त शिलालाई तीन दिनपछि पाठकले विधिपूर्वक मन्दिरको स्थापना गरी पाथीभरा देवी नामाकरण गरिदिए ।

त्यसपछि वि.सं. २०५१ सालसम्म वर्षको एकपटक उनी पूजा गर्न त्यहाँ जाने गर्दथे । यो कुराले चर्चा पाउन थालेपछि २०५१ साल मै विष्णुप्रसाद बरालको अध्यक्षतामा मन्दिरको संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले पाथीभरा मन्दिर संरक्षण समितिको स्थापना भयो । समितिको स्थापनापछि प्राप्त शिलालाई घेरा हाली मन्दिरको निर्माण गरिएको थियो।

गाउँपालिकाको स्वामित्वमा पाथीभरा 

इलामकै प्रमुख धार्मिक स्थलको रुपमा परिचित पाथीभरा मन्दिरलाई रोङ गाउँपालिकाले आफ्नो स्वामित्वमा ल्याएको छ । पाथीभरा मन्दिरको संरक्षण र प्रवर्द्धनसहितको स्वामित्व गाउँपालिकाले लिएको हो ।

छुट्टै एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनका लागि गाउँपालिकाले ‘पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९’ बनाएर स्वामित्वमा लिएको गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास) ले जानकारी दिए ।

ऐन अन्तरगत गाउँपालिकाले आफ्नो मातहतमा पाथीभरा मन्दिर संरक्षण समिति बनाएर व्यवस्थापनको जिम्मा लगाएको छ । स्थानीय दिलीप राईको अध्यक्षतामा समिति गठन गरी मन्दिरको संरक्षण, सम्वर्द्धन, विकास, प्रुवर्द्धनलगायत काम गर्ने गरी जिम्मेवारी हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष स्याङ्बोले जानकारी दिए ।

राईको अध्यक्षतामा स्थानीयवासी, माला व्यवसायी, गैरसरकारी संस्था,  चन्दादाता, शिक्षक र प्रत्येक वडाबाट एक/एक जना गरी १९ सदस्यीय समिति निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिइएको गाउँपालिकाले जनाएको छ ।

बर्सेनि पाँच लाख बढी भक्तजन भित्र्याएर एक करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य  गाउँपालिकाको छ । ‘नेपालको संविधान र स्थानीय सरकार संचालन ऐनले दिएको अधिकार प्रयोग गरेर ऐन नै बनाई पाथीभरा मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा लिएका छौं’ गाउँपालिका अध्यक्ष स्याङ्बोले भने, ‘यसबाट गाउँपालिकालाई वार्षिक एक करोडभन्दा बढी आम्दानी हुने गर्दछ ।’

रोङ गाउँपालिकाले गत ११ माघको गाउँसभाबाट पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ पारित गरेको थियो । सोही ऐनबमोजिम गाउँपालिकाले स्वामित्वमा लिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार