माङसेबुङ अध्यक्षले आफ्नै लागि गाडी किने, चुलाचुली अध्यक्षले स्कूललाई बस !

  राम योङहाङ
8.2k Shares

इलाम : मुलुकमा लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधि रिक्त थियो । राज्यपुनर्संरचना पश्चात झण्डै दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधिमा जितेर आए । अधिकांश जनप्रतिनिधिहरु सुविधाभोगी देखिए ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि उनीहरुको पहिलो प्राथमिकता भनेकै सवारीसाधन उपयोगमा देखियो । जनप्रतिनिधिहरु सुविधाभोगी भएको भन्दै व्यापक आलोचना समेत हुँदै आएको छ ।

यो क्रम दोस्रो पटकको स्थानीय तह निर्वाचन पश्चात समेत दोहोरिएको छ । अघिल्लो कार्यकालको जनप्रतिनिधिले सवारी साधन प्रयोग नगरेको जिल्लाको माङसेबुङ गाउँपालिकामा नयाँ जनप्रतिनिधि आउनसाथ सुविधाभोगी देखिएको भन्दै आलोचना सुरु भएको छ ।

माङसेबुङ गाउँपालिका अध्यक्षमा हेमन्त राई निर्वाचित भएपछि आफ्ना लागि नयाँ सवारी साधन खरिद गरेका छन् । नेकपा एमालेका तर्फबाट निर्वचित अध्यक्ष राईले पहिलो गाउँसभाबाटै निर्णय गराई सवारी खरिद गरेका हुन् ।

अध्यक्ष राईले गाडी आवश्यक रहेको कार्यालयले अनुभूत गरेकाले खरिद गरेको बताए । ‘कार्यालयका लागि आवश्यक विभिन्न सामग्री ढुवानीका लागि पनि गाडी चाहिने देखियो । हामीलाई विभिन्न कार्यक्रममा सहभागी हुन पनि चाहिने देखियो’ अध्यक्ष राईले भने, ‘गाडी आवश्यक पर्ने नै भन्ने कार्यालयको बुझाई भयो । त्यसैले गाउँसभाकै निर्णय अनुसार खरिद गरियो ।’ सवारीका रुपमा र सामान ढुवानी दुवै प्रयोनका लागि गाडी किनिएको अध्यक्ष राईले बताए ।

गाउँपालिकाले अध्यक्षका लागि ५९ लाख ४० हजार रुपैयाँमा भर्खरै गाडी खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार चौहानले जानकारी दिए । गाउँपालिकाको पहिलो गाउँसभाबाट ‘गाडी खरिद’ शीर्षकमा ६७ लाख विनियोजन गरेको थियो । उब्रेको रकमबाट एउटा मोटरसाइकल खरिद गर्ने तयारी भईरहेको चौहानले बताए । यसअघि गाडी प्रयोग नभएको गाउँपालिकामा गाडी प्रयोग हुन थालेपछि व्ययभार बढेको प्रमुख प्रशासकीय अधिकृत चौहानले बताए । ‘एक जना स्टाफ चपियो, इन्धन चाहियो, मर्मत लाग्ने नै भयो । यसले गाउँपालिकालाई व्ययभार बढायो’ प्रमुख प्रशासकीय अधिकृत चौहानले भने ।

अघिल्लो कार्यकालको जनप्रतिनिधिले प्रयोग नगरेको गाडी नयाँ जनप्रतिनिधि आउनसाथ खरिद गरिएको भन्दै अध्यक्ष राईको आलोचना सुरु भएको छ । यसअघि पहिलो कार्यकालमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित अध्यक्ष डिकेन्द्र इदिङ्गोले आफू गाडी नचढ्ने भन्दै सो रकम शिक्षा क्षेत्रमा लगानी गर्दै आएका थिए । उनले मोटरसाइकल भने गाउँपालिकाकै प्रयोग गरेका थिए ।

उता, सँगै निर्वाचित इलामकै चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले भने आफ्ना लागि सवारी साधन खरिद गर्न छुट्याएको रकमले विद्यालयका लागि स्कूल बस खरिद गरिदिएका छन् । विद्यालयका लागि स्कूल बस किनिदिएपछि अध्यक्ष केरङको भने प्रशंसा सुरु भएको छ ।

अध्यक्ष राजेन्द्र केरुङले आफ्ना लागि गाडी किन्न छुट्याईएको बजेटबाट पहिलो पटक एक सामुदायिक विद्यालयलाई स्कूल बस किनिदिएका हुन् । विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन भन्दै अध्यक्ष केरुङले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाको वडा नम्बर २ स्थित बाह्रगोठेमा रहेको जनता माध्यमिक विद्यालयलाई स्कूल बस किनिदिएका हुन् ।

सो स्कूलबस सोमबार एक कार्यक्रम गरी विद्यालयलाई हस्तान्तरण गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विपीन योङ्या र प्रधानाध्यापक लक्ष्मेश्वर बनबरिया यादवलाई हस्तान्तरण गरे । उपाध्यक्ष दिलकुमारी योङहाङ (लावती) र प्रमुख प्रशाकसीय अधिकृत डिल्लीराम सुवेदीसकेत उपस्थितीमा अध्यक्ष केरुङले विद्यालयलाई स्कूल बस हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाले पहिलो गाउँसभाबाट सावरी साधन खरिद गर्न एक करोड रुपैयाँ विनियोजन गरेका थिए । सोही रकमबाट ४१ लाख ६९ हजार रुपैयाँमा विद्यालयका लागि स्कूल बस खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । पालिकाले खरिद गरेर दिएको र संचालन खर्च सबै विद्यालयले व्यहोर्ने शर्त रहेको सुवेदीले बताए ।

विद्यालयलाई स्कूल बस हस्तान्तरण गर्दै अध्यक्ष केरुङले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लैजाने उदेश्यका साथ प्रोत्साहन गरिएको बताए । ‘सामुदायिक विद्यालयला अब्बल बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयका लागि बस किनिदिएका हौं’ अध्यक्ष केरुङले भने, ‘प्राविधिक विषय (सिभिल इन्जिनियर) अध्ययनरत विद्यार्थी र अन्य विपन्न वर्गका विद्यार्थीको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने हाम्रो विश्वास छ ।’

सो विद्यालयमा सिभिल इन्जिनियरका एक सयसहित करिब सात सय विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले विद्यालयलाई स्कूलबस दिएपनि सम्पूर्ण संचालनको जिम्मा विद्यालयलाई नै रहेको छ । ‘बसले विहान पहिलो लटमा प्राविधिक शिक्षाका विद्यार्थी ल्याउने, दोस्रो लटमा माध्यमिक तहका विद्यार्थी ल्याउने, दिउँसो प्राविधि लटमा प्राविधिक शिक्षाका विद्यार्थी पुर्याउने र साँझ माध्यमिक शिक्षाका विद्यार्थी पुर्याउनेछ’ प्रधानाध्यापक यादवले भने, ‘गाउँपालिकाबाट बस पाएपनि संचालनको जिम्मा विद्यालयलाई नै भएकाले थोरै शुल्क तोकेर संचालन गर्ने तयारी भईरहेको छ ।’

बसबाट विद्यालयका सेवाक्षेत्रसहित छिमेकी जिल्ला झापाको दमक, केर्खालगायतका क्षेत्रबाट आउने विद्यार्थी लाभान्वित भएका छन् । सो विद्यालयमा प्राविधिक शिक्षातर्फ प्रदेश १ का सबै जिल्ला र मधेस प्रदेशका सिराहा, सप्तरी, सर्लाहीलगायतका जिल्लाका विद्यार्थी छन् । उनीहरु झापाको दमकमा बसेर विहान कक्षा लिन चुलाचुली आउने गरेका छन् । विद्यायले यसअघि स्कूलबस मासिक ५० हजार भाडामा लिएर संचालन गर्दै आएका थिए ।

यस्तै गाउँपालिकाले सर्वसाधारण नागरिकलाई एम्बुलेन्स उपलब्ध गराउने तयारी गरेको छ । एम्बुलेन्स समेत खरिद गर्ने प्रक्रियामा रहेकाले तुरुन्त नागरिकलाई हस्तान्तरण गरिने अध्यक्ष केरुङले बताए । आफ्ना लागि नयाँ गाडी किन्नुभन्दा विद्यालयलाई बस र सर्वसाधारणलाई एम्बुलेन्स दिन नै उपयुक्त ठानेको अध्यक्ष केरुङको भनाई छ ।

अध्यक्ष केरुङले अध्यक्षमा निर्वाचित हुनसाथ टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेका थिए । बैंकसँग समन्वय गरी अध्यक्ष केरुङले सामाजिक सुरुक्षा भत्ता सेवाग्राहीको घरघरमा पुगेर वितरण गर्दै आएका छन् ।

केरुङ नेपाली कांग्रेसको तर्फबाट पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा नेकपा एमाले उम्मद्वार प्रदिपचन्द्र राईसँग झिनो मतान्तरले पराजित भएका केरुङ २०७९ को निर्वाचनमा भने एमालेकै उम्मेद्वार ओमनारायण खनालभन्दा झण्डै तीन हजार मतान्तका साथ निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार