चियामा भारतीय पक्षले अंकुश

इलाम — नेपाली चिया आयातमा भारतले अंकुश लगाउन खोजेको भन्दै सरोकारवालाले प्रधानमन्त्री शेरबहादुर देउवासँग गुनासो पोखेपछि कुटनीतिक माध्यमबाट समस्या समाधानका लागि पहल थालिएको छ । भारतले नेपालको चियामा अंकुश लगाउने तयारी गरेपछि काठमाडौं पुगेको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनको टोलीले मंगलबार बिहान प्रधानमन्त्री देउवालाई भेटेर समस्याको अवगत गराएको छ ।

बिहान ९ बजे चिया उद्यमी, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, काँग्रेस नेता कृष्णप्रसाद सिटौलासहितको टिमले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरी यसबारेमा छलफल भएको एसोसिएसनका महेश अर्यालले जानकारी दिए । ‘समस्या समाधानका लागि प्रधानमन्त्रीले भारतीय राजदूत नवीन श्रीवास्तवलाई बोलाउनु भएको छ,’ उनले भने, ‘आज नै प्रधानमन्त्रीसहित राजदूत र सरोकारवालाबीच छलफल हुने भएकाले हामी प्रतिक्षामा छौं ।’

नेपालबाट भारत निकासी हुने चियामा भारतीय पक्षले अंकुश लगाउने तयारी गरेको भन्दै सशंकित भएको सरोकारवाला पक्षले राजधानी पुगेर सरकारका विभिन्न उच्च अधिकारीलाई ध्यानाकर्षण गराएको छ । गुणस्तरीय नभएको आरोप लगाउँदै भारतले नेपालबाट जाने चियालाई करको दायरामा ल्याउने तयारी गरेको छ । हाल चियामा भारतले शत प्रतिशत कर छुट दिएको छ । भारतको बंगाल र केन्द्र सरकारले नेपाली चिया नियन्त्रणका लागि कानुन बनाउन लागेको एसोसिएसनको भनाइ छ ।

दुई सरकारबीचको संवादले नै समस्या समाधान हुने एसोसिएसनका अध्यक्ष उत्तम प्रधानले बताए । ‘यो समस्याको समाधान जीटुजीबाट मात्र सम्भव छ,’ प्रधानले भने, ‘भारत सरकारले नेपाली चियासम्बन्धी कानुन पारित गरे यो क्षेत्र तहसनहस हुनेछ ।’ उनका अनुसार भारतको पार्लियामेन्ट्री स्टान्डिङ कमिटी अन कमर्सले १५ जुनमा भारतको लोकसभा र राज्य सभामा नेपाली चिया सम्बन्धी प्रतिवेदन नै पेस गरेको छ । नेपालको चिया ‘जिओग्राफिकल इन्डिकेसन’ (जीआई)मा दर्ता नरहेको र सो चिया मिसाएर भारतले निर्यात गर्दा समग्रमा गुणस्तर नै खस्किएको प्रतिवेदनमा उल्लेख छ । यही कारण देखाउँदै भारतले नेपालको चियालाई बन्देज गर्न ४० देखि १०० प्रतिशतसम्म भन्सार दर लगाउनेसम्मको तयारी भारतीय पक्षले गरेको उनले बताए ।

इलामसहित पहाडी जिल्लामा उत्पादित अर्थोडक्स चियाको मूख्य वजार भारत हो । यहाँ उत्पादित वार्षिक ६० लाख किलो तयारी चियामध्ये १० प्रतिशत पश्चिमा मुलुक, १० प्रतिशत आन्तरिक खपत र बाँकी भारत निर्यात हुने गरेको छ । यसअघि समेत विभिन्न वहाना बनाएर भारतले नेपाली चिया निर्यातमा अंकुश लगाउने गरेको व्यवसायीको आरोप छ ।

चिया क्षेत्रका सरोकारवालाहरुले नेपाली चियामा भारतमुखी बजारको विकल्प खोज्नु पर्ने बताउँदै आएका छन् । समग्र चियाको गुणस्तर वृद्धि गर्दै अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्रियाशील रहेको कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले बताए । ‘गुणस्तर सुधार गर्दै विश्व बजारमा नेपाली चिया पुऱ्याउन ट्रेडमार्क नै जारी गरेर पहल गरिरहेका छौं,’ उनले भने, ‘चियाको बोटदेखि ओठसम्मका सबै प्रकृयालाई सुधार गर्दै लाने क्रममा छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार