पाँचथरका चार स्थानीयतहमा वैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण

  युद्धबहादुर बोहोरा
231 Shares

पाँचथरः  जिल्लाका चार स्थानीयतहमा सुरक्षित आप्रवासन ‘सामी’ परियोजना लागू भएको छ । फिदिम नगरपालिका,फालेलुङ, फाल्गुनन्द र  मिक्लाजुङ गाउँपालिकामा विगत दुई वर्षदेखि परियोजना लागू भएको हो । “स्वदेशमा नै रोजगारी गरौं,वैदेशिक रोजगारिमा जाने नै भए सही सुचना लिएर र सीप सिकेर मात्र जाऔं” भन्ने नारा सहित चार वटै स्थानीयतहका समुदायमा वैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन साथै वैदेशिक रोजगारीमा संलग्न नेपाली कामदार र तिनका परिवारलाभान्वित  हुन् भन्ने मुख्य उद्देश्यले परियोजना सञ्चालन भएको हो । सही सूचना र सीप लिएर मात्रै विदेश जानु पर्ने,वैदेशिक रोजगारीका क्रममा ठगी वा शोषणमा परेका पीडित आप्रवासी कामदारलाई कानूनी उपचार तथा यस सम्बन्धी अन्य सेवा प्राप्त हुने परियोजनाको लक्ष्य रहेको छ ।

नेपाल सरकार र स्विस सरकारबीच सम्पन्न द्विपक्षीय सम्झौता अन्तर्गत हेल्भेटास स्विस इन्टर कोअपरेशन्सको प्राविधिक सहयोगमा स्थानीयतहबाट सुरक्षित आप्रवासन ‘सामी’ परियोजना सञ्चालनका लागि जिल्लामा सहयोगी संस्था नेपाल जनउद्धार संघ पाँचथरले सहजीकरण गरेको छ । सुरक्षित आप्रवासन परियोजना सामीले गत सोमवार फिदिममा पाँचथरका सञ्चारकर्मीबीच अन्तरक्रिया सम्पन्न गरे पश्चात् स्थानीयतहका समुदायमा वैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण शुरु गरेको सहजकर्ता लक्ष्मी सुहाङले जानकारी दिइन् ।

यसैबीच,बुधबार फाल्गुनन्द गाउँपालिकाको ४ नम्बर वडामा आयोजना गरिएको कार्यक्रममा ३५ जना र बुधबार ५ नम्बर वडामा ४६ जना महिला र पुरषको सहभागीतामा सहजकर्ता सुहाङले प्रशिक्षण गराएकी थिइन् । कार्यक्रममा वैदेशिक रोजगारी सम्बन्धि थाहा पाउनै पर्ने न्युनतम कुरा,सहयोगी संस्थाबारे जानकारी,सीप तालिम सम्बन्धि ज्ञान लगायतमा एक दिनको अभिमुखिकरण सम्पन्न भएको छ । ५ नम्बर वडाका अध्यक्ष अविन्द्र प्रसाद चेम्जोङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि,वैदेशिक रोजगारमा रहेका व्यक्तिका परिवारहरुको उपस्थिति रहेको वैदेशिक रिटन स्वयंसेवक राज चेम्जोङले जानकारी दिए ।

वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई व्यवसायिक सीप तालिम दिलाउने,वैदेशिक रोजगारीले ल्याएको सामाजिक लागतकम गर्दै लैजाने क्रममा मनोसामाजिक परामर्श सेवा समेत सहजीकरण गर्ने संस्थाले उपलब्ध गराउने जनाइएको छ ।

नेपालमा काठमाण्डौ उपत्यका बाहेक ३९ वटा जिल्लामा यो परियोजना लागू भएको छ । वार्षिक पाँच हजारभन्दा बढी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने जिल्ला छनौट गरी परियोजना सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार