आत्मानन्द गोल्डकप : उपाधिका लागि दमक र माङसेबुङ भिड्दै

इलाम : इलामको माङसेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि बिबिएफसी क्लब दमक झापा र माङसेबुङ गाउँपालिका खेलकुद विकास समिति भिड्ने भएका हुन् ।

शुक्रबार दिउँसो २ बजे हुने फाइनलमा दमकले घरेलु टिम माङसेबुङसँग प्रतिष्पर्धा गर्दैछ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा सिरिजङगा स्पोर्टिङ क्लब मोरङलाई ३-० गोलको सहज जिता निकाल्दै दमकले माङसेबुङसँगको भेट पक्का गरेको हो ।

पहिलो हाफमा २ गोलले पछि परेको श्रीजंगाले दोस्रो हाफमा पनि खेल सुधार गर्न सकेन । पाँचौ मिनेटमा नै दमकका किस्मत लिम्बूले पहिलो गोल गर्दै अग्रता दिलाए । १६ औं मिनेटमा बिकेश लिम्बूले अग्रता दोब्बर बनाए । दोस्रो हाफमा ५२ औं मिनेटमा पुनः किस्मत लिम्बूले दोस्रो गोल गर्दै दमकलाई ३-० को जित निकाल्दै उपाधिनजिक पुर्‍याएका थिए । विजेता दमकका किस्मत लिम्बू म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचले समेत पुरस्कार पाउनेछन् ।

किरात धर्मगुरु आत्मानन्द सेइङको ६८ औं जन्मोत्सवको अवसरमा ११ मंसिरदेखि संचालित प्रतियोगितामापूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता थियो ।

जन्मोत्सवको अवसरमा शुक्रबार फुटबलका साथै म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँण, कराते, व्याटमिन्टनलगायतका खेलहरु समेत सञ्चालन हुनेछन् ।

म्यारथुनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ । म्यारथुनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजक आत्मा-पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार