भयावह बन्दै कोरोना संक्रमण

हवाई उडानमा विभिन्न देशले प्रतिवन्ध लगाएपछि नेपालको विमानस्थल प्रयोग गर्दै भारतीय

  नयाँ बुलन्द
119 Shares

भयावह बन्दै कोरोना संक्रमण

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुनः तीव्र रफ्तारमा फैलिरहेको भए पनि सरकारी संयन्त्र उदासीन देखिएका छन् । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन पनि सरकार अक्षम नै देखिएको छ । अहिले पनि सभा सम्मेलनहरू रोकिएका छैनन् । उपत्यकालगायत घनाबस्ती भएका ठाउँहरूमा भौतिक दूरीसमेत पालना हुने गरेको छैन् । छिमेकी देश भारतमा कोरोना संक्रमणको उच्च हुँदासमेत सीमा नाकामा कडाइ गरिएको छैन । जसका कारण दैनिक हजारौँको संख्यामा कोरोना संक्रमित भेटिने गरेको भारतका विभिन्न राज्यबाट नेपाल प्रवेश गर्नेको संख्या बढ्दो छ । पछिल्लो समय नेपाली विमानस्थल प्रयोग गरी खाडीलगायतका देशहरूमा जाने भारतीय नागरिकहरूको संख्या पनि बढ्दो छ ।

भारतबाट हुने हवाई उडानमा विभिन्न देशले प्रतिबन्ध लगाएका कारण खाडीलगायतका देशमा काम गर्न जाने नागरिकहरू नेपाली विमानस्थल प्रयोग गरिरहेका छन् । जसका कारण नेपालमा कोरोना संक्रमणको अवस्था झन् भयावह बन्दै गएको छ । भारतीय नगारिकहरू भारतबाट निर्वाध रूपमा नेपाल प्रवेश गर्ने र ठमेल, सुन्धारालगायतका होटलमा बास बस्ने गरेका छन् । सरकारी मापदण्डअनुसार उनीहरू १५ दिन होटल क्वारेन्टिनमा बस्ने र त्यसपछि आफू काम गर्ने देशमा जाने गरेको बताइन्छ । अध्यागमन विभागका निर्देशक झंकनाथ ढकाल प्रक्रिया पूरा भएको व्यक्तिको हकमा रोक्न नमिल्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘भारतबाट आएर अरब, खाडीलगायतका देशमा जाने गरेका छन् । भारतीय नागकिरलाई प्रक्रिया पूरा भएको छ भने पठाउँछौँ ।’

सरकारले बनाएको मापदण्डअनुसार अन्य देशको तुलनामा भारतीय नागरिकलाई नेपालको विमानस्थल प्रयोग गर्न सहज नै छ । अहिलेको अवस्थामा कोभिड खोप लगाएको र कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ भएको अवस्था र भारतीय दूतावासले नो अब्जेक्सन लेटर दिएको खण्डमा निर्वाध रूपमा जान दिने गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो १५ दिनमा ३२ हजार भारतीयहरू काठमाडौं विमानस्थल प्रयोग गरेर बाहिरिएका छन् । सोही अवधिमा हवाई मार्गबाट ६ हजार ७८ जना नेपाल आएका छन् । अघिल्लो महिना यो तथ्यांक सात हजारको आसपाससमा थियो । अहिले काठमाडौं–नयाँदिल्ली अहिले दैनिक दुई उडान हुने गरेका छन् ।

भारतीय नागरिकले नेपाली विमानस्थल प्रयोग गरी खाडी मुलुक जाने गरेको विषयमा ध्यानाकर्षण भएको भन्दै यो विषयमा थप बुझेर बाँकी प्रक्रिया अगाडि बढाइने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

सरकारले गल्ती दोहो-याउँदै छ : जनस्वास्थ्यविद्

कोरोना दोस्रो लहरले भयावह रूप लिने अवस्था हुँदा पनि सरकारले विगतको गल्ती सुधार गर्न नसकेको जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेको भनाइ छ । भारतसँग विभिन्न देशले कोरोना संक्रमण सर्ने डर सम्पर्कविच्छेद गरेको अवस्थामा नेपालमा खुला आवतजावत हुनुलाई उहाँ सरकारको कमजोरी भन्नुहुन्छ ।

संक्रमण दिनदिनै बढिरहेको यो अवस्थामा सरकारले सीमा नाका बन्द गरी परीक्षणको दायरा बढाउनुपर्नेमा अहिले भारतबाट दैनिक सयौँको संख्यामा नागरिक नेपाल प्रवेश गरिरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो । ‘गत वर्ष गरेको गल्ती अहिले पनि दोहो¥याएका छौँ । यसले नेपालमा संक्रमणको जोखिम बढाएको छ । सीमा नाकामा कडाइ गर्नुपर्छ । वैध नाकाहरूमा परीक्षण गर्नुपर्ने हुन्छ । नाकामै क्वारेनिटन बनाएर १५ दिन त्यही नै राख्नुपर्छ । नेगेटिभ छ भने पठाउने । नभए अस्पताल भर्ना गर्नुपर्छ । अवैध नाकाहरूमा स्थानीय र सुरक्षाकर्मीहरूले समेत प्रवेशमा रोक लगाउनुपर्छ । नभए हामीले चर्को मूल्य चुकाउनुपर्छ’, उहाँले भन्नुभयो ।

भारत, कतारलगायतका विभिन्न देशहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा निकै कडाइ गरेको स्मरण गराउँदै उहाँले नेपालको सन्दर्भमा पनि कडा व्यवस्था हुनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सुरक्षाकर्मीहरू टोल–टोलमा गएर माइकिङ गर्ने, निरीक्षणका क्रममा मापदण्ड पालना नगरेको अवस्थामा जरिवाना गर्नुपर्छ । अन्तरजिल्ला र अन्तरप्रदेश नाकामा पनि कडाइ गर्नुपर्ने हुन्छ ।’

ठूला सहरहरूमा हुने आवतजावतमा प्रतिबन्ध लगाउँदै हरेक जिल्लामा अक्सिजनको व्यवस्था भएको अस्पताल तयारी अवस्थामा राख्न पनि उहाँले सरकारलाई सुझाव दिनुभयो । यस्तै, भ्यक्सिन बढी उत्पादन गरिरहेको देशहरूसँग परराष्ट्र मन्त्रालयले खोप आयातका लागि पहल गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले अहिले विद्यालय उमेर समूहका बालबालिकामा संक्रमण बढी देखिएकाले त्यसतर्फ पनि ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।

‘कोरोना संक्रमण चिन्ताजनक अवस्थामा’

यही चैत २८ मा देशभर कुल तीन हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ मा कोभिड–१९ संक्रमण देखियो । अघिल्लो महिनाको सोही दिन (फागुन २८) मा दुई हजार ५०० को परीक्षण गराउँदा ४८ जना मात्रै संक्रमित भेटिएका थिए । एक महिनाको फरकमा संक्रमणको ‘ग्राफ’ निकै माथि पुगेको उक्त दुई तथ्याङ्ले प्रष्टयाउँछ । त्यसमाथि अहिले देखिएकामध्ये धेरैमा नयाँ स्वरूपको भाइरस छ ।

यसपालि गत वर्ष जस्तो कोरोनाको त्रास कसैमा देखिएको छैन । शंकास्पद परीक्षणमा जान अनकनाउँछन् भने मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्नेलगायत मापदण्ड पालनामा खास जाँगर चलेको देखिँदैन । सडकमा राखिएका कतिपय हातधुने भाँडा प्रयोगविहीन देखिन्छन् । ठूलाठूला भिडभाड क्षेत्र, जात्रा, मेला, महोत्सव, राजनीतिक कार्यक्रम अहिले यत्रतत्र भइरहेका देखिन्छन् । तर, मन्दगतिमा संक्रमण दर बढिरहेको ग्राफले भने आमसमुदायको ध्यान तान्न सकिरहेको छैन ।

मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमले संक्रमणको दर एक महिनाअघिबाट नै बढ्न थालेको भए पनि पछिल्लो १०÷१२ दिनदेखि यसकोे रफ्तार तीव्र भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘अब राम्ररी स्वास्थ्य मापदण्ड नअपनाउने हो भने सबै सेवा ठप्प पार्नुको विकल्प हुन्न ।’ अघिल्ले वर्ष यही समयमा भारतमा अत्यधिक संक्रमण भएको बेला नेपालमा न्यून थियो । जब भारतबाट नेपाली स्वदेश फर्किए त्यसपछि एक्कासि संक्रमण दरको गति बढेको थियो । गत वर्ष चैतको अन्तिमबाट क्रमशः बढ्न थालेको संक्रमणको गतिले वैशाख सकिँदा त्रास फैलाइसकेको थियो ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारी अहिले अवस्था सामान्य हुँदा पनि शंकास्पद व्यक्ति परीक्षणका लागि अस्पताल जान जाँगर देखाउन छाडेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘शंकास्पद परीक्षणमा जानैपर्छ, क्वारेन्टिन बस्नैपर्छ, नभए अवस्था जटिल हुनसक्छ । अहिले ठूला शहर, नाका क्षेत्र, भारतबाट आउनेमा बढी संक्रमण देखिएको छ ।’

सतर्कता जरुरीः सिसिएमसी

कोरोना बढ्न थालेपछि सरकारले विशेष सावधानी अपनाउन अपिल गरिसकेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को हालैको बैठकले कोभिड संक्रमणको मात्रा बढेको र नयाँ स्वरूपको भाइरस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको छ । केन्द्रले जिल्लाका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने, सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टिजेन परीक्षण बढाइने, लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने गरी काम अघि बढाउने निर्णय पनि गरेको छ । तर, जुन गतिमा हुनुपर्ने स्वास्थ्य सुरक्षाका कार्यक्रम भने न्यून देखिन्छ । हिमलय टाईम्स

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार