इलाममा ‘दीगो रोजगारको लागि सीप विकास परियोजना’ सुरु

इलाम : बेरोजगार तथा रोजगारमा नवप्रवेशी युवाहरुलाई सीप विकास तालिम मार्फत दक्ष जनशक्तिको रुपमा तयार गरि दीगो रोजगारको सिर्जना गर्ने उद्देश्यले इलाममा ‘दीगो रोजगारको लागि सीप विकास परियोजना’ सुरु भएको छ ।

मंगलबार इलाममा सरोकारवालाहरुबीच एक कार्यक्रम गरी परियोजनाको बारेमा जानकारी गरायएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, ब्रिटिस काउन्सीलको कोष व्यवस्थापन तथा दक्षता कार्यक्रम अन्तरगत इलाम उद्योग वाणिज्य संघले संचालन गर्ने परियोजनाको अवधि १५ महिनाको हुनेछ ।

परियोजनाबाट ३ सय २० जना दक्ष जनशक्ति उत्पादन गर्ने उपेक्षा छ । ती जनशक्तिहरु होटल तथा आतिथ्यता व्यवस्थापनको क्षेत्रमा आवश्यक पर्ने ‘रुम एटेन्डेन्ट’, ‘होटल एसिस्टेन्ट’, ‘वेटर/वेट्रेस’, ‘जेनरल कुक’, ‘कन्टिनेन्टल कुक’, ‘हाउस किपिङ’, ‘क्लिनर’, ‘रिसेप्सनिस्ट कम क्यासियर’, ‘जेनरल कुक’ लगायत हुनेछन् ।

सहभागीहरुको छनौट सूचना आह्वान गरेर गरिने परियोजना व्यवस्थापक राम रिमालले जानकारी दिए । आवेदकहरुमध्येबाट आवश्यक मापदण्डका आधारमा छनौट गरिने रिमालले बताए । छनौटका क्रममा आदिवासी जनजाति, दलित, महिला, विपन्न तथा पिछडिएका वर्गका लागि समेत आवश्यक कोटा निर्धारण गरिने उनले बताए ।

छनौट भएकाहरुलाई परियोजना साझेदार संस्था रत्नकुमार वान्तावा पोलिटेक्निकल इन्स्टिच्युटसँग समन्वय गरेर तीन चरणको तालिम दिइनेछ । उनीहरुलाई क्लोज क्याम्पमा राखेर तालिम दिइनेछ । तालिम इलाम नगरपालिका र सूर्योदय नगरपालिकाका होटलमा नि:शुल्क र आवशीय संचालन गरिनेछ । देउमाई नगरपालिकामा समेत तालिम दिन उपयुक्त होटलको व्यवस्थापन भए त्यहाँपनि संचालन हुनेछ । दैनिक चारवटा तालिम संचालन हुनेछ । तालिममा ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत मात्र सैद्धान्तिक कक्षा रहने परियोजना व्यवस्थापक रिमालले जानकारी दिए । तालिमबाट उत्पादन भएका जनशक्तिलाई इलामकै होटल व्यवसायमा उपयोग गरिनेछ ।

परियोजनाका लागि ३ करोड २३ लाख ९७ हजार ६ सय ८५ रुपैयाँ बजेट उपलब्ध छ । जसमध्ये ७३ दशमलव ६३ अर्थात २ करोड ३८ लाख ५४ हजार ४ सय १५ रुपैयाँ कार्यक्रम खर्च र १९ दशमलव ३७ प्रतिशत अर्थात ६२ लाख ७५ हजार ४ सय ३२ रुपैयाँ प्रशासनिक खर्च हुनेछ । त्यस्तै ७ प्रतिशत अर्थात २२ लाख ६७ हजार ८ सय ३८ रुपैयाँ संस्थाको शिरोभार रकम हुनेछ ।

कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल, नेपाल नगरपालिका संघ प्रदेश १ का अध्यक्ष तथा इलाम नगरका प्रमुख महेश बस्नेत, माई नगरपालिकाका प्रमुख दिपक थेवे, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो, चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राई, केन्द्रिय चिया सहकारी संघका अध्यक्ष गोविन्द दाहाल, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष आनन्द कट्टेल, होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौडेल, नागरिक समाजका अगुवा धर्म गौतम, रत्नकुमार वान्ता पोलिटेक्निकल इन्स्टिच्युटका प्रमुख दिपक खनालले मन्तव्य राखेका थिए ।

इलाम उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चेतनाथ पौडेल (कृष्ण) को अध्यक्षतामा भएको कार्यक्रमको संचालन इलाम उद्योग वाणिज्य महासंघका महासचिव हेमन्त गौतम, उद्देश्यमाथि प्रकाश उपाध्यक्ष दुर्गा श्रेष्ठ (मदन) र स्वागत सदस्य खिनमाया बस्नेतले गरेका थिए ।

यसअघि ३ करोड २३ लाख ९७ हजार ६ सय ८५ रुपैयाँ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।-सम्पादक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार