अमेरिकी चुनाव : बाइडेनले जित्नुका पाँच कारण

काठमाडौं : झण्डै ५० वर्षसम्म सार्वजनिक रुपमा काम गरेपछि दुई पटक उपराष्ट्रपति बनिसकेपछि जो बाइडेन अमेरिकाका नयाँ राष्ट्रपति चुनिएका छन् ।

बीबीसीका अनुसार बाइडेनले बहुमतका लागि आवश्यक दुई सय ७० इलेक्टोरल कलेज मतको आँकडा पार गरेका छन् ।

तर यस पटकको चुनावी अभियान कसैले अड्कलबाजी गर्न सक्ने अवस्थाको थिएन ।

यो चुनाव कोरोना महामारीको समयमा भएको हो, यो भाइरसले अमेरिकालाई सबैभन्दा धेरै प्रभावित गरेको छ । साथै देशभित्र सामाजिक उथलपुथल भइरहँदा चुनाव भएको हो ।

यो सबै माहोलका बीच बाइडेन, डोनाल्ड ट्रम्पको रुपमा एक यस्ता प्रतिद्वन्द्वीको सामु उभिएका थिए जो पहिलेका राष्ट्रपतिहरुभन्दा पूर्णरुपमा फरक छन् ।

तर राष्ट्रपति पदको तेस्रो पटकको आफ्नो दौडमा बाइडेनको टिमले राजनीतिक चुनौतीहरुलाई पार गर्दै अन्ततः बाइडेनलाई उनको लक्ष्यसम्म पुर्‍यायाे ।

सरसर्ती हेर्दा इलेक्टोरल कलेज मतको आधारमा बाइडेन र ट्रम्पबीच धेरै अन्तर नभए पनि देशको सबै मतको आँकडा हेर्दा बाइडेन ट्रम्पभन्दा लाखौँ मतले अघि छन् ।

तर डेलावेरका एक कार व्यापारीका छोरा देशमा सत्ताको शिखरसम्म कसरी पुगे ? यस्ता छन् पाँच कारण–

१. कोभिड, कोभिड र कोभिड

बाइडेनको जितको सबैभन्दा ठूलो कारण सायद उनी आफै पूर्णरुपमा आफ्नो नियन्त्रणभन्दा बाहिर रहनु हो ।

कोरोना भाइरस महामारीले अमेरिकामा दुई लाख ३० हजार जनाको ज्यान गइसकेको छ, जसले त्यहाँका नागरिकको जिन्दगीसँगै राजनीतिलाई उल्ट्याइदिएको छ ।
चुनाव प्रचारको अन्तिम दिन डोनाल्ड ट्रम्प आफैले यस कुरालाई स्वीकारेका थिए ।

गएको हप्ता विस्कन्सिनमा भएको एक र्यालीमा ट्रम्पले भनेका थिए, ‘फेक न्युजसँगै अरु केही मए कोभिड, कोभिड र कोभिड मात्र छ ।’ पछिल्ला दिनमा विस्कन्सिनमा सङ्क्रमण दर बढिरहेको छ ।

अमेरिकामा मिडियाको ध्यान लगातार कोभिडमाथि छ, महामारी मानिसहरुको सबैभन्दा ठूलो र गम्भीर चिन्ता बनेको यसको सङ्केत थियो तर राष्ट्रपति चुनाव अभियानको मुद्दा यो थिएन । यस्तोमा राष्ट्रपतिले यस मामिलालाई सम्हाल्नेबित्तिकै उनको लोकप्रियतामा कमी आयो ।

गएको महिना पिउ रिसर्चले कोभिड सङ्कट सम्हाल्ने सम्बन्धमा मानिसहरुले मत लिएको थियो, जसमा बाइडेन ट्रम्पभन्दा १७ प्वाइन्टले अघि थिए ।

ट्रम्पको अभियानको केन्द्र विकास र समृद्धि थियो तर यथार्थमा कोभिडका कारण अर्थव्यवस्थाको लागि मुस्किल बढिरहेको थियो ।

यसका साथै विज्ञानमाथि प्रश्न खडा गर्नु, सानो वा ठूलो नीतिहरुको मामिलामा तुरुन्त निर्णय लिनु जस्ता कैयौँ कदमका कारण ट्रम्प नेतृत्वप्रति मानिसहरुको भरोसा कम भयो ।

गलअपका अनुसार यस वर्षको ग्रीष्म ऋतुमा ट्रम्पको अप्रुभल रेटिङ झण्डै ३८ प्रतिशतसम्म खस्किएको थियो र यसको एक ठूलो कारण कोभिड सङ्कटसँग जुध्ने विषयसँग जोडिएको थियो । ट्रम्पको चुनावी अभियानको यही कमीलाई बाइडेनले चुनाव अभियानमा हतियारको रुपमा प्रयोग गरे ।

२. कम तडकभडक चुनावी अभियान

आफ्नो राजनीतिक करियरमा बाइडेन आफैलाई कठिन अवस्थमा धकेल्ने व्यक्तिका रुपमा चिनिन्छन् ।

एक पटकको उनको गल्तीका कारण सन् १९८७ को राष्ट्रपति पदको चुनाव हरेका थिए । त्यसपछि सन् २००७ सम्म उनले चुनावमा कुनै किसिमको सफलता हात पार्न सकेनन् ।

तेस्रो पटकको कोसिसमा पनि बाइडेनको बाटोमा बाधाहरुमा कमी आएको थिएन तर यस पटक यो कहिल्यै त्यति ठूलो मुद्दा बन्न पाएन ।

राष्ट्रपति ट्रम्प आफ्नो बयानका कारण चर्चामा रहनु नै यसको पहिलो कारण थियो । दोस्रो कारण– गएको महिना केही यस्ता खबरले मिडियाहरुलाई व्यस्त बनाए, जस्तैः कोरोना महामारी, जर्ज फ्लोएडको मृत्युपछि प्रदर्शन र हिंसा र आर्थिक कठिनाइ । यी सबै खबरहरुले देशका नागरिकको ध्यान आफूतिर बनाइ राखे ।

यसको लागि बधाई बाइडेनको चुनावी अभियानलाई पनि दिइनुपर्छ किनकि उनले आफूलाई अभियानमा चाहिने भन्दा बढी मिडियामा देखाउन चाहेनन् । जसका कारण उनी गलत बयानका कारण चर्चामा रहनबाट बचे ।

यदि यो सामान्य चुनाव भएको भए र सङ्क्रमणबाट बच्नको लागि धेरैजसो अमेरिकी नागरिक घरबाट बाहिर निनिस्कने फैसला नगरेको भए बाइडेनको टिमको यो रणनीति उनीमाथि भार पर्न सक्ने कुरालाई पनि अस्वीकार गर्न सकिँदैन ।

त्यस बेला ट्रम्पको ‘बाइडेन लुके’ जस्ता बयानलाई अलग तरिकाबाट हेर्न पनि सक्न्थ्यिो ।

बाइडेनको चुनावी अभियानले यी मुस्किल स्थितिसँग दुरी बनाइ रहँदा ट्रम्पको जिब्रोले उनलाई कैयौँ पटक धोका दियो र विवादमा राख्यो । यो बाइडेनको लागि फाइदाजनक साबित भयो ।

३. ट्रम्प बाहेक अरु जोसुकै  

चुनावको दिनभन्दा एक हप्ता अघिसम्म बाइडेनको अभियानले टेलिभिजनमा प्रसारित हुने आफ्नो अन्तिम विज्ञापन देखाउन सुरु गरे । गएको वर्ष उनको सुरुवात अभियानमा देखिएको सन्देश यस विज्ञापनमा पनि देखिएको थियो । अगस्टमा उनको मनोनयन स्वीकृति भाषणमा उनले यही सन्देशको बारेमा कुरा गरेका थिए ।

उनले भनेका थिए, ‘यो चुनाव अमेरिकाको आत्मालाई बचाउने लडाइँ हो ।’ उनले यस चुनावलाई पछिल्लो चार वर्षमा देखिएको विभाजनकारी असर र बढ्दो अर्थव्यवस्थालाई ठिक गर्ने राष्ट्रिय मौका भएको बताएका थिए ।

बाइडेनले ट्रम्प ध्रुवीकरण चाहन्छन्, उनी भड्काउ कुरा गर्छन् र अमेरिकी नागरिकलाई शान्त र स्थिर नेतृत्व चाहिन्छ भन्ने नारा नारालाई नै आफ्नो राजनीतिक दाउ बनाएका थिए ।

१८ वर्षीय थियरी एडम्स फ्लोरिडामा रहन्छन् । यस पटक मियामीमा उनी पहिलो पटक मतदान गर्दै थिए । उनले भनेका थिए, ‘ट्रम्पको व्यवहारबाट म थाकिसकेँ ।’

यस चुनावमा डेमाक्रेट नेता, ट्रम्पमाथि जनमतसङ्ग्रहको रुप दिन सफल भए न कि दुई उम्मेदवारबीचको चुनाव ।

बाइडेनको सन्देश स्पष्ट थियो, ‘ट्रम्प होइन ।’

यदि बाइडेनले जिते केही हप्तासम्म राजनीतिको बारेमा सोच्ने फुर्सद मिल्ने डेमाक्रेट समर्थकको आमधारणा थियो । यद्यपि पहिले यसलाई मजाकको रुपमा हेरिएको थियो तर यसमा कहीँ न कहीँ सच्चाइ लुकेको थियो ।

४. मध्यमार्गी बाटो चुन्ने रणनीति

जुन बेला जो बाइडेन डेमोक्रेटिक पार्टीको उम्मेदवारीको लागि मैदानमा थिए, उनको प्रतिस्पर्धा बर्नी स्यान्डर्स र एलिजाबेथ वरनसँग थियो । यी दुई जनाकै अभियानमा पैसा धेरै थियो, अभियानको आयोजना पूरै व्यवस्थित तरिकाबाट भइरहेको थियो र यसमा धेरै सङ्ख्यामा मानिस पनि उपस्थित भएका थिए ।

लिबरल पक्षको यस चुनौतीको बाबजुद बाइडेनले मध्यमार्गी बाटो चुन्ने निर्णय गरे । उनले सरकारद्वारा चलाइने स्वास्थ्य सेवा, कलेजमा निःशुल्क शिक्षा वा वेल्थ ट्याक्सको समर्थन गर्न अस्वीकार गरे ।

यसबाट उनको अभियानको अपिल मध्यम र असन्तुष्ट रिपब्लिकन्ससम्म पुग्न सफल भयो ।

बाइडेनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदको उम्मेदवारको रुपमा चुने जबकि उनी वामपन्थी खेमाको समर्थन पाउनको लागि अरु कसैलाई पनि चुन्न सक्थे ।

पर्यावरण र जलवायु परिवर्तनको मुद्दामा बाइडेन, बर्नी स्यान्डर्स र वारेनको निकै नजिक थिए र यस मुद्दासँगै उनीहरुले युवाहरुलाई पनि आफूतर्फ आकर्षित गर्नको लागि यो निकै गम्भीर मुद्दा थियो । यद्यपि यसका साथै उनीहरुले स्विङ स्टेट्समा ऊजा (प्रदूषण गर्ने ऊर्जाको उत्पादन) मा निर्भर रहेका उद्योगसँग जोडिएका मतदाताको समर्थन न पाउने खतरा पनि उठाए ।

तर यो अपवाद साबित भयो ।

पर्यावरणको क्षेत्रमा काम गर्ने संस्था सनराइज मुभमेन्टकी सहसंस्थापक वार्शिनी प्रकाश भन्छिन्, ‘विगतमा हामी उपराष्ट्रपति बाइडेनको योजनाहरु र प्रतिबद्धताहरुको आलोचना गर्थ्यौँ तर उनले यी आलोचनाहरुको उत्तर दिए । उनले लगानी बढाए र कसरी कदम चाल्ने, पर्यावरणको सुरक्षा गर्ने र साथै धेरैभन्दा धेरै सङ्ख्यामा रोजगार उत्पन्न गर्ने विषयमा विस्तारसँग बताए ।’

५. धेरै पैसा, कम समस्या

यस वर्षको सुरुवातमा बाइडेनसँग चुनावी अभियान चलाउनको लागि धेरै पैसा थिएन, उनको खल्ती खाली थियो ।

तर उनले नोक्सान उठाएर चुनाव अभियान सुरु गर्ने निर्णय गरे, त्यो पनि ट्रम्पको विरुद्ध जसले आफ्ना राष्ट्रपतिको कार्यकालको दौरान अभियानको लागि अरबौँ डलर जुटाएका थिए ।

अप्रिलपछि बाइडेनले आफ्नो चुनावी अभियानलाई रकम सङ्कलन गर्ने अभियानमा फेरे र सायद ट्रम्पको चुनाव अभियानको लापर्बाहीका कारण उनीभन्दा धेरै रकम जम्मा गरे ।

अक्टोबरको अन्तिमसम्म बाइडेनको चुनाव अभियानमा ट्रम्पको अभियानको तुलनामा १४ दशमलव ४ करोड डलर धेरै रकम थियो । उनले प्रत्येक महत्त्वपूर्ण राज्यमा यति धेरै टेलिभिजन विज्ञापन दिए, जसको उनका प्रतिद्वन्द्वीले यसको प्रतिस्पर्धा गर्न सकेनन् ।

तर पैसा मात्रै सबै कुरा होइन । चार वर्ष जब ट्रम्प कम रकममा आफ्नो अभियान चलाइरहेका थिए त्यस समय हिलारी क्लिन्टनसँग अभियानको लागि रकमको कुनै कमी थिएन ।

सन् २०२० मा जब कोरोना महामारीका कारण एक राज्यबाट अर्काे राज्यमा घुम्दै अभियान चलाउन सम्भव थिएन, तब धेरै अमेरिकी टेलिभिजन हेरिरहेका थिए । त्यस बेला बाइडेनको विज्ञापन काम आयो किनकि उनी घरमा बसेका मतदातासम्म आफ्नो सन्देश सजिलै पुर्याउन सफल भए ।

यसबाट उनले आफ्नो अभियान बढाउन सके र टेक्सस, जर्जिया, ओहायो र आयोवा जस्ता ठूला–ठूला राज्यमा धेरैभन्दा धेरै मानिससम्म पुग्न सफल भए ।

उनी रुढीवादी एरिजोना र निकै प्रतिस्पर्धात्मक जर्जियामा ट्रम्पलाई टक्कर दिन सफल रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार