कसले बुझ्लान् ह्वाइट हाउसको साँचो ?

काठमाडौं : नोभेम्बर ३ अर्थात आज, अमेरिकाको ४६ औँ राष्ट्रपतिका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड जे. ट्रम्प दोस्रो कार्यकालका लागि र पूर्वउपराष्ट्रपति जोजेफ आर. बाइडेनबीच चुनावी भिडन्त हुँदैछ ।

अमेरिकी राजनीतिका विश्लेषकहरुले यो निर्वाचन राष्ट्रपति ट्रम्पका लागि निर्वाचन भन्दा बढी जनमत संग्रहको रूपमा रहेकाे बताउँदै आएका छन् । रिपब्लिकन पार्टीको पर्यायवाचीजस्तै देखिएका ट्रम्पको आप्रवासी मुद्दामा अनुदार छवि बनेको भए पनि ‘अमेरिका पहिलो’ भन्दै आर्थिक विश्वव्यापीकरणभन्दा फरक धारको वकालत गरेकाले  उनको लोकप्रियता अनुदारवादी (कन्जर्भेटिभ्स्) अमेरिकी नागरिकमाझ उस्तै छ ।

विश्लेषकहरुले राष्ट्रपति निर्वाचनलाई पछिल्लो शताब्दीकै सबैभन्दा महत्वपूर्ण निर्वाचनको रूपमा विश्लेषण गरिरहेका छन । उनिहरुका अनुसार निर्वाचनमा कम शिक्षित, पाका तथा ग्रामीण अमेरिकी मतदाताको ठूलो हिस्सा फेरि पनि राष्ट्रपति ट्रम्पकै पक्षमा देखिन्छ भने युवा, शिक्षित, तथा सहरी अमेरिकी जनता बाइडेनको पक्षमा छन ।

अमेरिकी जनताले ट्रम्पलाई पुनः राष्ट्रपतिमा निर्वाचित गर्ने अथवा ह्वाइट हाउसको साँचो बाइडेनलाई सुम्पिने छिनोफानो आजकाे मतदानबाट गर्दैछन । राष्ट्रपतिमा ट्रम्प र बाइडेनमध्ये जसले बाजी मारेपनि अमेरिकाको राष्ट्रिय र अन्तर्राष्ट्रिय नीति विद्यमान नीतिभन्दा निकै फरक हुने दुवैका चुनावी नाराहरुले प्रष्ट पारिसकेका छन ।

९ करोड ३५ लाखले गरे अग्रिम मतदान

निर्वाचनका लागि तोकिएको मतदान दिवस नोभेम्बर ३ अघि नै अर्थात  नोभेम्बर २ (हिजो) सम्म ९ करोड ३५ लाख मतदाताले अग्रिम मतदान गरिसकेका छन् ।

‘युएस टुडे’ का अनुसार अग्रिम मतदानको ४८ दशमलव ३ प्रतिशत डेमोक्र्याटिक, ४१ दशमलव ५ प्रतिशत रिपब्लिकन र १० दशमलव २ प्रतिशत मत स्वतन्त्रको पक्षमा खसेका छन् ।

सर्वेक्षण अनुसार रिपब्लिकन मतदाताले निर्वाचनकै दिनमा मतदान गर्ने बताएका थिए । तर डेमोक्र्याटिकहरूले  भने अग्रिम मतदानमा रुचि देखाएका थिए । यसैले नोभेम्बर ३ का दिन रिपब्लिकनको पक्षमा बढी मत खस्ने अनुमान गरिएको छ । यसैकारण राष्ट्रपति उम्मेद्वार बाइडेनले ह्वाइट हाउसको साँचो बुझ्छन वा ट्रम्पले नै बाजी मार्छन भन्नेबारे सहजै आँकलन गर्न विश्लेषकहरुलाई नै हम्मे/हम्मे परेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार