जनता समाजवादी पार्टीले गठन गर्‍यो समायोजन कार्यदल

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले समायोजन सहजीकरण कार्यदल तथा कार्यतालिका तयार पारेको छ ।  गत बैशाखमा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) एकिकरण भएर बनेको जसपाले समायोजन प्रक्रिया टुंग्याउन कार्यदल गठन गरेको हो ।

समायोजन सहजीकरणका लागि बनेको कार्यदलमा प्रदेश १ मा परशुराम खापुङ, परशुराम बस्नेत, केशव झा र मनिष सुमन तथा प्रदेश २ मा रामसहायप्रसाद यादव, मृगेन्द्रसिंह यादव, विजय यादव र सुनील रोहित छन् । यस्तै, बागमती प्रदेशमा गंगानारायण श्रेष्ठ, वृषेशचन्द्र लाल, अकवाल अहमद शाह र रणध्वज कन्दङ्वा छन् ।

गण्डकीमा हेमराज राई र रमेश यादव, लुम्विनीमा नवराज सुवेदी, ईस्तियाक राई, सर्वेन्द्रनाथ शुक्ल र अमृता अग्रहरी रहेका छन् । कर्णाली प्रदेशमा भक्तबहादुर शाह र गोविन्द चौधरी तथा सुदुरपश्चिम प्रदेशमा दुर्गा सोब, नवराज सुवेदी, राजकुमार लेखी, चन्दा चौधरी र दानबहादुर विश्वकर्मालाई कार्यदलमा राखिएको छ ।

यसैगरी, भातृ तथा जनवर्गीय संगठन समायोजन सहजीकरण कार्यदलमा रकम चेम्जोङ, रामसहायप्रसाद यादव, हिसिला यमी, सुशीला श्रेष्ठ, उमाकान्त झा, वृषेशचन्द्र लाल, केशव झा, मनिस सुमन र दुर्गा सोब छन् ।

गैर-भौगोलिक, शिल्पी र दलित विशेष प्रदेश सहजीकरण कार्यदलमा प्रकाश अधिकारी, दानबहादुर विश्वकर्मा, लक्ष्मणलाल कर्ण र महेन्द्रराय यादव, प्रवेश क्षेत्र विशेष कार्यदलमा हिसिला यमी, रेणुकुमारी यादव र राजकिशोर यादव तथा पहिचानमा आधारित राष्ट्रिय समितिहरू समायोजन कार्यदलमा राजेन्द्र श्रेष्ठ, डमरु बल्लभ खतिवडा, रणध्वज कन्दङ्वा, अरवल अहमद शाह, केशव झा र सुनील रोहित छन् ।

प्रदेश समायोजन २५ कात्तिकभित्र

दुई दिनसम्म राजधानीमा चलेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले २५ कात्तिकभित्र प्रदेश समायोजनका सम्पूर्ण काम सक्नुपर्ने निर्णय गरेको छ । स्थानीय तहको १५ मंसिर, जिल्ला समन्वय र निर्वाचन क्षेत्र ३० मंसिर र जनवर्गीय संगठन, गैरभौगोलिक शिल्पी लगायतको समायोजन मंसिरमा सम्पन्न गर्नुपर्ने बैठकको निर्णय छ ।

‘समायोजन सहजीकरण कार्यदलले समायोजन कार्यमा सहजीकरण गरी समायोजन कार्य सम्पन्न गर्न सहजकर्ताको भूमिका खेल्ने’ बैठकको निर्णयमा भनिएको छ, ‘प्रत्येक कार्यदलले लिखित रुपमा समायोजन सम्बन्धी भए गरेका कार्यको प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ ।’

समायोजन कार्य अन्तरिम विधान र समायोजन निर्देशिका २०७७ मा व्यवस्था भए बमोजिम मापदण्ड विधि र प्रक्रियाको आधारमा गर्नुपर्ने जसपाका एक नेताले नेताले जानकारी दिए ।

बैठकले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा संघीय परिषद् र ८०१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार