विश्वभरका इलामेलीहरुको भेला शनिबार हुँदै

इलाम : विश्वभर छरिएर रहेका इलामेलीहरुलाई एकिकृत गर्दै एकआपसमा भाइचारा कायम गर्ने लगायतका उद्येश्य राखेर विश्वभरका इलामेलीहरुको भेला शनिबार हुँदैछ ।

जिल्ला समन्वय समिति इलामको संयोजनमा भर्चुअल माध्यमबाट शनिबार साँझ साढे ५ बजे हुने विश्व इलामेली भेला गर्न तयारीलाई तिब्रता दिइएको छ ।

सम्मेलनलाई भब्यताका साथ सम्पन्न गर्न इलाम विकास समाज, काठमाडौं, इलामेली समाज प्रदेश नम्बर १ र इलामसँग सम्बद्ध विश्वभरका संघसंस्थाहरु सक्रिय रुपमा लागेको भेलाका संयोजक एवं जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले जानकारी दिए ।

कोभिड–१९ का कारण इलाम र इलाम बाहिर रहेका इलामेलीहरुमा भएका समस्यालाई सरसहयोग आदानप्रदान गर्ने तथा ज्ञान, सीप र क्षमता अभिबृद्धि गरी स्रोतको परिचालन गर्दै समुन्नत र समृद्ध इलामको निर्माण गर्ने उद्येश्य राखेर भेलाको आयोजना गर्न लागिएको इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले बताए ।

 भेला कै क्रममा विश्वभरका इलामेली संघ, संस्थाहरु तथा इलामेलीहरुको तथ्यांक संकलन गरी व्यवस्थित गरिने पनि जनाइएको छ । भेलामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुखहरु के. वी. गुरुङ र सुवासचन्द्र नेम्वाङलगायत मन्त्री, सांसदहरु, राजनीति दलका प्रतिनिधिहरु, इलामका सबै स्थानीय तहका प्रमुखहरु, विश्वभर रहेका इलामेली समाज र विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति हुने लेकालीले जानकारी दिए ।

भेलाको लागि यसअघि नै एक समति समेत गठन भइसकेको छ । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल सहित राधेश्याम लेकाली, कृष्ण शाह, मोहनकुमार सुवेदी, प्रदीप घिमिरे, ईश्वर श्रेष्ठ, अर्जुन श्रेष्ठ, सरस्वती कर्माचार्य, यशोदा कायस्थ, तिलत्तोमा खत्री, अर्जुन भट्टराई रहनु भएको समिति गठन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार