समाजसेवी लिङदेनले मलामीका लागि बनाइदिए पक्की धारा (फोटो फिचर)

  नयाँ बुलन्द  587 पटक हेरिएको

इलाम : इलामको देउमाई नगरपालिका ६ शान्तिडाँडाका एक समाजसेवीले नीजि लगानीमा मलामीहरुका लागि पक्की धारा निर्माण गरिदिएका छन् ।

स्थानीय समाजसेवी राजकुमार लिङदेनले साविक शान्तिडाँडा २ गोरेडाँडास्थित मलामी टहारोमा पक्की धारा निर्माण गरिदिएका हुन् ।

मलामीहरुले भोग्दै आएको खानेपानीको अभावलाई मध्यनजर गर्दै करिब ६० हजार रुपैयाँको लगानीमा पक्की धारा निर्माण गरिदिएको समाजसेवी लिङदेनले बताए ।

धारामा करिब डेढ किलोमिटर टाढाको पधेँरे मुहानबाट पाइप विच्छ्याएर पानी ल्याइएको छ । मुहानमा समेत एउटा पक्की क्याचमेन ट्याङ्की निर्माण गरिएको छ ।

धारा निर्माणपछि शान्तिडाँडा र आसपासका करिब ३ सय बढी घरधुरी लाभान्वित भएका छन् । त्यस क्षेत्रका बासिन्दाले मानिसको मृत्यु पएपछि दाहसंस्कारका लागि स्थानीय पुवाखोलामा लैजाने गरेका छन् । त्यहाँ केही वर्षअघि स्थानीय समुदायले मलामी टहरो बनाएका थिए ।

यसैबीच आइतबार धारा उद्घाटन गरिएको छ । स्थानीय गाउँहरु भेला भएर आफैंले धारा उद्घाटन गरेका थिए ।

‘त्यस ठाउँमा मलामीहरुले पानीको अभाव झेल्नु नपरोस् भनि साबुन पानीले मिचीमिची हात धौऔं भन्ने नारालाई सार्थक तुल्याउन नीजि लगानीमा धारा निर्माण गरिदिएको हुँ’ समाजसेवी लिङदेनले नयाँ बुलन्दसँग भने, ‘मैले धारा निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री खरिद गरे । मलाई धारा निर्माणमा स्थानीय समुदायले श्रम गरेर सहयोग गर्नुभयो । उहाँहरुलाई धन्यावद ज्ञापन गर्दछु ।’

लिङदेन किरात याक्थुङ चुम्लुङ इलामका जिल्ला समिति सदस्य हुन् । उनी स्थानीय स्तरका विभिन्न संघसंस्थामा आवद्ध भएर समाजसेवामा क्रियाशील छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार