अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ हजार नाघ्यो

news

एजेन्सी : अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ८५ हजार नाघेको छ । २ लाख ८२ हजारभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमणको जोखिम बढेपछि राष्ट्रपति कार्यालय ह्वाइट हाउसकै कर्मचारीहरुले पनि मास्क प्रयोग गर्न थालेका छन् ।

कोरोनालाई लुकेर बसेको दुश्मनको संज्ञा दिएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा दैनिक तीन लाख जनासम्मको परीक्षण भइरहेको र सोमबारसम्म ९० लाखभन्दा बढीको परीक्षण भइसकेको दाबी गरेका छन् ।

यसअघि गत बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको एक जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको थियो । त्यसको तीन दिनपछि उपराष्ट्रपति माइक पेन्सको प्रेस सेक्रेटरीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना संक्रमितको सम्पर्कमा आएपछि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको ह्वाइट हाउस टास्क फोर्सका मुख्य तीन अधिकारी पनि क्वारेन्टाइनमा छन् ।

ह्वाइटहाउसले आफ्ना कर्मचारीहरुलाई मास्क प्रयोग गर्न सूचित गरेपनि राष्ट्रपति ट्रम्पले भने मास्क लगाएका छैनन् । उनी प्रयोगको विरोधी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार