इभाङ-चतुरे सडकको काम गुणस्तरहीन, स्थानीयले भत्काए नाली

  राम योङहाङ  807 पटक हेरिएको

गुणस्तरहीन भएको भन्दै सडकको नाली भत्काइदैं । तस्वीर : बालकृष्ण बस्‍नेत

इलाम : इलामको माङसेबुङ गाउँपालिकामा पर्ने इभाङ-चतुरे सडकको कालोपत्रे गुणस्तरहीन भएको स्थानीयले गुनासो गरेका छन् ।

नेपालटार-शान्तिडाँडा-मंगलबारे-धुसेनी-गजुरमुखी-इभाङ-चतुरेमोड-दमक खण्डमा पर्ने इभाङ-चतुरे सडक कालोपत्रेका क्रममा नाली निर्माण गर्दा गुणस्तरहीन ढुंगा, गिटी, बालुवा प्रयोग गरिएको स्थानीयको गुनासो छ ।

निर्माण कम्पनी कालिका गजुरमुखी जेभीले इभाङ-चतुरे सडकको १३ दशमलव २७९ किलोमिटर खण्डमा गुणस्तरहीन काम गरेको भन्दै स्थानीयले नाली र पर्खा भत्काइदिएका छन् ।

माङसेबुङ गाउँपालिका २ का वडाध्यक्ष पुष्पराज कार्कीले प्रगतिचोक र आसपासका क्षेत्रमा नाली निर्माणको क्रममा गुणस्तरहीन ढुंगा, गिटी, बालुवा प्रयोग गरिएको, निर्माण गरिसकेर वाललाई पानीले भिजाएर क्युरिङ नगरिएको पाइएको बताए ।

प्राविधिक रुपमा गुणस्तरीय ढुंगा, गिटी, बालुवाको प्रयोग गर्नुपर्ने र तिनीहरुको मात्रा समेत मिलाउनुपर्नेमा त्यसो नगरिएको स्थानीय उमाकान्त कार्कीले बताए । ‘नाली निर्माण गरेर निर्माण कम्पनीले क्युरिङ नगरी छाडेपछि मेरो घर छैउमा मैलै आफैं क्युरिङ गरेँ । तर क्युरिङ गर्ने क्रममा नै नालीको वाल र नाली भत्कन थालेपछि वडा अध्यक्ष कार्कीलाई देखाएँ’ कार्कीले नयाँ बुलन्दसँग भने, ‘त्यसपछि वडाअध्यक्षको नेतृत्वमा अनुगमन गरियो । काम गुणस्तरहीन पाइएपछि केही ठाउँमा विरोधस्वरुप नाली समेत भत्काइयो ।’

गाउँपालिकाले अनुगमन संयन्त्रलाई मजबुद बनाएर निगरानी गर्नुपर्ने कार्कीको माग छ । ठेकेदारलाई सडक गुणस्तरीय बनाउन भनिए पनि वेवास्ता गरेको उनको भनाइ छ । ‘आफ्नो गाउँमा गुणस्तरको काम होस् भन्ने हाम्रो चाहना हो । तर सुनुवाई भइरहेको छैन । गाउँपालिकाले विशेष पहलकदमी लिनुपर्छ’ कार्कीले भने ।

यता माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले यसबारेमा आफूले आयोजना प्रमुख र निर्माण कम्पनीलाई पटकपटक ध्यानाकर्षण गराएको बताए । ‘सडकको काम एकदमै गुणस्तरहीन भएको जनगुनासो आएपछि मैले आयोजना प्रमुख शम्भु कार्की र निर्माण कम्पनीका प्रतिनिधिसँग छलफलल गरेरै ध्यानाकर्षण गराएको छु’ अध्यक्ष इदिङ्गोले भने, ‘उहाँहरुले क्वान्टिटी र क्वालिटीमा कुनै पनि कम हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ ।’

आफ्नो गाउँमा गुणस्तरको काम होस् भन्ने चाहना रहेकाले पटकपटक ध्यानाकर्षण गराएको बताए । ‘ध्यानाकर्षणपछि निर्माण कम्पनीले गाउँपालिकाको समन्वयमा वाल तथा नालीमा पानी हालेर क्युरिङ गर्न सुरु गरेका छन् । गुणस्तरीय काम गराउन गाउँपालिकाले निरन्तर पहलकदमी गरिरहनेछ’  अध्यक्ष इदिङ्गोले नयाँ बुलन्दसँग भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को ग्रामीण सडक सञ्जाल सुधार आयोजना मार्फत ३१ करोड रुपैयाँको लगानीमा माङसेबुङ २ तिखे गोलाईदेखि माङसेबुङ ३ चतुरेसम्मको सडक कालोपत्रे भइरहेको छ । सो सडक चतुरेस्थित दमक-चिसापानी-रवि (फाल्गुनन्द मार्ग) सँग जोडिनेछ । जिल्लामै पहिलोपटक ग्रामीण भेगमा कालोपत्र सुरु भएपछि उत्साहित भएका उक्त क्षेत्रका बासिन्दाहरु गुणस्तरहीन भएको पाइएपछि निराश बनेका छन् ।

निर्माण कम्पनीले पाँच वर्षको अवधिमा उक्त सडकको कालोपत्रे गर्ने कामको चरणगत रुपमा कार्य सम्पन्न गर्नुपर्ने शर्त रहेको छ । पाँच वर्षमध्ये दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । निर्माणका बखत भएका कमी कमजोरी सच्याएर सुधार गर्नका लागि अर्को एक वर्ष दिइएको छ भने बाँकी दुई वर्ष कार्य सम्पादनका आधारमा मर्मतसम्भार गर्नुपर्ने समय कम्पनीलाई दिइएको छ ।

आयोजनाको लागि नेपाल सरकारको २० प्रतिशत र एशियाली विकास बैङ्कको ऋण ८० प्रतिशत खर्च हुने भएको छ । गत मङ्सिर २५ गते आयोजना कार्यान्वयनका लागि कम्पनी र डोलीडारबचि सम्झौता भएको थियो ।

जम्मा तीन दशमलव ७५ मिटर चौडाइको कालोपत्रे र नाली बाहेक ५ दशमलव २५ मिटर सबवेससहित नाली निर्माण हुनेछ । सो सडक कालोपत्रे भएपछि माङसेबुङ  क्षेत्रको विकासमा महत्वपूर्ण फड्को मार्ने अपेक्षा सर्वसाधारणको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार