
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले कोरोना भाईरस (कोभिड १९) को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित असंगठित श्रमिक र असहाय घरपरिवारलाई राहत उपलब्ध गराउने तयारी गरेको छ ।
‘असंगठित श्रेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराईने राहत सम्बन्धी मापदण्ड २०७६’ बमोजिम खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने तयारी गरेको हो ।
गाउँपालिकाले विभिन्न ८ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउनेछ । एक श्रमिक वा असहायले चालम २५ किलोग्राम, दाल ३ किलोग्राम, नुन २ पाकेट, खाने तेल २ लिटर, नुहाउने साबुन २ प्याकेट, लुगा धुने साबुन २ प्याकेट र सोयाविन (न्युटेला) १ किलोग्राम पाउनेछन् । दुई जनासम्मको परिवार भएको श्रमिकले उल्लेखित राहत सामाग्रीको आधा र सो भन्दा बढी परिवारसंख्या भएकाले पुरै राहत सामाग्री पाउनेछन् ।
गत मंगलबारदेखि नै राहत वितरण सुरु गरिने बताएपनि सबै राहत सामग्री गाउँपालिकामा आइनपुगेकाले हालसम्म वितरण हुन सकेको छैन । गाउँपालिकाले राहत वितरणको लगभग तयारी पूरा भएको तर केही सामग्री आइनपुगेकाले वितरण हुन नसकेको जनाएको छ ।
गाउँपालिकाले ६ वटै वडाका १ हजार १ सय ९४ जना असंगठित श्रमिक र असहायलाई राहत वितरण गर्ने तयारी गरेको छ । जसको सूचि सबै वडाबाट गाउँपालिका आइसकेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए । सम्बन्धित वडा अध्यक्षको नेतृत्वमा जनप्रतिनिधि, राजनीतिक दल तथा समाजसेवी बुद्धिजिवीहरुसँगको समन्यमा असंगठित श्रमिक र असहायको सूचि संकलन गरी गाउँपालिकामा सिफारिस गरी पठाएका छन् ।
वडाबाट सिफारिस भई आएका सूचि अनुसार सम्बन्धित वडाका टोलटोलमा नै जनप्रतिनिधिहरुमार्फत राहत वितरण गर्ने तयारी गाउँपालिकाले गरेको छ ।
कूल राहतको ४० प्रतिशत वडा नम्बर ५ मा !
यता गाउँपालिकाले टोलटोलमा राहत वितरण गर्ने तयारी भइरहँदा राहत वितरण गरिने सूचिको विषयमा विवाद सुरु भएको छ । कूल राहत प्याकेजको करिब ४० प्रतिशत वडा नम्बर ५ मा वितरण गरिने गरीको तथ्याङ्क प्राप्त भएपछि गाउँपालिका विशेष चासो व्यक्त गरेको छ । अन्य वडाहरु समेत असन्तुष्ट बनेका छन् ।
राहत वितरण गरिने कूल १ हजार १ सय ९४ परिवार संख्यामध्ये सबैभन्दा बढी वडा नम्बर ५ को देखिएको छ । सो वडाको ६ सय १३ घरपरिवारमध्ये ४ सय ७५ घरपरिवारले राहत पाउने भएका छन् । यो वडाको संख्याको ७७ दशमलव ४९ प्रतिशत हो । राहतलाई विश्लेषण गर्ने हो भने कूल राहतको ३९ दशमलव ७८ प्रतिशत हुन आउँछ । अन्य वडा नम्बर १, २, ३, ४ र ६ मा कूल राहतको ६० दशमलव २२ प्रतिशत मात्र राहत पर्न जान्छ । यसरी करिब ४० प्रतिशत राहत एउटै वडामा जाने भएपछि गाउँपालिका संशकित बनेको छ । यस विषयमा गाउँपालिकाले विशेष चासो राखेको छ ।
वडा नम्बर ५ ले गरेको असंगठित श्रमिक र असहायको पहिचानको विषयमा गाउँपालिकामा समेत कुरा आएकाले सबै नामावली माग गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले बताए । ‘यस विषयमा हामीकहाँ पनि जानकारी आएपछि वडा अध्यक्षसँग छलफल भएको छ । तथ्याङ्क हेदा मापदण्डसँग अलि मिलेनकी भन्ने कुरा भएको छ । हामीले सबै सूची माग गरेको छौं’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नयाँ बुलन्दसँग भने, ‘सूची आएपछि एकपटक हेर्छाैं । त्यसपछि छलफल गरेर टुङ्गो लगाउँछौं ।’
श्रमित र असहायको तथ्याङकलाई लिएर अन्य वडाले समेत असन्तुष्टी व्यक्त गरेका छन् । वडा नम्बर ३ का अध्यक्ष मैतराज राईले तुलनात्मक रुपमा सानो र कम जनसंख्या भएको वडा नम्बर ५ बाट त्यत्रो संख्या आउनु अस्वभाविक भएको प्रतिक्रिया दिए । ‘अन्य वडाभन्दा अलिकति बढी मात्र आउन स्वभाविक थियो । तर ४० प्रतिशत त्यही वडाको आउनु अलि अस्वभाविक हो’ वडाअध्यक्ष राईले भने, ‘हामीले आफ्नो वडालाई मात्र हेर्नु हँदैन, समग्र गाउँपालिकालाई हेर्नुपर्छ । त्यहाँ केही कमजारी भएको होला, त्यसलाई सच्याउनुपर्छ ।’
मनग्य आम्दानी भएका मध्यम वर्गीय परिवार, व्यापारी व्यावसायी, वैदेशिक रोजगारीमा रहेको तथा स्वदेशमा नै रोजगारी भएकाहरुलाई समेत विपन्नको सुचिमा राखेर राहत वितरण गर्ने तयारी गरिरहेको भन्दै सोही वडाबाट विरोधको आवाज उठ्न थालेको छ ।
मापदण्डअनुसार नै सूचि तयार गरिएको छ : वडा अध्यक्ष राई

यता वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्रकमार राईले आफ्नो वडाबाट मापदण्ड अनुसार नै असंगठित श्रमिक र असयहाहरुको पहिचान गरेर सूचि तयार पारेको दावी गरेका छन् । ‘हामीले सबै राजनीतिक पार्टी, बुद्धिजीवि, समाजसेवीहरुसँग समन्वय र छलफल गरेर नै असंगठित श्रमिक र असयहाहरुको पहिचान गरेका छौं । प्रत्येक टोलका प्रतिनिधिहरुको संलग्नतामा सूचि बनाएका छौं’ वडाअध्यक्ष राईले नयाँ बुलन्दसँग भने, ‘यस क्षेत्रमा बाहिरबाट आएर बसेका, घरबारविहीन एवम् विपन्न वर्गका मानिसहरुको बसोबास धेरै भएकाले अलि बढी संख्या आएको हुनसक्छ । तर मापदण्डभन्दा तलमाथि भएको छैन । हामीले बनाएको मापदण्ड अनुसार नै सूचि तयार गरेका छौं ।’ उनले विपन्नहरु नै असंगठित मजदुर रहेकाले संख्या अलि बढी भएको दावी गरे ।
राहत पाउनेको सूचि कोरोना भाईरस (कोभिड १९) अनुगमन तथा सरोकार समितिबाट समेत अनुमोदन भइसकेको अध्यक्ष राईले बताए । असंगठित श्रमिक र असहायहरुको पहिचान गरी सूचि निर्माण वडा अध्यक्षको नतृत्वमा गठन भएको अनुगमन तथा सरोकार समितिले गरेको थियो । सो समितिमा विभिन्न राजनीतिक दल, समाजसेवी, बुद्धिजिवी तथा सरोकारवालाहरु गरी २५ जना सदस्यहरु रहेका छन् ।
सच्याउन निर्देशन दिएका छौ : अध्यक्ष इदिङगो

गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगोले वडा नम्बर ५ बाट ‘असंगठित श्रेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराईने राहत सम्बन्धी मापदण्ड २०७६’ को सीमा नाघेर तथ्याङका आएको बुझिएकाले सच्याउन वडालाई निर्देशन दिएको बताए ।
‘मापदण्ड अनुसार तथ्याङ्क नआएको भन्ने जनगुनासो आएकाले आज साँझसम्म सच्याएर पठाउन वडालाई भनिएको छ । साँझसम्म पठाउनुभयो भने भोलिदेखि राहत वितरण सुरु हुन्छ’ अध्यक्ष इदिङगोले नयाँ बुलन्दसँग भने, ‘पठाउनुभएन भने त्यहाँ तत्काल राहत वितरण हुँदैन । विवादरहित अन्य सबै वडामा राहत वितरण सकेर कार्यपालिका र स्थानीय राजनीतिक दलसहितको सर्वपक्षीय बैठक बसेर टुङ्गयाउँछौं ।’
के मापदण्डमा ?
गत २१ चैतको गाउँकार्यपालिकाको बैठकले ‘असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धि मापदण्ड, २०७६’ स्वीकृत गरेको थियो । सामे मापदण्डको दफा २ (क) मा ‘असंङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग भन्नाले दैनिक रुपमा कामकाज गरी पटके वा दैनिक ज्याला आम्दानी गर्ने दफा ४ बमोजिमका श्रमिक, कामदार तथा मजदुर सम्झनु पर्छ’ र (ख) मा ‘असहाय भन्नाले कसैको लालन पालनमा नरही अशक्त तथा आवाश विहिन भई मन्दिर, आश्रय, धर्मशाला, गुम्बा, मस्जित, गुरुद्धार, चर्च वा बृद्धाश्रममा बस्ने व्यक्ति सम्झनु पर्छ’ उल्ल्ेख गरिएको छ ।
त्यस्तै सोही मापदण्डको दफा ८ (१) मा ‘यस कार्यविधिमा तोकिएको मापदण्ड पुरा नभएका व्यक्तिले झुट्टा विवरण पेश गरी राहत लिनु वा दोहोरो राहत लिनु हुँदैन’ (२) मा ‘यस कार्यविधिको प्रतिकुल हुने गरी राहत वितरणको लागि सिफारिस गर्ने पदाधिकारीलाई समेत प्रतलित कानून बमोजिम कारवाही गरी त्यस्तो सिफारिस गर्ने पदाधिकारीबाट निजले सिफारिस गरेको हदसम्मको रकम सम्बन्धित स्थानीय तहले निजबाट असुल गर्नु पर्नेछ’ उल्लेख छ ।
यस्तो छ, राहत दिन पहिचान गरिएकाहरुको वडागत विवरण
माङसेबुङ गाउँपालिकाबाट वडा नम्बर १ का ६ सय ९१ मध्ये १ सय ३६ परिवार (१९.८६ प्रतिशत) ले राहत पाउनेछन् । वडा नम्बर २ का ७ सय २७ मध्ये १ सय २० परिवार (१३ दहमलव ७६ प्रतिशत), वडा नम्बर ३ का ८ सय २४ मध्ये १ सय ५४ परिवार (१८ दशमलव ६९ प्रतिशत), वडा नम्बर ४ का ४ सय १६ मध्ये २ सय परिवार (४८ दशमलव ८ प्रतिशत) र वडा नम्बर ६ का ५ सय १ मध्ये १ सय ९ परिवार (२० दशमलव ९६ प्रतिशत) ले राहत पाउनेछन् ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिनका लागि सरकारेले गत चैत ११ गते देखि देशभर लकडाउन घोषणा गरेको छ । पहिलो चरण चैत्र ११ गते देखि १९ गते सम्म, दोस्रो चरण चैत्र २५ गते सम्म र अहिले तेस्रो चरण बैशाख ३ गतेसम्म लकडाउनको समय थप गरिएको छ ।















































