बेलायतमा मेयर निर्वाचितको कोरोनाले मृत्यु, गोरखामा मौनधारण

बिहीबार मौनधारण गर्दै गोरखा नगरपालिकाका पदाधिकारीहरू। इन्सेटमा कोरोनाले ज्यान गुमाएका रश्मुर बरो काउन्सिलका मेयर निर्वाचित फ्रान्क।

काठमाडौं : कोरोना भाइरस संक्रमण झेलिरहेका बेलायतको रश्मुर बरो काउन्सिलका मेयर निर्वाचित फ्रान्क रस्टको गत सोमबार ज्यान गयो ।

कोरोना संक्रमित रस्टको फ्रिम्ले पार्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

८१ वर्षका रस्ट र उनकी श्रीमती कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका थिए। श्रीमती बाँचिन्, रस्टले कोरोना जित्न सकेनन्, संसार छाडे ।

सन् २०२०/०२१ का लागि रश्मुरको मेयर निर्वाचित भए पनि कार्यभार सम्हाल नपाएका रस्ट यसअघि सन् २००३ देखि ०४ सम्म एक वर्ष रश्मुरकै मेयर  बनेका थिए ।

रस्टको मृत्युको खबर बेलायतदेखि टाढा नेपालको गोरखा नगरपालिकालाई पनि दु:खी बनाएको छ।

रस्ट डेपुटी मेयर रहेका बेला गत माघमा गोरखा नगरपालिका र रश्मुर बरो काउन्सिलबीच भगिनी सम्बन्ध स्थापित भएको थियो । ‘भगिनी सम्बन्ध स्थापित गर्ने बेला दुई दिनसम्म हामीले रस्टसँगै बिताएका थियौं। उनी नेपाली समुदाय र नेपाललाई माया गर्ने व्यक्तिको रूपमा मैले पाएको थिएँ,’ गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भने, ‘भगिनी सम्बन्ध स्थापित गर्न अहोरात्र खटेका रस्टको निधनमा हामीले बिहीबार नगरकार्यपालिका बैठकमा एक मिनेट मौनधारण गर्‍यौं। शोक प्रस्ताव पनि पारित गरिएको छ।’

बेलायतमा बस्ने नेपालीहरूले रस्टको मृत्युबारे आफूलाई जानकारी गराएको मेयर पन्तले बताए।

‘रस्ट मेयरको रूपमा कार्यभार सम्हालेपछि नेपाल, गोरखा आउन चाहन्थे,’ पन्तले सेतोपाटीसँग भने, ‘उनको इच्छा अधुरो रह्यो।’

-सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार