मरब क्याम्पस इलाम : कुन कित्ता रोज्‍ने ?

  अरुण नेपाल
7 Shares

अरुण नेपाल

महेन्द्ररत्न बहुमुखी (मरब) क्याम्पस, इलाममा लामो समयदेखि जारी बिवाद फेरि बल्झिएको छ । क्याम्पसका सरोकारवालापक्ष यो वा त्यो कित्तामा चाहेर वा नचाहेर विभाजित हुन पुगेका छन् । क्याम्पसमा लामोसमयदेखि मडारिइरहेकोे कालो बादल अझै फाट्न सकेको छैन । क्याम्पसमा महिनौंदेखि यो वा त्यो निहुँ र बहानामा सिर्जना भएको विवादका कारण नियमित पठनपाठन लगायत क्याम्पसका प्राज्ञिक कृयाकलापहरु नराम्ररी प्रभावित हुन पुगेका छन् । शुरुमा जग्गा, जागिर र सेवासुविधाका विवादले चरम रुप लिएपछि मरबमा देखिएको बहस सतहमा आयो । त्यसपछि क्याम्पस प्रमुखलाई केहि जिम्मेवार व्यक्तिहरुले क्याम्पस प्रमुखकै कोठामा दिएको धम्की प्रकरण, क्याम्पस प्रमुखलाई नेकपाबाट निलम्बन, क्याम्पसको क्यान्टिन निर्माणमा देखिएको नक्शापास सम्बन्धि इलाम नगरपालिकासँगको विवाद, क्याम्पसमा खड्किएको खानेपानीको अभाव, क्याम्पसमा निर्माण गर्न खोजिएको भवनस्थलमा रहेका बोटबिरुवा तथा नापजाँच सम्बन्धि विवाद, विद्यार्थी तथा कर्मचारी संगठनका माग, वाग्वानी विषयका विद्यार्थीको शुल्क निर्धारण र लोकसेवा आयोगको जाँच दिन पाउने कुराको ग्यारेन्टी, आदि जस्ता विवादका अनेक श्रृखंला त लामै समयदेखि चलि नै रहेका थिए । यहि श्रृखंलाको क्रममा क्याम्पस प्रमुखको काठमाण्डौको लामो बसाइ विवादको पछिल्लो कडी बनेको छ ।

सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन र प्रतिपक्षी दल नेपाली काँग्रेस निकट प्राध्यापक संघले क्याम्पस प्रमुख लामो समयदेखि काठमाण्डौमै रहँदै आएको कुराप्रति असन्तुष्टी जनाउँदै विज्ञप्ति नै प्रकाशित गरेको र उक्त कुरा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यत्रतत्र छाएपछि पछिल्लो विवादले बजार तातेको हो । विद्यार्थी संगठनले त विज्ञप्तिमार्फत क्याम्पस प्रमुखको राजीनामा समेत माग गरेकाले पनि क्याम्पसको माहोल थप ताते जस्तो भएको छ । त्यतिमात्र होइन, अगुल्टाले हानेको कुकुर बिजुली चम्कदा तर्सन्छ भने झै विगतका दिनमा समेत क्याम्पसमा यसरी नै विवाद चर्कदै जाँदा क्याम्पसप्रमुखलाई कालो मोसो दल्ने जस्तो घोर अप्राज्ञिक कार्य समेत भएकोमा पुनः कतै त्यस्तै अप्राज्ञिक हर्कतकै पुनराबृत्ति त हुने होइन भनेर पनि सरोकारवालापक्ष निकै चिन्तित हुन थालेको अनुभुति यदाकदा हुन थालेको छ । त्यसमा पनि क्याम्पस प्रमुखले निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिएका सहायक क्याम्पस प्रमुखले समेत अर्का सहायक क्याम्पस प्रमुखलाई निमित्त दिएको र अर्का सहायक क्याम्पस प्रमुखले निमित्त क्याम्पस प्रमुखले दिएको निमित्त अस्वीकार गरेको भन्ने कुरा पनि सञ्चारमाध्यममा छाएपछि विवाद थप उत्कर्षमा पुगेको अुनुभुति हुन्छ । हाल क्याम्पस एक प्रकारले नेतृत्वविहिन जस्तै देखिएको छ । यसरी एकजना सहायक क्याम्पस प्रमुखलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिएर मुलतः वाग्वानी विषयका विद्यार्थीले उठान गरेको समस्या समाधान गर्न भन्दै क्याम्पस प्रमुख काठमाण्डौ गएको कुरा चर्चामा छ । उक्त समस्या समाधान गर्न नेपाल सरकार, लोकसेवा आयोग र विश्वविद्यालयवीच समन्वय गर्नुपरेकाले क्याम्पस प्रमुखको काठमाण्डौ बसाइ लम्बिएको हो भन्ने कुरा क्याम्पस प्रमुखका पक्षधरको दावी छ भने क्याम्पस प्रमुखको विपक्षमा उभिएको कित्ताले उक्त दावी क्याम्पसमा उत्पन्न समस्याबाट भाग्ने एउटा बहानाबाजी मात्र हो भनिरहेको छ । यसरी मरब क्याम्पस, इलामका सरोकारवालापक्ष चाहेर वा नचाहेर जब्बरजस्त रुपमा यो वा त्यो कित्तामा उभिन बाध्य भएको भान भइरहेको छ । तिमी क्याम्पस प्रमुखको पक्ष कि विपक्षी कित्ताको भनेर चासो राख्ने क्रम बढ्दै गएको छ ।

परम्पराको निरन्तरता

शुरुमा यो वा त्यो मुद्दा उठाउने अनि अन्त्यमा क्याम्पस प्रमुखको राजीनामा माग्ने शैली मरब क्याम्पस, इलाममा दशकौंदेखि कायम एउटा गलत परम्परा नै भएको छ । राजीनामा नदिएमा कालोमोसो दल्ने जस्तो अप्राज्ञिक हर्कत गरेरै भएपनि क्याम्पस प्रमुखलाई राजीनामा दिन बाध्य बनाउने घोर आपत्तिजनक दुव्र्यवहार पनि विगतमा देखिएकै हो । यस्ता गलत कार्यमा पर्दा अगाडि भन्दा पछाडिका पात्र र प्रवृत्ति बढि सक्रिय र जिम्मेवार भएको दावी गरिन्छ । तर त्यस्ता पात्र र प्रवृत्तिले सम्भव भएसम्म दसी प्रमाण नष्ट गरेर मात्र ती हर्कत गर्ने भएकाले पनि तिनलाई आवश्यक प्रमाणकै अभावमा कानुनी कार्वाही गर्न कठीन भएको कुरा पनि विगतमा सुनिएकै हो । यसरी चर्काे दवाव दिएर एकजना क्याम्पस प्रमुखलाई राजीनामा दिलाएपछि त्यो राजीनामाको औचित्य पुष्टी नै नभई नयाँ क्याम्पस प्रमुखको नियुक्ति भएको केहि समय व्यतित हुनासाथ पुनः उहि परम्पराको पुनराबृत्ति हुने गरेको छ । त्यतिमात्र होइन, कतिपय अवस्थामा त एउटा मुद्दा उछालेर आन्दोलन गर्ने अनि आन्दोलनकै सहयात्रीलाई चरम धोका दिदै सानो ठूलो पदीय लाभ प्राप्त गरी आन्दोलनमा उठाएका मुद्दाकै धोती लगाउने प्रवृत्ति पनि मरबमा निकै मौलाउँदै गएको छ । त्यस्ता पात्र र प्रवृत्तिले अख्तियारको चरम दुरुपयोग गर्दै क्याम्पसका महत्वपूर्ण प्राज्ञिक कार्यलाई नै दाउमा राखेरै भएपनि आन्दोलनका सहयात्रीलाई नै अनेक दुःख र पीडा दिने जस्ता घोर अन्यायपूर्ण व्यवहार पनि मरब क्याम्पस, इलामका लागि सामान्य जस्तै बन्न थालेका छन् । यसरी अत्यन्तै अन्यायपूर्ण ढंगले अनेक खुरापाती र षडयन्त्र गरी पद प्राप्त गर्ने परम्पराले मरब क्याम्पस, इलाममा धेरै नै बलियो जरा गाडेको छ ।

मुलतः पदीय लाभका लागि हुने गरेका यस्ता क्याम्पसमारा प्रवृत्तिको मुल जरा नै छिनालेर क्याम्पसको प्राज्ञिक वातावरण स्वस्थ राख्ने भरपर्दाे कदम नचाल्ने हो भने त्यहि खराव प्रवृत्तिले क्याम्पसको शाख घट्ने मात्र नभएर क्याम्पसको अस्तित्व नै धरापमा पर्ने खत्तरा दिनप्रतिदिन बढ्दैछ । त्यसकारण अब क्याम्पसको भाग्य र भविष्य साँच्चै चम्काउन चाहने सम्पूर्ण सरोकारवालापक्षले कुनै पनि पदीय वा आर्थिक लाभलाई केन्द्रमा राखेर वा प्राज्ञिक कार्यलाई ओझेलमा पार्दै क्याम्पस प्रमुखको राजीनामा र नियुक्तिको पट्यारलाग्दो श्रृंखला चलाउने गलत परम्पराको अन्त्य गर्नैपर्ने भएको छ । यस्तो गलत परम्पराको अन्त्य गरी विश्वविद्यालयको विद्यमान ऐन नियमका आधारमा जोसुकै व्यक्ति क्याम्पस प्रमुख भएपनि क्याम्पस निश्चित प्राज्ञिक मुल्य, मान्यता, विधि, प्रकृया र प्रणाली बमोजिम चल्छ भन्ने मान्यतालाई व्यवहारमा कार्यान्वयन गर्न खरो उत्रनैपर्ने भएको छ । यसरी विधि, प्रकृया र प्रणालीको कार्यान्वयनमा खरो उत्रनु नै क्याम्पसमा पटक पटक आउने समस्या समाधानको दीगो र दीर्घकालीन उपाय हो भन्दा पक्कै पनि अतिशयोक्ति नहोला । त्यहि मुल्य, मान्यता, विधि, प्रकृया र प्रणालीको शासन नै लोकतन्त्रको प्राण हो भन्ने विचारले लैस नेकपा र नेका निकट प्राध्यापक, कर्मचारी र विद्यार्थीहरु हावी मरब क्याम्पस, इलाममा उक्त मान्यता व्यवहारमा लागु हुनुको सट्टा त्यसको ठीक विपरित कृयाकलाप हुनु निकै नै दुर्भाग्यपूर्ण कुरा हो । क्याम्पसमा उब्जिएको समस्याको दीगो समाधान खोज्ने हो भने सत्तारुढ पाटी निकट प्राध्यापक, कर्मचारी र विद्यार्थी मात्रै भएपनि उक्त लोकतान्त्रिक मान्यतालाई व्यवहारमा उतार्न मन, वचन र कर्मले जुटिदिए पुग्छ । बरु यसको जसजति सबै उनीहरुले नै लिए पनि अरुलाई खासै आपत्ति हुने देखिदैन । यति हो क्याम्पसमा एउटा स्वच्छ र स्वस्थ प्राज्ञिक वातावरण स्थापित हुनुप¥यो । क्याम्पसको शाख यसरी दिनप्रतिदिन ओरालो लाग्नु भएन । क्याम्पस स्थापित प्राज्ञिक मुल्य, मान्यता, विधि, प्रकृया र प्रणाली बमोजिम चलेको कुरा क्याम्पसका सबै सरोकारवालापक्षलाई अनुभुति होस् । मरब क्याम्पस, इलाम नेकपाका यो वा त्यो गुटले क्याम्पस प्रमुखको पदका लागि अनेक खेल प्रदर्शन गर्ने क्रीडास्थल हो भन्ने कुराबाट त्यो खेलमा सामेल हुन नचाहने जोकोहीलाई सदाका लागि मुक्ति मिलोस् । यदि त्यसो गर्ने हो भने सम्पूर्ण सरोकारवालापक्ष क्याम्पसको भाग्य र भविष्य चम्काउने कुनै पनि शैक्षिक संस्थाको मौलिक कित्तामा उभिने ढोका तै खुलिहाल्थ्यो कि ?

कुराको चुरो

यो वा त्यो मुद्दा उछालेर क्याम्पस प्रमुखलाई राजीनामा दिन बाध्य बनाएपछि आन्दोलनको अन्त्य गर्ने र पुनः केहि समयपछि त्यहि पूरानै अन्त्यहिन श्रृंखलाको पुनराबृत्ति गर्ने गलत परम्पराको अन्त्य नै प्राज्ञिक मुल्य, मान्यता, विधि, प्रकृया, प्रणाली र थिति बसाल्ने कुराको बलियो जग हो । हुन त राष्ट्रिय राजनीतिमा हावी यहि आलोपालो प्रणालीकै असर तिनै राजनीतिक दल निकट प्राध्यापकमा पर्नु स्वाभाविकै जस्तो पनि लाग्छ । तापनि जतिसुकै कालो बादल मडारिए पनि त्यहाँ चाँदीको घेरा हुन्छ भनेर विश्वास गरिए झैं यहि प्रतिकुल अवस्थाबाट पनि मरब क्याम्पसले एउटा नयाँ जीवन पाउन सक्ने सम्भावनालाई पनि पूरै नकारिहाल्न चाहिँ सकिदैन । राजनीतिक दल र प्राज्ञिक क्षेत्रको प्राथमिकता विल्कुल फरक हुन्छ भन्ने मान्यतालाई मात्र सम्मान गर्ने हो भने एउटा प्राज्ञिक थलोमा प्राज्ञिक मुल्य, मान्यता, विधि, प्रकृया, प्रणाली र थिति यसरी बसाल्न सकिन्छ भनेर नमुना प्रस्तुत गर्ने एउटा सुनौलो अवसर पनि मरबका प्राध्यापकका काँधमा आएको कुरा यदाकदा महशुस हुन्छ । यहि सम्भावनालाई त्यस्तो चाँदीको घेराको रुपमा लिन पनि सकिन्छ । संसारका विकसित मुलुकका इतिहासलाई सर्सर्ती हेर्ने हो भने वास्तवमा ती मुलुकको विकासमा योगदान पु¥याउने आवश्यक ज्ञान र सीपले दक्ष जनशक्तिको उत्पादन ती मुलुकका विश्वविद्यालयहरुले नै गरिरहेका छन् । त्यसकारण सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा घन्काउँदै सत्ता सञ्चालन गरिरहेको नेकपा निकट मरबका प्राध्यापकहरु केवल पदीय र आर्थिक लाभका लागि यो वा त्यो गुटमा विभाजित हुन छाडेर सम्बृद्ध मुलुक निर्माण गर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्राज्ञिक वातावरण निर्माण गर्न लागिदिए कस्तो चाहिँ हुन्थ्यो होला ?

नेपालमा पहिलो पटक सुविधाजनक बहुमत पाएर मुलुक हाँकिरहेको नेकपाले सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा पूरा गर्न योग्य र दक्ष नागरिक उत्पादन गर्ने शैक्षिक क्षेत्रमा व्याप्त विकृति र विसंगति हटाउन पनि विशेष पहल गर्ला भनेर पनि कति बौद्धिक समुदायले उक्त पाटीलाई साथ दिएका थिए । कम्तिमा नेकपाले मुलुकको प्राण मानिने शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ला, गुणस्तरीय शिक्षा एवं गहन अध्ययन अनुसन्धानका लागि स्वच्छ र स्वस्थ प्राज्ञिक वातावरण निर्माण गर्ला, त्यसका लागि दुई तिहाइ भन्दा बढि नेकपाका प्राध्यापक हावी मरब क्याम्पसलाई एउटा नमूना क्याम्पसको रुपमा विकास गर्ला, त्यसरी मरबलाई नमूना क्याम्पस बनाउन नेपालको प्रधानमन्त्री नै बनिसकेका बौद्धिक र पाका नेता झलानाथ खनालले प्रभावकारी भुमिका निर्वाह गर्लान्, त्यस्तै दुवै संविधानसभाको अध्यक्ष भएर चारतिर फर्किएका दललाई एक ठाउँमा ल्याई नेपालको पछिल्लो संविधान जारी गर्न सफल व्यक्तित्व सुवासचन्द्र नेम्वाङ्गले यो वा त्यो गुटमा विभाजित आफ्नै दलका प्राध्यापकलाई त सहजै एकजुट बनाएर आफैंले राजनीतिक यात्रा शुरु गरेको ऐतिहासिक क्याम्पसको शाख र प्रतिष्ठा उकास्न कुनै कसर बाँकी नराख्लान्, त्यत्रो देशै सञ्चालन गर्ने विधि र प्रकृया निर्माणको मुल स्रोत संविधान निर्माणका हरेक गतिविधिलाई नजिकबाट नियालेका व्यक्तित्व नेम्वाङ्गले जावो आफ्ना क्याम्पसका आफ्नै दलका प्राध्यापकलाई विधि र प्रकृया बमोजिम चल्न प्रोत्साहन नै गर्छन् होला, जनयुद्धताका इलामको नेतृत्व तहमा रहेका नेकपाका अर्का केन्द्रिय युवा नेता धिरेन्द्र शर्मा (रमण) ले पनि जनयुद्धका समयमै भनेजस्तो सरकारी शिक्षण संस्थाको शैक्षिक गुणस्तर उकास्ने आफ्नो पूर्व अडानलाई निरन्तरता देलान्, आफ्ना राष्ट्रिय स्तरका त्यस्ता होनाहार नेताको इज्जत र प्रतिष्ठाकै लागि भएपनि नेकपाको जिल्ला नेतृत्व अलिक फराकिलो छाती बनाएर प्राज्ञिक मुल्य मान्यता स्थापित गर्न गम्भीरतापूर्वक जुट्ला भन्ने इलामेली जनताको ठूलो आशा र अपेक्षा थियो ।

तर दुर्भाग्य नै भन्नु पर्छ, नेकपाकै जिल्ला नेता समेत रहेका मरब क्याम्पसस्थित इलाम नगरपालिकाकै मेयरले मरब क्याम्पस, इलामका क्याम्पस प्रमुखले मरब क्याम्पस, इलामको प्राज्ञिक शाख कायम गरेका छन् वा छैनन् भन्ने मुद्दाका आधारमा नभई नेकपाको निर्देशन नमानेकैले उनलाई पाटीले कार्वाही गरेको कुरा गौरवका साथ सार्वजनिक सञ्चारमाध्यमबाटै बताए । तत्कालिन एमोलेको कोटामा परेको क्याम्पसको क्याम्पस प्रमुखले नेकपाको निर्देशनमा क्याम्पस नचलाएपछि उनलाई कार्वाही गर्नु स्वाभाविक प्रकृया भएको कुरा महत्वका साथ उठाए । क्याम्पसको क्यान्टिन निर्माणमा क्याम्पसप्रमुखले नक्सा पास नगरेको कुरामा आपत्ति जनाए । क्याम्पसमा देखिएको खानेपानीको समस्या समाधानमा अपेक्षित चासो देखाएनन् । विश्वविद्यालयका प्राज्ञिक मुल्य, मान्यता, विधि, प्रकृया र प्रणालीमार्फत भन्दा पनि नेकपा, इलामको एउटा गुटको प्रतिनिधित्व गर्ने इलाम नगरपालिकाका मेयरको इच्छा र चाहना बमोजिम मरब क्याम्पस, इलाम चल्नुपर्छ भने झैै गर्दै उनी सार्वजनिक सञ्चारमाध्यममा प्रस्तुत भए । यसरी मरब क्याम्पस, इलामको स्वास्थ्य विग्रने कुराको चुरो नेकपा, इलामकै यो वा त्यो गुटका निहित स्वार्थकेन्द्रित कृयाकलाप नै हुन् भन्ने कुरामा अब कम्तिमा इलामेली जनतामाझ कुनै भ्रम छ जस्तो लाग्दैन ।

निश्कर्ष

जतिसुकै लम्बेचौडे कुरा गरेपनि मरब क्याम्पस, इलामको प्राज्ञिक मुल्य मान्यताको धज्जी उडाएर क्याम्पसको हालत यति खराव बनाउने कुरामा नेकपा, इलामका यो वा त्यो गुटका गतिविधि नै निर्णायक रहेको देखिन्छ । अब मरब क्याम्पस, इलामलाई नेकपाका यो वा त्यो गुटको बन्धक बनाएर प्राज्ञिक मुल्य मान्यताको धज्जी उडाउने उही परम्परागत मान्यता नै क्याम्पसमा कायम राख्ने कि, त्यो गलत परम्पराबाट मुक्त भएर क्याम्पसलाई स्थापित प्राज्ञिक मुल्य, मान्यता, विधि, प्रकृया र प्रणाली बमोजिम सञ्चालन गर्ने ? भन्ने दुई कित्ता मध्ये एक कित्ता मरब क्याम्पसका सरोकारवालापक्षले चाहेर नचाहेर रोज्नैपर्ने वस्तुगत परिस्थितिको पैदा भएको छ । यी दुई प्रश्नको चित्तबुझ्दो जवाफ नपहिल्याउञ्जेल वर्तमान क्याम्पस प्रमुख त के भविष्यमा नियुक्ति हुने अरु धेरै क्याम्पस प्रमुखले यो वा त्यो वहानामा राजीनामा दिएपनि समस्याको दीगो र दीर्घकालिन समाधान हुने कतिपनि सम्भावना देखिदैन । कथमकदाचित वर्तमान क्याम्पस प्रमुखले राजीनामा दिइहालेमा नयाँ क्याम्पस प्रमुख नियुक्ति भएको केहि समय पश्चात पुनः उहि श्रृंखलाको पुनरावृत्ति हुने कुरा निश्चितप्रायः छ । जुन कुरा मरब क्याम्पस, इलामको इतिहासमा पटकपटक पुष्टी भएको सत्य हो । त्यस कुराको प्रमाण खोज्न चाहने जोकोहिले मरब क्याम्पस, इलामको ताजा इतिहास हेरे भइहाल्छ । त्यसकारण अब गलत प्रवृत्तिको परिवर्तन चाहने कित्ता कि उहि प्रवृत्तिको पुनराबृत्ति गर्न आतुर केवल पात्र परिवर्तनको कित्ता विषयक शीर्षकमा मरब क्याम्पस, इलामको भाग्य र भविष्य सम्बन्धि नवीन बहस छेड्नैपर्ने समय आएको छ ।

सबैको चासो गलत प्रवृत्तिमा परिवर्तन हो भने सम्पूर्ण सरोकारवालापक्षले मरब क्याम्पस, इलामलाई कसरी प्राज्ञिक मुल्य, मान्यता, विधि, प्रकृया र प्रणालीका आधारमा सञ्चालन गर्ने भन्ने विषयमा गम्भीर र अर्थपुर्ण छलफल एवं बहस थालौं । होइन, मरब क्याम्पस, इलाम भनेको नेकपाकै यो वा त्यो गुटको क्रीडास्थल नै हो र यस क्याम्पसमा अरु कसैको केही लाग्दैन भन्ने निश्कर्ष हो भने नेकपालाई क्याम्पस जिम्मा लगाएर चुपचाप बसौं । उनीहरुले जे भन्छन्, त्यसैमा आँखा चिम्लेर ल्याप्चे लगाऔं । बर्षाैंदेखि कायम यहि पट्यारलाग्दो गलत परम्परा र प्रवृत्तिको अर्काे श्रृंखलामा सामेल भएर अनावश्यक टाउको नदुखाऔं । मरब, क्याम्पसलाई साँच्चै एउटा प्राज्ञिक थलो बनाउने सपना सजाउनुभएका सबैको गम्भीर ध्यानाकर्षण होस् । ८

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार