२१८५ जनाले लिए सुरक्षित वैदेशिक रोजगार सम्बन्धी परामर्श सेवा

  राम योङहाङ  109 पटक हेरिएको


इलाम :  इलाममा स्थापना गरिएका सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्र मार्फत जिल्लाका २ हजार बढीले निःशुल्क परामर्श सेवा लिएका छन् ।

जिल्ला प्रशासन कार्यालयसहति विभिन्न ४ स्थानमा स्थापना गरिएको श्रोत केन्द्रमार्फत २ हजार १ सय ८५ जनाले वैदेशिक रोजगार सम्बन्धी परामर्श दिएको मानव अधिकार मञ्च नेपाल इलामले जनाएको छ । जसमध्ये १ हजार ३ सय १६ जना पुरुष र ८ सय ६९ जना महिला रहेका छन् ।

मञ्चले संचालन गरेको ‘सामाजिक रुपान्तरणका लागि युवाः सुरक्षित आप्रवासनको प्रवद्र्धन तथा मानव बेचविखन रोकथामका लागि युवा समूहहरुको परिचालन’ परियोजना अन्तरगत श्रोत केन्द्र स्थापना गरिएका हुन् । सो परियोजना गत १५ जनवरीदेखि जिल्लाको रोङ गाउँपालिका र माई नगरपालिकामा संचालित छ ।

परियोजना अन्तरगत जिल्ला प्रशाशन कार्यालय इलाम, मानव अधिकार मञ्च नेपाल इलाम, रोङ गाउँपालिका र माई नगरपालिकामा श्रोत केन्द्र स्थापना गरी वैदेशिक रोजगारीमा जाने युवाहरुलाई परामर्श दिदैं आएको छ ।

प्रत्येक श्रोत केन्द्रमा एक जना परामर्शदाता नियुक्त गरिएका छन् । ती परामर्शदाताले वैदेशिक रोजगारमा जान इच्छुक युवाहरुलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी परामर्श दिदैं आएका छन् । केन्द्रले युवालाई भरसक विदेश जानै नपर्नेगरी सम्झाइबुझाई गर्ने र रोजगारका सम्भावना देखाइदिने तथा जानैपरे कसरी जाँदा सुरक्षित हुन सकिन्छ भन्नेबारे परामर्श दिदैं आएको छ । परामर्शदाताले विदेश जानैपर्ने भए कामदारले सुरक्षित हुने तरिका, कम खर्चमा र पूरा गर्नुपर्ने कानुनी प्रक्रियाका बारेमा समेत जानकारी दिदैं आएका छन् ।

गत १५ जनवरीदेखि १० डिसेम्बरसम्मका तथ्याङ्क अनुसार सबैभन्दा बढी सूर्योदय नगरपालिकाका युवाले परामर्श लिएको पाईएको छ । सूर्योदय नगरपालिकाबाट ४ सय २५ जना युवाले निःशुल्क परामर्श लिएका छन् । दोश्रोमा इलाम नगरपालिकाका ३ सय ६५ युवाले परामर्श लिएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयको श्रोत केन्द्रमार्फत परामर्श लिएका हुन् ।

परियोजना संचालित रोङ गाउँपालिकाबाट १ सय ७१ जनाले परामर्श लिएका छन् । जसमध्ये १ सय ४८ ले जिल्ला प्रशासन कार्यालय र २३ जनाले गाउँपालिकामा स्थापित श्रोत केन्द्रबाट परामर्श लिएका हुन् । त्यस्तै माई नगरपािलकाबाट २ सय ९८ जनाले परामर्श लिएका छन् । जसमध्ये २ सय ७८ जिल्ला प्रशासन कार्यालय र २० जनाले नगरपालिकामा स्थापित श्रोत केन्द्रमार्फत परामर्श लिएको परियोजना संयोजक सन्तोष मगरले नयाँ बुलन्दलाई जानकारी दिए । सबैभन्दा कम माङसेबुङ गाउँपालिकाबाट १ सय ११ जना युवाले परामर्श लिएका छन् ।

यसरी वैदेशिक रोजगारीमा जान इच्छुक परामर्श लिएकामध्ये सबैभन्दा बढी आदिवासी जनजाति र सबैभन्दा कम दलित रहेको पाइएको छ । परामर्श सेवा लिनेमा १ हजार ४ सय २६ जना आदिवासी जनजाति, ६ सय ४१ क्षेत्री–ब्राह्मण र १ सय १८ जना दलित युवाहरु रहेका छन् ।

एडब्लुओ इन्टरनेशनलको सहयोगमा मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा जिल्लामै पहिलो पटक सुरक्षित आप्रवासन सम्बन्धी परियोजना संचालन भएको हो । मञ्चकै आयोजनामा आगामी वर्षदेखि माईजोगमाई र चुलाचुली गाउँपालिकामा समेत सो परियोजना संचालन हुनेछ ।

यता सो परियोजना स्वीस सरकारको साझेदारीमा इलाम, देउमाई र सूर्योदय नगरपालिका तथा माङसेबुङ गाउँपालिकामा समेत यस वर्षदेखि सुरु भएको छ । युवालाई विदेश जानभन्दा स्वदेशमै रोजगारीको बाटो देखाउने, यहीँ उद्यम गर्ने अवसर र सम्भावना केलाइदिने मुख्य उद्देश्य परियोजनाको छ । परियोजना सन् २०२२ सम्म चल्नेछ । सो परियोजना देशका विभिन्न ३९ जिल्लामा संचालन भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार