आत्मानन्द कप : आज पहिलो सेमिफाइनलमा दार्जिलिङ भारत र अर्जुनधारा झापा भिड्दै

  नयाँ बुलन्द  93 पटक हेरिएको

इलाम  : इलामको माङसेबुङमा जारी १२ औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिताको आइतबारदेखि सेमिफाइनलको खेल सुरु हुँदैछ । फाइनल प्रवेशका लागि पहिलो सेमीफाइनलमा मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङ भारत र एएससी अर्जुनधारा झापाबीच दिउँसो २ बजे हुँदैछ ।

पहिलो क्वार्टरमा दार्जिलिङले माङसेबुङ खेलकुद विकास समिति इलामलाई र तेस्रो क्वार्टरमा अर्जुनधाराले राजाबास युथ क्लब सुनसरीलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

त्यस्तै शनिबार भएको अन्तिम क्वार्टरमा मिरमिरे याक्थुङ क्लब तेह्रथुम विरुद्ध ३–० को सहज सहत जित निकाल्दै विर्तामोड सेमिफाइनल प्रवेश गरेको छ । विर्तामोडले अब दोस्रो सेमिफाइनलमा सोमबार भाङबारी स्पोर्टिङ युथक्लब दमक झापासँग खेल्नेछ ।

खेलको पहिलो हाफमा रमेश राजवंशीको गोलमा विर्तामोडले अग्रता लिएको थियो । दोश्रो हाफमा सुरुवातमै उत्कृष्ठ प्रदर्शन गरेको विर्तामोडले मिलन राईको गोलमा अग्रता दोब्बर बनाए । विपक्षीलाई लगातार दवावमा राख्न सफल विर्तामोडले इन्जुरी समयमा समेत पुन रमेश राजवंशीको गोलमा ३–० को सहज जित दर्ता गर्न सफल बन्यो । उता तेह्रथुमलाई रक्षात्मक खेल्न समेत हम्मेहम्मे परेका थियो । फलस्वरुप नतिजा झापालाई सुम्पदैं घर फर्कन बाध्य बन्यो । खेलको म्यान आफ दी म्याच विजेता विर्तामोडका रमेश राजवंशी घोषित भएका थिए ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार