‘लिम्बू भाषा’ कामकाजी घोषणाको वार्षिक उत्सव मनाइदैं

  राम योङहाङ  199 पटक हेरिएको

माङसेबुङ (इलाम) :  माङसेबुङ गाउँपालिकामा स्थानीय ‘लिम्बू भाषा’ सरकारी कामकाजी घोषणाको वार्षिक उत्सव मनाइने भएको छ ।

वडा नम्बर ५ मा ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी घोषणा गरेको १ वर्ष पूरा भएको उपलक्ष्यमा शुक्रबार विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाउन लागिएको हो ।

दिउँसो औपचारिक कार्यक्रम गरी वडा कार्यालयमा दिप प्रज्वलन, सम्मान र अन्तरक्रिया तथा साँझ वडाबासीले सामूहिक र घरघरमा दिपावली गरी वार्षिक उत्सव मनाउने तयारी गरिएको वडा अध्यक्ष नरेन्द्रकुमार राईले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको प्रमुख आतिथ्यतामा वडा कार्यालय परिसरमा १ लाख १ हजार १ सय ८ दिप प्रज्वलन गर्नुका साथैदोभासे स्वयमसेवलाई सम्मान र अन्तरक्रिया कार्यक्रम तय भएको छ ।

कार्यक्रममा भाषा अनुवादका लागि नियुक्त गरिएका ५ जना दोभासे स्वयम्सेवकलाई सम्मान गरिने भएको छ । भाषा अनुवादकका रुपमा स्वयमसेवक दिलहाङ शेर्मा, इन्द्र आङदेम्बे, ललितचन्द्र फियाक, सञ्चहाङ साम्बहाम्फे र खेसेहाङमा थेगिमलाई सम्मानका साथ विदाई गरिनेछ । ‘लिम्बू भाषा’ सरकारी कामकाज घोषणा भएपछि कर्मचारी व्यवस्थापन नभएसम्मका लागि उनीहरुलाई स्वयम्सेवकका रुपमा राखिएको थियो ।

गत १३ मंसिरमा माङसेबुङ गाउँपालिका ५ मा पहिलो पटक ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रुपमा घोषणा गरिएको थियो । वडाका कूल जनसंख्यामध्ये ६० प्रतिशतभन्दा बढी लिम्बू समुदायको बसोबास रहेको सो वडामा नेपालमै पहिलो पटक स्थानीय भाषालाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको थियो ।

‘इतिहासमा पहिलो पटक यहाँको स्थानीय लिम्बू भाषालाई कामकाजी भाषाका रुपमा लागू गरिएको स्मरणमा वार्षिक उत्सव मनाउन लागिएको हो’ वाडअध्यक्ष राईले भने, ‘यो ऐतिहासिक कामलाई कसैले नबिर्सियोस् भनेर प्रत्येक वर्ष दिपावली गरेर वार्षिक उत्सव मनाइनेछ ।’

‘लिम्बू भाषा’ र ‘किरात सिरिजंगा लिपि’ को आधार क्षेत्र रहेको सो वडामा भाषा र लिपिलाई सरकारी कामकाजमा प्रयोग सुरु गरिएको थियो । नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ ले प्रत्यायोजन अधिकारलाई प्रयोग गरी ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरि सञ्चालन भइरहेको छ ।

सो वडामा भाषा अनुवादकका रुपमा सहायक चौथो तहको एकजना दोभासे कर्मचारीको व्यवस्थापनको तयारी गाउँपालिकाले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार