भाषिक कर्मचारी नियुक्त गर्दै माङसेबुङ गाउँपालिका

  राम योङहाङ  405 पटक हेरिएको

नेपाली, लिम्बू र अंग्रेजी भाषा (त्रैभाषिक) मा लेखिएको वडा कार्यालयको बोर्ड ।

माङसेबुङ (इलाम)  : इलामको माङसेबुङ गाउँपालिकाले पहिलो पटक भाषिक कर्मचारी नियुक्त गर्ने भएको छ ।

नेपालमा पहिलो पटक स्थानीय लिम्बू भाषालाई सरकारी कामकाजी भाषा लागू गरेको माङसेबुङले सार्वजनिक सूचना प्रकाशन गरी करारमा भाषिक कर्मचारी माग गरेको छ ।

गत ३ मंसिरमा ‘भाषिक कर्मचारी करारमा पदपूर्ती गर्ने सम्बन्धी सूचना’ प्रकाशन गरी सहायक चौथो तहको कर्मचारी माग गरेको हो । गाउँपालिकाले खुला प्रतिष्पर्धामा करारमा कर्मचारी नियुक्त गर्ने गरी ७ दिनको म्याद राखी सूचना प्रकाशन गरेको थियो ।

निर्धारित समयमा ३ जनाको आवेदन परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद दाहालले जानकारी दिए । आवेदकबीच लिखित, मौखिक र प्रयोगात्मक परिक्षा संचालन गरी पदपूर्ती गरिने दाहालले जानकारी दिए ।

‘भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका, २०७५’ र ‘माङसेबुङ गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गने गर्ने सम्बन्धी कार्यविधि, २०७४’ बमोजिम पदपूर्ती गरिने सूचनामा उल्लेख छ । परिक्षाको मिति १२ मंसिर तोकिएको छ ।

लिम्बू समुदायको बाहुल्यता रहेको वडामा सेवाग्राहीलाई वडाबाट सेवाप्रवाहमा सहजता प्रदान गर्न गाउँपालिकाले भाषिक कर्मचारी नियुक्त गर्न लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । ‘लिम्बू जातिको बाहुल्यता रहेको ५ नम्बर वडामा गतवर्ष लिम्बू भाषा सरकारी कामकाजी भाषा लागू गरियो’ दाहालले नयाँ बुलन्दसँग भने, ‘स्थानीय सेवाग्राहीलाई नेपाली र लिम्बू दुवै भाषामा अनुवादका लागि यस वर्षदेखि कर्मचारीको व्यवस्था गर्न लागिएको हो ।’

लिम्बू समुदायको बाहुल्यता रहेको सो वडामा अनुवादक कमर्चारी अभावमा सेवाप्रवाहमा समस्या थियो । कर्मचारी पदपूर्ती भएपछि सेवाप्रवाहमा सहज हुने वडा अध्यक्ष नरेन्द्रकुमार राई बताउँछन् । ‘गतवर्ष लिम्बू भाषालाई पनि सरकारी कामकाजी भाषा बनाइयो । तर करर्मचारी नभएकाले कामकाजमा अन्यन्तै समस्या खेप्नुपर्यो’ अध्यक्ष राईले नयाँ बुलन्दसँग भने, ‘यस वर्ष कर्मचारी पदपूर्ती भएपछि सेवाप्रवाहमा पक्कै सहजता आउनेछ ।’

माङसेबुङ गाउँपालिका वडा नम्बर ५ मा गत वर्षको १३ मंसिरमा नेपालमा पहिलो पटक लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरी लागू गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार