कोरिया र कोरियामा हुने श्रमिकलाई बुझौं

  कृष्णदीप घिमिरे  567 पटक हेरिएको

कृष्णदीप घिमिरे

कोरिया आम नेपाली नयाँ युवा पुस्ताको लागि सपनाको सहर हो । अधिकांश युवा पुस्ता कोरिया पुग्नलाई नै मेहनतका साथ भाषा पढेर भाषा परिक्षा उतिर्ण गर्दै कोरिया आईपुग्छन् । म पनि त्यही रहर र सपनाको खोजी गर्दै कोरिया करिब ३० महिना पहिले आईपुगेको हो । मसँगै कोरियामा करिब सत्तरी हजार नेपाली कामदार विभिन्न कम्पनीमा कार्यरत छन् । कोरियामा रहेका प्राय सबै नेपालीको दिन चर्या दिनभरि कम्पनीको काम र बेलुकाको समय अधिकांश नेपालीको विभिन्न सामाजिक संजाल प्रयोग गर्दै साथीभाई तथा नेपालमा हुने आफन्तहरुसंगको कुराकानीमा नै बित्छ । अनि कहिलेकाही आउने विदाको दिन कि त कोठामा आराम कि त घुमघाम तिरै बित्छ ।

मेरो पनि यस्तै यस्तै हो म प्राय हरेक दिन कम्पनीको काम सकेर नुहाएर खाना खाई सकेपछि कोठामा आराम गर्दै आफूसँग आएका साथीभाइ अनि घर आफन्तसँग नै गफ गरेर बेलुकाको समय बिताउँछु । मेरा केही साथीहरू छन् । सधैं प्राय बेलुका गफ गर्ने ती मध्येको एक हो, सोम बहादुर । उ फर्निचरमा काम गर्छ । अत्यन्तै मिलनसार छ, उसका हरेक कुरा मलाई थाहा हुन्छ अनि मेरा हरेक कुरा उसलाई थाहा हुन्छ । हामी बिचमा प्राय दिनको एकपटक अवस्य कुरा हुन्छ । काम, घरपरिवार, साथीभाइ, नेपाल तिरको, गाउँघरको कुरा, कामको तनावको बारेमा आदि यस्तैयस्तै विषयमा कुरा हुन्छ । अनि बेलुकाको हाम्रो समय बितेको पत्तै हुँदैन । प्राय कोरियामा हुने सबै नेपालीलाई कहीं कतै तनाव भई राखेको हुन्छ । छोटो समयमा अत्यन्तै धेरै प्रगति गर्नुपर्ने सोच भनौं या अवस्था, सबैको आशा घरपरिवार, साथीभाइ, आफन्त अनि व्यवहारिक तनाव, कम्पनीको तनाव, कतिपयलाई स्वास्थ्यको समस्या अनि परिवारसँग छुटेर अलग्गै बस्नुको पीडा यस्तै विविध समस्याहरुले सताई रहेकै हुन्छ ।

मेरो साथीलाई पनि आज यस्तै समस्याले सताई राखेको छ । अरुको तुलनामा केही थोरै तलवमा काम गर्ने साथी खुल्ला मन, अनि कहिले हुदैन भन्ने शब्द प्रयोग गर्न जान्दैन । सधै उसलाई आजभोलि तनावमा प्राय भेट्छु, उसको पनि करिब कोरिया बसाइ  ३० महिना भईसक्यो । हामी लगभग सगँसगै कोरिया छिरेको हो । उसँग सुरुवाटै अनेकौं विषयमा कुरा भई रहन्थ्यो र अहिले पनि हुन्छ । अनि एक अर्काको बारेमा त सबै थाहा भई हाल्ने भयो । २५/२६ वर्षको जवान केटो काममा निकै मेहनति छ, जोसँग पनि सजिलैसँग घुलमिल हुने स्वभाव साच्चिकै रमाइलो छ । अलिकति सुरुसुरुमा रमाइलो गर्न मन पराउने, सबैलाई माया गर्न खोज्ने बानी उसको । उसले पहिलो वर्ष केही आफन्तहरुलाई कपडा सामान अनि आफूलाई केही नयाँ कपडा र विलासीका केहि वस्तुहरु अनि साथीभाइ भेटघाट र घरपरिवारलाई केही खर्च पठाउँदै पहिलो वर्षको कमाईको धेरै हिस्सा गुमायो । उसले कमाउने समय प्रशस्तै छ भने सोचेर पहिलो वर्ष खासै बचत तर्फ ध्यान दिएन ।

समय बित्दै गयो विस्तारै सबै साथीहरुले प्रगति गर्दै गए । कसैले सहरी क्षेत्रमा घर कसैले जग्गा किन्न थाले, अब विस्तारै उसमा पनि साथीहरूको देखेर त्योतर्फ ध्यान जान थाल्यो अनि करिब २ वर्ष लाग्नै आँट्दा उसले पनि साथीभाइ, आफन्त अनि आफूसँग भएको केही रकम भेला पारेर काठमाडौंमा जग्गा लियो । अब उ पनि व्यवहारमा फस्यो, उसलाई पनि विस्तारै पैसाको अभाव महसुस हुन थाल्यो । महिना दिनमा एक चोटि आउने तलव साथीहरुलाई बुझाउनुपर्ने, आफूसँग पर्याप्त पैसा नरहने, कहिलेकाहीँ त हस्पिटल जान पनि अभाव भोग्नु पर्ने अवस्था बन्यो र पनि जसोतसो व्यवहार मिलाउँदै छ । तर अब घरपरिवारले पनि पहिलाको जस्तै आश गर्न थाले जसलाई व्यवस्थापन गर्न सबैभन्दा ठुलो समस्या हुन थाल्यो । घरपरिवारले आफूसँग नभएको कुरा बताउँदा कुरा नबुझ्ने, त्यसै त नेपाली समाजमा छोरा कोरिया छ जति पनि पैसा कमाउँछ भन्ने सोच छ । यो त परिवारको र व्यवहारको समस्या मात्रै भयो यता कामको तनाव छदैछ, अब फेरि उसको मोबाइलमा आउने आफन्तको मेसेजले अझ उसलाई सताउँन थाल्दै छ ।

प्राय उसलाई २/४ दिनमा कोही न कोही आफन्तले मायाको चिनो या उपहार भनौं केही न केही वस्तु माग्न थाले, कहिले काहिँ उसलाई सामाजिक संजाल नै मोबाइलबाट हटाउ जस्तो लाग्ने कहिले काहिँ त उ दिक्क भएर अफलाईनमा समेत चलाउछ तर पनि माग आईरहन्छ । अनि उ हुँदैन भन्न जान्दैन, केही महिना अगाडि मात्रै एक जना आफन्तलाई महँगो मोबाइल खरिद गरेर उसले पठाएको याद ताजै छ, केही दिन अगाडि फेरि आफन्तबाटै उसलाई तोकिएको ब्रान्डको घडी र कपडाको माग आएको छ । अनि बुधबार मात्रै साथीले राम्रो क्यामेरा मागेको छ यसले यो महंगो सहरमा अझ तनाव थपेको छ उसलाई । आधा कोरिया बसाइ सकियो अब आधा बसाइँमा आफ्ना हरेक सपनाहरु पूरा गर्नु पर्ने छ विस्तारै खर्च बढदै छ ।  आवस्यकता बढदै छ, अनि आफ्नै सपनाहरु भारी बन्दैछ अनि उ माथि थपिने अनेकौं साथी भाइ आफ्न्तको सपना, हुँदैन भन्न नजाने उसले आफन्तबाटै गार्‍हो महसुस गर्न थालेको छ । अझ बिच बिचमा आफन्त साथीभाइ ले सापट माग्ने पैसाले झन अफ्ट्यारो बनाउँदैछ । फेरि रोजगारी गर्नु जिन्दगीको सबैभन्दा जोखिम मोल्नु रहेछ । आम्दानीको स्रोत एकमात्र हुने काहि कतै रोजगारी गुम्यो भने फेरि आम्दानी विहीन बन्नु पर्ने यो खतरा ले पनि कोरियामा हुने सबैलाई चनाखो गराई राखेको हुन्छ अनि उसलाई पनि ।

उ त एक पात्र मात्रै हो यहाँ बस्ने हरेक नेपालीलाई यी र यस्तै समस्याले सताएको छ । सुरुमा आफुलाई योजनाबद्ध तरिकाले अगाडी नबढाउनु, विस्तारै नेपालबाट हेर्ने नजर अनि आफन्तहरुको आशा, कम्पनीको काम, कोरियाको महंगो बजार, स्वास्थ्य समस्या यावत विषयले प्राय सबैलाई सताई राखेको हुन्छ । त्यसैले कोरिया छिरेको दिनबाट आफुलाई योजना बनाई योजनासँगै लगे मात्रै आफ्ना सपना प्राप्त गर्न सजिलो हन्छ । अनि नेपालमा हुने आफन्तले पनि ५ वर्ष स्वतन्त्र छोडिदिनुस् जति उड्न सक्छ उडोस् उसलाई । उसलाई काहिँ कतै आफ्ना कारणले अफ्ट्यारो परेको छ कि विदेशमा विचार गरौँ । कोरियामा हुने श्रमिक आफन्तलाई आफन्तले नै बुझौं । आफ्नै सपनाले थिचिएका श्रमिकमाथि अरु सपना न थुपारौं । सके उसलाई आँट र हौसला प्रदान गरौं, माया ममता प्रदर्शन गरौ, शान्तवना दिउँ, नसके कोरियाको मानसिक तनावको एक कारण हामी कोहि नबनौं ।

नोट : लेखक हाल कोरियामा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार