
इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाममा धार्मिक मेला मेला लागेको छ । परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ लागिरहेको छ ।

मेलाको मुख्य दिन मंगलबार बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको घुँईचो लागेको छ । धाम आसपासमा पाल टाँगेर सयौं अस्थायी टहराहरु निर्माण गरी होटल व्यवसायहरु सञ्चालनमा छन् ।

गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरुको भीड लागेको छ । कतिपय सावारी साधनबाट भने कतिपय पैदल यात्रामा धाम आउनेको घुँइचो छ । धाममा माङसेबुङ गाउँपालिकाको इभाङ र गजुरमुखी, देउमाई नगरपालिकाको धुसेनी र जितपुर, माई नगरपालिकाको महमाई र फाकफोकथुम गाउँपालिकाको लुम्दे, एकतप्पा, फुएतप्पा लगायतको बाटो हुँदै पैदल र सवारी साधनमार्फत आउनेहरुको क्रम जारी छ ।

मेलालाई व्यवस्थित गर्न मेला आयोजक गजुरमुखी धाम बजार व्यवस्थापन समिति क्रियाशील छ । हुलहुज्जत र झै–झगडा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष डम्बर कार्कीले बताए ।

गजरमुखी धाममा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । धाममा नेपालको विभिन्न भू–भागसँगै भारतको मिरिक, दार्जिलिङ, खर्साङ, सिक्किम, सिलिगढी, आसामलगायत स्थानबाट भक्तजनहरुआउने गरेका छन् । बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेकाले यहाँ देवीको दर्शन र पूजा अर्चना गर्न अहिले संयौको संख्यामा भक्तजनहरु आउने गरेका छन् ।

मेला भर्न, दर्शन तथा पूजापाठ गर्न इलामसँगै पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटाका तथा भारतको सिक्किम, दार्जिलिङ, खर्साङ, कालेङबुङ लगायतका ठाउँहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा अवस्थित गजरमुखीको दर्शन गरेमा बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ । यही जनविश्वासका कारण वर्सेनि हज्जारौंको संख्यामा भक्तजनहरु पाठपूजा गर्न तथा भाकल गर्न गजुरमुखी धाम आउने गरेका छन् । गजुरमुखीमा सयौंको हाराहारीमा भक्तजनहरुको उपस्थिती रहन थालेको छ ।

मेची लोकमार्गअन्र्तगत इलामको नेपालटार–मंगलबारे–धुसेनी हुँदै मंगलबारेसम्म पक्की र मंगलबारेबाट कच्ची सडकमार्फत गजुरमुखी धाममा पुग्न सकिन्छ । जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुमध्ये गजुरमुखी पनि एक हो । धार्मिक आस्थाको लागि आउने गरेका पर्यटकहरु इलाम आएका बेला प्राय गजुरमेखी जान छुटाउँदैनन् ।

वर्षाको समयमा कच्ची सडक पर्यटकहरुका लागि केही असजिलो हुने गरेको भएपनि हिउँद याममा गाडीहरु चल्ने गरेकाले गजुरमुखी पुग्नका लागि उति असजिलो छैन ।

धार्मिक पर्यटकीय सम्भावना रहेको गजुरमुखीको विकास र प्रवर्द्धनका लागि गाउँपालिकाले गुरुयोजना निर्माण गरि अगाडि बढिरहेको माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । ‘जिल्लाकै एक प्रमुख धार्मिक स्थलको रुपमा रहेको गजुरमुखीलाई विकास र प्रवर्द्धनका लागि गुरुयोजन निर्माण गरेर अगाडी बढिरहेको छौ’ अध्यक्ष इदिङ्गोले भने, ‘आगामी दिनमा संघीय र प्रदेश सरकारसँग समेत समन्वय गरेर यसलाई पूर्वकै महत्वपूर्ण धार्मिक स्थलको रुपमा विकास र विस्तार गर्ने तयारीमा छौं ।’

हेर्नुहोस् भिडियोमा :






















































