राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको १३५ औं जन्मजयन्ती भव्यताका साथ मनाइयो

  गोविन्द लामिछाने
0 Shares

इलाम : राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३५ औं जन्मजयन्ती इलाममा विविध कार्यक्रमका साथ मनाइएको छ । किराँत धर्मको प्रवद्र्धनसँगै समाजिक विभेद विरूद्ध फाल्गुनन्दले पु¥याएको योगदानको कदरस्वरूप इलामका विभिन्न स्थानमा उनको सम्झनामा कार्यक्रम आयोजना गरिएको हो ।

जन्मजयन्तीको अवसरमा इलामको फाकफोकथुमको रुपाटार, फूएतप्पा, माङसेवुङको लारुम्वा, सन्दकपुरको जमुना, मावु, माइनगरपालिका, पाँचथरको लव्रकुटी, मिक्लाजुङलगायत क्ष्ँेत्रमा विविध धार्मिक, सांस्कृतिक, खेलकुदलगायतका कार्यक्रम आयोजना गरियो । वि.सं. २०६६ साल मङ्सिर १६ गते सरकारले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।

महागुरु फल्गुनन्दले सांस्कृतिक रुपमा प्रयोग गरिने मदिरा, बलिप्रथा, महिला विभेद र जातिय विभेदका विरुद्ध राणा शासन कालमा नै अभियान सुरु गरेको र त्यसको सान्दर्भिकता अहिले प्रष्ट भएको सिद्ध किराँत हाङसाम युमा माङहिमका अध्यक्ष पञ्च योङहाङले बताए । ‘माहागुरुको दर्शनले कुनै एक समुदाय र जातिको मात्र हितको कुरा उठाएको छैन’ अध्यक्ष योङहाङले भने, ‘उहाँको दर्शन र सन्देशले सवै मानवजातिको हित र उत्थानको परिकल्पना गरेको छ ।’

फाकफोकथुम गाउँपालिकास्थित रुपाटारमा महागुरु फाल्गुन्दले प्रतिपादन गरेको धर्म अनुसार वृहत मन्दिर समेत निर्माण गरिएको छ । यस क्षेत्रलाई धार्मिक पर्यटन केन्द्रकोरुपमा विकास गर्ने उदेश्यले काम भइरहेको हो । त्यस्तै लारुम्बालगायत विभिन्न क्षेत्रमा पनि धार्मिक स्थल निर्माण गर्ने काम भइरहेको छ । धार्मिक क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेर योजनावद्ध ढंगले काम अघि बढाएको फाकफोकथुमको रुपाटारमा सोमबार आयोजित कार्यक्रममा प्रदेश सभासद धिरेन्द्र शर्मा (रमण) ले बताए । उनले यस क्षेत्रको विकास र समृद्धिका लागि प्रदेश सरकारले सहयोग जारी राख्ने विचार व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले धार्मिक तथा पर्यटन क्षेत्रको विकासका लागि गाउँपालिकाले पर्याप्त बजेटको व्यवस्थापन गर्ने बताए । उनले महागुरुको जस्तै विकृति र विसंगती छाडेर सामाजिक काममा लाग्न आग्रह समेत गरे ।

त्यस्तै गाउँपालिकाका उपाध्यक्ष सरस्वती राई (सरु) ले फाकफोकथुम गाउँपालिकाले विद्यालय, संघसंस्था र सार्वजनिक स्थलको २०० मिटर वरिपरि क्यारामबोर्ड, जुवातास र मदिराजन्य पदार्थको विक्री वितरणमा रोक लगाइएको बताइन् । अहिले युवाहरुमा विकृति र विसंगति देखिंदै गएकाले युवाहरुलाई सहीबाटोमा डो¥याउन गाउँपालिकाले यस्तो निर्णय गरेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्ने सहभागीले महागुरु जन्मजयन्तीको अवसरमा राज्यले विदा नदिएकोमा दुखेशो गरे । इलामका माइनगरपालिका, माङसेवुङ र फाकफोकथुम गाउँपालिकाले मात्र सार्वजनिक विदा दिएका छन् ।

इलामको इभाङस्थित चुक्चिनाम्बामा वि.सं. १९४२ सालमा जन्मिएका फाल्गुनन्दले ७ वर्षको उमेरदेखि नै ज्ञान प्राप्त गरेर समाज सुधारमा लागेको किराँत धर्मालम्बीहरुको विश्वास छ । भारतीय सेनामा समेत काम गरेका फाल्गुनन्द फर्केर धर्म प्रचारमा लागेको इतिहास थियो । महागुरु फाल्गुनन्दले पाँचथरको लब्रे र सिलौटी, ताप्लेजुङको कावेली, निगुरादिन, कुम्भकर्ण, इलामको जितपुरलगायत स्थानमा किराँत मन्दिर बनाएका थिए । समाज सुधारकसँगै किराँत धर्मालम्बीहरु धर्मगुरुलाई दैवीशक्ति प्राप्त व्यक्तिको रुपमा सम्झन्छन् । धर्मगुरुको सम्मान र स्मृतिमा किराँत बाहुल्य क्षेत्रमा मन्दिर निर्माण गरेर सामाजिक सुधार र धार्मिक बाटोमा हिड्नेहरुको संख्या बढ्दो छ ।

किराँतीहरुले प्रयोग गर्ने मुन्नधुमलाई लिपिवद्ध गर्ने काम पनि उनले गरेको जानकार वताउछन् । फाल्गुनन्दले प्रतिवादन गरेको धर्मलाई किराँत हाङसाम साम्यो भनिन्छ । सत्य र शान्तिको मार्गमा लाग्न धर्ममार्फत अभियान चलाएकाले यो धार्मालम्बीलाई सत्यहाङवा पनि भनिन्छ ।

महागुरु फाल्गुनन्दको निधन २००५ सालमा पाँचथरको सिलौटीमा भएको हो । तपस्या गरेका स्थान, जन्मस्थान, निधन भएको स्थान र महत्वपूर्ण काम गरेका क्षेत्रलाई अहिले तीर्थस्थलको रुपमा लिइने गरेको छ ।

१९८८ वैशाख २४ गते पाँचथरको लव्रेमा पूर्वका किराँत जम्मा गरी गुरुले सत्यधर्म मुचुल्का तयार पारेर प्रचार गर्दै महिला विभेद, बलिप्रथा, प्राकृतिक सम्पदाको संरक्षण र सामाजिक र जातिय विभेदको विरूद्धमा शान्तिपूर्ण ढङ्गले अभियान चलाएको पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार