आजदेखि इलाम साहित्य महोत्सव हुँदै (भिडियो सहित)

इलाम : शुक्रबार (आज) देखि दुई दिने साहित्य महोत्सव इलाममा सुरु हुँदैछ । इलाम साहित्य समाज इलामको आयोजनामा सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

‘पर्यटनको लागि साहित्य’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा साहित्यकार, कलाकारदेखि राजनीतिज्ञहरुको जमघट हुनेछ । अतिथि एवम् वक्ताहरु इलाम सदरमुकाम आइसकेका छन् । उनीहरुले विभिन्न शीर्षकमा बहस गर्ने आयोजकका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए ।

महोत्सवमा पूर्व सभामुख तथा प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङ, संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्री योगेश भट्टराई, नेपाली काङग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा, चिन्तक प्रदिप गिरी, चर्चित अभिनेता दयाहाङ राई, अभिनेत्री स्वस्तिमा खड्का, कवि श्रवण मुकारुङ, भूपाल राई, आख्यानकार राजन मुकारुङसहित अन्य ख्यातिप्राप्त साहित्यकार, लेखक, विश्लेषक, कलाकार, राजनितिज्ञलगायत ढेड सय बढीको सहभागिता रहनेछ । उनीहरुले विभिन्न विषयका १४ वटा सेसनहरुमा बहस तथा विमर्श गर्ने छन् ।

कार्यक्रमको पहिलो दिन प्रा. डा. सन्जीव उप्रेतीको सम्भाषण, सत्ता कि प्रतिपक्ष शिर्षकमा वक्ताहरु श्रवण मुकारुङ, मोमिला जोशी, मनु मञ्जील र सहजकर्तामा विमल वैद्य, ‘अ’ मा अल्झेको इलाम विषयमा वक्ताहरु युद्यप्रसाद वैद्य, महेश बस्नेत, राजेन्द्र बराल र सहजकर्तामा केदार शर्मा जमघट हुनेछ । त्यस्तै, मानक माथि प्रश्न विषयमा मुख्य वक्ता राजन मुकारुङ, मिश्र वैजन्ती, उज्वल प्रसाई र सहजकर्तामा महेश पौडेल रहनेछन् ।

त्यस्तै, किन बिक्न छोड्यो आख्यान विषयमा मुख्य वक्तामा पेभ ओझा, प्रकाश बुढाथोकी, बिना थिङ र सहजकर्ता बालिका थपलियाको रहनेछ भने करोड क्लब र अफवाह शीर्षकमा सिनेमा विधामा मुख्य वक्तामा दयाहाङ राई, अनुप सुवेदी, ब्रजेश र सहजकर्तामा अन्वेश थुलुङ राईको प्रस्तुती देख्न सकिनेछ । साँझ काव्य साँझ रहनेछ । त्यसमा विभिन्न साहित्यकारहरुको साहित्य वाचन हुनेछ ।

दोश्रो दिनको कार्यक्रममा पर्यटनको आयाम सम्बन्धमा मुख्य वक्ता हरिसचन्द्र राई, केशव धौराली, डा. देवी क्षेत्री दुलाल र सहजकर्तामा धर्म गौतम रहनेछन् । त्यस्तै निर्माणको जिम्मा विषयमा सुरेश नेम्बाङ, रवि सिंह, दीपक गौतमसँग सन्तोष नेम्बाङ सहजकर्ताका रुपमा रहनेछन् । सिनेमाको सन्देश विषयमा प्रकाश आङदेम्बे, स्वस्तीमा खड्का र सहजकर्तामा सुरेन्द्र राई रहनेछन् ।

त्यस्तै साहित्यको पछिल्ला आन्दोलनहरुको सन्दर्भमा उन्मुक्त पुस्ता, फरक आयाम, कुकुर कविता र सहजकर्तामा मुनाराज शेर्मा रहनेछन् । नेपाली साहित्यमा मन्धुुम÷मुन्दुम विधामा मुख्य वक्ता भूपाल राई र धर्मेन्द्रविक्रम नेम्वाङ, सहजकर्ता गणेशकुमार राई रहनेछन् भने गीतको दुःख विधामा मुख्य वक्तामा कोमल निरौला, गुरुङ सुसान्त, चन्द्र आङदेम्बे र सहजकर्तामा युविर चेम्जोङ रहनेछन् ।

यस्तै अधिकारको पेवा सन्दर्भ विचारमा मुख्य वक्तामा जेवी विश्वकर्मा, सीमा आभास, कृष्ण धराबासी र सहजकर्तामा समीरबाबु कट्टेलले प्रस्तुती दिनेछन् । के गणतन्त्र खतरामा ? राजनीति विधामा मुख्यवक्ता विश्वप्रकाश शर्मा, योगेश भट्टराई र खगेन्द्र सङग्रौला तथा सहजकर्तामा बसन्त बस्नेत रहनेछन ।

महोत्सवमा रैथाने विचार र मुद्धाको विशेष वहस हुने अध्यक्ष थाम्सुहाङले बताए । उनले स्थानीय साहित्यकारहरुलाई विशेष प्राथमिकता दिएको बताए । ‘हामीले प्राथ सबै वक्ताहरु स्थानीयलाई नै प्राथमिकता दिएका छौं । सहजकर्ता त झन् सबै जिल्लाकै मात्र छन्’ अध्यक्ष थाम्सुहाङले भने, ‘स्थानीय प्रतिभालाई विशेष महत्व दिएर महोत्सव सञ्चालन गरिएकाले यो महोत्सव सम्पूर्ण जिल्लाबासीकै भन्ने हाम्रो दावी छ ।’

कार्यक्रमको समापन पूर्व सभामुख तथा प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङले गर्नेछन् ।

पछिल्लो समय इलाममा साहित्यिक कार्यक्रमहरु सुस्ताईरहेको अवस्थामा पुनजागरण र पुर्नउत्थानको लागि महोत्सवको आयोजना गरिएको इलाम साहित्य समाजका सचिव रोशन राईले बताए ।

इलाममा २००९ सालमा करफोकमा वृृहत साहित्यिक सम्मेलन आयोजना गरिएको थियो । त्यसपछि २०४५ सालमा महानन्द पुरस्कार समारोह पश्चात् २०६३ र २०६९ सालमा विशेष साहित्यिक कार्यक्रमपछि कुनै पनि साहित्यिक महोत्सव तथा सम्मेलनहरु आयोजना गरिएको थिएनन् ।करिव ७ वर्षपछि इलाममा अन्तराष्ट्रिय साहित्यिक जमघट गर्न लागिएको हो ।

साढे २२ लाख खर्च लाग्ने अनुमान गरिएको महोत्सवका लागि इलामका स्थानीय तह, प्रदेश सरकार, पर्यटन बोर्ड, नेपाल प्रज्ञा प्रतिष्ठान, तथा विभिन्न निजी कम्पनी तथा समाजसेवीहरुसँग सहकार्य गरेको छ ।

 हेर्नुहोस भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार