लेकको लोभलाग्दो कमाइ !

  टीका खतिवडा  193 पटक हेरिएको

इलाम : हरेक दिन बिहान सबेरै उठ्नु, नित्यकर्म सकेर गाई दुहुनु र खोले ख्वाएर ती गाईलाई जङल पठाउनु ताराबहादुर चौहानको दैनिकी हो । उनका गोठमा दश माउ गाई छन् । ती निकै पर पुगिसकेपछि बाछाबाछी पनि छोड्छन् उनी । बाछा ढिलो छोडदा दिउँसो जङलमा माउसँग बाछाबाछीको भेट नहोस् भनेर हो । यदि माउसँग भेट भयो भने बाछाबाछीले दूध खाइदिन्छन् भन्ने चिन्ता छ उनलाई ।

चौहान गाई पालेर गोठमै बस्छन्, । लेकाली क्षेत्रमा सधैँजसो पानी परिरहन्छ । नभए कुहिरो लागिरहन्छ । जब गाई र तिनका बाछा जङलतर्फ लाग्छन् उनी हातमा थोत्रे चप्पल लिएर गाईबाछाले गोब्र्याएको मल सोहोर्न थाल्छन् । गाई बाँध्ने थलालाई सफा बनाएर बेलुका र बिहान दोहेको दूध आफ्नै डेरीमा पेल्छन् उनी ।

उनीहरू गोठमै रमाउँछन् । नजिक अस्पताल नहुनु, सडकको अवस्था राम्रो नहुनु र छोराछोरी पढाउने विद्यालय नजिक नहुनुजस्ता समस्याहरू लेकमा छन् । शेर्पाले भने डेरी राखेका छैनन् । सबै काम एउटैले गर्न नहुने विचार राख्ने उनी दूध बेच्नमै रमाइलो मान्दछन्

त्यसो गर्दा एकातर्फ दूधको चिल्लो पदार्थ क्रिम झर्छ त अर्कातर्फ छुर्पी बन्ने क्रिम बिनाको पातलो दूध निस्कन्छ । उनी क्रिम जतनसाथ एक भाँडामा राख्छन् । अर्र्कोातरबाट झरेको पातलो दूधलाई ठूलो भाँडोमा जम्मा गरेर आफैँले जमीन खनेर बनाएको चुल्होमा बसाल्छन् र त्यसलाई तताएर फटाएपछि बनेको सेर्गेमबाट छुर्पी बनाउँछन् । उनका हरेक काममा उत्तिकै साथ दिन्छिन् पत्नी सुजता खड्का चौहान ।

त्यस्तै, सूर्योदय नगरपालिका–१ लामिधुराका जगतबहादुर राईको दैनिकी पनि उस्तै छ । उनी पनि बिहान गाईलाई खोले दिएर जङल पठाउँछन् । बेलुका गाई अगाएर आउँछन् । खोले दिएर बाँधेर बिहानजस्तै दोहेपछि उनको पनि एक दिनको गाईवस्तु स्याहार्ने काम सकिन्छ । उनी पनि आफैँ डेरी सञ्चालन गर्छन् ।

इलाम देउमाई नगरपालिका– १ कुइभिर नजिकका तेन्जी शेर्पाको पनि गोठ छ । कमाई राम्रै भएर लेक छाड्न नचाहने उनी घरघरमा पुग्ने सडक नबनेर पिर मान्दछन् । उनीहरू गोठमै रमाउँछन् । नजिक अस्पताल नहुनु, सडकको अवस्था राम्रो नहुनु र छोराछोरी पढाउने विद्यालय नजिक नहुनुजस्ता समस्याहरू लेकमा छन् । शेर्पाले भने डेरी राखेका छैनन् । सबै काम एउटैले गर्न नहुने विचार राख्ने उनी दूध बेच्नमै रमाइलो मान्दछन् ।

डेरी राख्ने उनीहरूले आफ्नो गोठका गाईको मात्र दूध डेरीमा पेल्दैनन् । पातलो गाउँ भए पनि अन्य गोठबाट आएको दूध पनि पेल्छन् । चौहानको डेरीमा दैनिक एक सय लिटर जति दूध जम्मा हुन्छ । पत्नी ४ वर्षे नानी च्यापेर करिब पाँच किलोमिटर टाढा रहेको माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारस्थित विद्यालय पु¥याउन जान्छन् । घना जङल पार गरेर दैनिक नानी पु¥याउन जाने मात्र होइन, बेलुका छुट्टी भएपछि लिन पनि उनी नै जान्छन् । नानीलाई विद्यालय पु¥याउन र लिन जानमा नै उनको दैनिक चार घण्टा समय बित्छ ।

लेकको बसाइ त्यति सहज भने छैन । चरनमा गएका गाईबाछासँग आएको जुका सुत्ने ओछ्यानसम्म पनि पुग्छन् । सामान्य लाग्छ त्यस लेकाली परिवारलाई जुका । गाईगोठसँगै गाँसिएको छाप्रोमा उनीहरूको परिवार बस्छन् । दश माउ गाई पालेका चौहानले पाँच माउ मात्र दुहुनछन् । उनी बेलुका र बिहानको गरेर पाँच माउ गाईको करिब २० लिटर दूध पेल्छन् ।

‘त्यति दूधबाट तीन किलो भन्दा बढी घिउ र साढे दुई किलोभन्दा बढी नै छुर्पी बन्छ,’ चौहानले भने । घिउ घरबाटै ५ सय ५० रुपैयाँ प्रतिकिलो र छुर्पी ८ सय ५० रुपैयाँ प्रतिकिलो बेच्छन् उनी । उनी घिउ र छुर्पी कहिले घरबाटै बेच्छन त कहिले नयाँबजारसम्म पु¥याउन जान्छन् । अरूको दूध पेलेर पनि सामान्य नाफा हुने उनको भनाइ छ । चौहान परिवारले कम हुँदा तीन हजार र सिजनमा ६ हजार रुपैयाँसम्म कमाइ गर्ने गरेका छन् । खानपिन र छोराछोरी पढाएर पनि राम्रो बचत हुने उनीहरू बताउँछन् ।

जगतबहादुर राईको पनि चौहानकै हाराहारीमा कमाइ हुन्छ तर, उनी त्यस क्षेत्रमा उत्पादित घिउ र छुर्पी खरिद गरेर दार्जिलिङ र अन्य बजारमा पनि बेच्न लैजानछन् । उनले त झन दार्जिलङमा घर नै जोडिसकेका छन् । उनका दुईवटा मान्छे बोक्ने गाडी समेत छन् । उनको कमाइको मुख्य स्रोत गाईगोठ नै हो ।

लेकमा बस्ने भए पनि ती परिवार प्रायः एक्लै बस्नु पर्दैन । थुम्केका चौहानको गोठमा कहिले इलाम बजार त कहिले नयाँबजारबाट गोठमा बस्न मान्छे जान्छन् । त्यस क्षेत्रमा बाटो खन्ने मेसिनका चालक र सहचालक पनि बास बस्छन् । कहिले आफ्नै पाहुना त कहिले पैसा तिरेरै खान र बस्न आएका पर्यटकहरू । लामिधुराका राईको गोठसँगै पर्यटकका लागि होटल र लज नै सञ्चालन गरिएको छ । लामिधुरा देशको पूर्वी क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य जाने मुख्य सडक हो । त्यही भएर पनि यहाँ पर्यटकको चाप हुने गरेको छ ।

गोठमा बस्दाको अनुभव लिन धेरै पर्यटकहरू गोठमा जाने गर्दछन् । सुतेको पैसा लाग्दैन, खाएको मात्रै पैसा तिरे पुग्छ । ‘त्यसबाट सामान्य मात्र कमाइ हुन्छ,’ चौहानले थपे, ‘मुख्य कमाइको स्रोत भनेको गोठ, घिउ र छुर्पी नै हो ।’

कमाइ राम्रै हुन्छ लेकमा बस्ने किसानहरूको । लेकाली क्षेत्रमा बाटो नभएर गाईको दाना र खोले भने महंगो हुने गरेको छ । उनीहरू लेकमा मकै र आलु पनि रोप्छन् । आलु बँदेलले उधिन्ने र मकैमा छिर्के रोग लाग्ने भएपछि यसबाट आम्दानी लिन नसकिएको उनीहरूको भनाइ छ । यी बालीको विकल्प सोच्दै छन् उनीहरू । स्थानीय सरकार र सम्बन्धित निकायले बँदेल नियन्त्रणमा ध्यान दिनुपर्ने उनीहरूकोे भनाइ छ ।

जिल्लाको थुम्के, सन्दकपुर, मेग्मालगायत स्थानका दर्जनौँ किसानले गोठ पालेका छन् । अरू किसानहरूको दैनिकी पनि उस्तै हो । गोठसँगै लेकाली क्षेत्रमा जाने अनि अर्गानिक उत्पादन खाने रहर सहरवासीलाई हुन थालेको छ । त्यसैले धेरै पर्यटकहरू लेकाली क्षेत्रमा जान थालेका छन् । ‘एक दिन भए पनि शुद्ध अर्गानिक खान पाइन्छ,’ नेपाल पत्रकार महासंघ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराईले भने । भट्टराई इलाम सदरमुकाम बस्छन । उनी एक दिन भए पनि नयाँ अनुभव लिन गोठमा खान र बस्न गएको बताउँछन् ।

नयाँबजारका देवी अधिकारी वर्षमा दुई–तीन पटकसम्म गोठमा बस्न जाने गरेको बताउँछिन । ‘इलाम अनि, बाहिरबाट साथीहरू आउँछन्, उनीहरू लिएर जानै पर्छ,’ अधिकारीले भनिन् । उनका अनुसार बजार क्षेत्रमा बसोबास गर्ने धेरै मानिस लेक क्षेत्रमा बस्न र रमाइलो गर्न जाने गरेका छन् । आन्तरिक पर्यटक पबवद्र्धन गर्न यस्ता गोठहरूको संरक्षण गर्नुपर्ने माइजोगमाईका स्थानीय राजीव भट्टराई बताउँछन् । सडकको अवस्थामा सुधार आए पर्यटकलाई सहज हुन्छ ।

माइजोगमाईबाट थुम्के हुँदै सन्दरपुर जाने सडकको मर्मत भइरहेको गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताए । यहाँ डेढ करोडको लागतमा नालीसहित सडक मर्मत सुधारको काम हुँदैछ ।

देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेलले देउमाई नगरपालिकाभित्रका सम्भावना बोकेका पर्यटकीय स्थलहरूको प्रचार र प्रबद्र्धन गर्न आफूहरू लागिपरेको बताए । लेकमा कमाइ भए पनि बस्न असहज छ । लेकका किसानले स्थानीय तहको गठनपछि केही राहत महशुस गरेका छन् । सन्दकपुर, मेग्मा, कुहिभिर, थुम्केडाँडा, लामिधेरालगायतका लेकाली क्षेत्रमा विकासका पूर्वाधार बनाइदेओस् भन्ने उनीहरूको आग्रह छ । सौर्य दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार