इलाम साहित्य महोत्सवमा साहित्यकार, कलाकार र राजनीतिज्ञको जमघट !

  नयाँ बुलन्द
0 Shares

इलाम : आउँदो असोज ३ र ४ गते इलाममा हुने साहित्य महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सवका लागि प्रचारप्रसार, अतिथि सत्कार, कार्यक्रम व्यसवस्थापनका लागि आवश्यक तयारी तीब्र पारिएको आयोजक इलाम साहित्य समाजका सचिव रोशन राईले जानकारी दिए ।

‘पर्यटनको लागि साहित्य’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा साहित्यकार, कलाकारदेखि राजनीतिज्ञहरुले विभिन्न शीर्षकमा बहस गर्ने भएका छन् । इलाम साहित्य समाजले स्थानीय तह, प्रदेश सरकार, पर्यटन बोर्ड, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत संस्थासँगकाे सहकार्यमा महोत्सवको आयोजना गर्न लागेकाे हाे ।

महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्री योगेश भट्टराई, नेपाली काङग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा, चिन्तक प्रदिप गिरी, चर्चित अभिनेता दयाहाङ राई, अभिनेत्री स्वस्तिमा खड्का, कवि श्रवण मुकारुङ, भूपाल राई, आख्यानकार राजन मुकारुङसहित अन्य ख्यातिप्राप्त साहित्यकार, लेखक, विश्लेषक, कलाकार, राजनितिज्ञलगायत ढेड सय बढीको सहभागिता रहनेछ ।उनीहरुले विभिन्न विषयका १५ वटा सेसनहरुमा बहस तथा विमर्श गर्ने छन् ।

कार्यक्रमको पहिलो दिन आलोचनात्मक चेत र लोकतन्त्रका बारे वक्ता प्रा.डा. संजीव उप्रेती, सत्ता कि प्रतिपक्ष शिर्षकमा वक्ताहरु श्रवण मुकारुङ, मोमिला जोशी, मनु मञ्जील र सहजकर्तामा विमल वैद्य,  ‘अ’ मा अल्झेको इलाम विषयमा वक्ताहरु युद्यप्रसाद वैद्य, महेश बस्नेत, विष्णु निष्ठुरी र सहजकर्तामा केदार शर्मा जमघट हुने बताईएको छ । त्यस्तै, मानक माथि प्रश्न विषयमा मुख्य वक्ता राजन मुकारुङ, मिश्र वौजन्ती, उज्वल प्रसाई र सहजकर्तामा महेश पौडेल रहनेछन् । अधिकारको पेवा सन्दर्भ विचारमा मुख्य वक्तामा जेवी विश्वकर्मा, सीमा आभास, कृष्ण धराबासी र सहजकर्तामा समीरबाबु कट्टेलले प्रस्तुती दिनेछन् ।

त्यस्तै, किन बिक्न छोड्यो आख्यान विषयमा मुख्य वक्तामा भूपिन, प्रकाश बुढाथोकी, बीना थिङ र  सहजकर्ता बालिका थपलियाको रहनेछ भने पर्यटनको आयाम सम्बन्धमा मुख्य वक्ता हरिस चन्द्र राई, केशव धौराली र सहजकर्तामा धर्म गौतमको प्रस्तुती रहनेछ । साँझ काव्य साँझ रहनेछ । त्यसमा विभिन्न साहित्यकारहरुको साहित्य वाचन हुनेछ ।

दोश्रो दिन हुने कार्यक्रममा साहित्यको पछिल्ला आन्दोलनहरुको सन्दर्भमा उन्मुक्त पुस्ता, फरक आयाम, कुकुर कविता र सहजकर्तामा मुनाराज शेर्मा रहनेछन् भने करोड क्लब सहित अफवाह शीर्षकमा सिनेमा विद्यामा मुख्य वक्तामा दयाहाङ राई, यज्ञस, ब्रजेशको र सहजकर्तामा अन्वेश थुलुङ राईको प्रस्तुती देख्न सकिनेछ ।

नेपाली साहित्यमा मन्दुम विधामा  मुख्य  वक्ता भूपाल राई र धर्मेन्द्र विक्रम नेम्वाङ, सहजकर्ता हाङयुग अज्ञात रहनेछन् भने गीतको दुःख विधामा  मुख्य वक्तामा गणेश रसिक, कोमल निरौला, गुरुङ सुसान्त र सहजकर्तामा सुरेन्द्र राई रहनेछन् । त्यस्तै, सिनेमा र सन्देश शीर्षकमा वक्तामा प्रकाश आङदेम्बे, दिनेश डिसी र स्वस्तीमा खड्का र सहजकर्तामा सुरेन्द्र राई रहनेछन् । गणतन्त्र खतरामा राजनीति विद्यामा मुख्य वक्ता विश्व प्रकाश शर्मा, योगेश भट्टराई र सहजकर्तामा बसन्त बस्नेत रहनेछन भने साहित्य र राजनीति विचारका मुख्य वक्ता विधामा  प्रदिप गिरीको प्रस्तुती रहनेछ ।

पछिल्लो समय इलाममा साहित्यिक कार्यक्रमहरु सुस्ताईरहेको अवस्थामा पुनःजागरण र पुनः उत्थानको लागि महोत्सवको आयोजना गर्न लागिएको आयोजक इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए ।

इलाममा २००९ सालमा करिफोकमा वृृहत साहित्यिक सम्मेलन आयोजना गरिएको थियो । त्यसपछि २०४५ सालमा महानन्द पुरस्कार समारोह पश्चात् २०६३ र २०६९ सालमा विशेष साहित्यिक कार्यक्रमपछि कुनै पनि साहित्यिक महोत्सव तथा सम्मेलनहरु आयोजना गरिएको थिएनन् । करिव ७ वर्षपछि इलाममा अन्तराष्टिय साहित्यिक सम्मेलन आयोजना गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार