इलामबासीलाई निराश नहुन पर्यटन मन्त्री भट्टराईको आग्रह

फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलको स्थलगत निरिक्षण

  नयाँ बुलन्द
0 Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई

इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले इलाम नगरपालिका ९ गोलाखर्कमा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको निरिक्षण गरेका छन् । बुधबार गृह जिल्ला ताप्लेजुङ फर्कने क्रममा मन्त्री भट्टराईले निर्माणाधीन विमानस्थलको स्थलगत निरिक्षण गरेका हुन् ।

निरिक्षणपछि भट्टराईले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदैं विमानस्थलाई पूर्णता दिन आफू लागिपर्ने प्रतिवद्धता जनाए । पहाडी जिल्लाका लागि आवश्यकता महशुस भएर नै निर्माण थालिएको बताउँदै मन्त्री भट्टराईले विमानस्थलले चाँडै पूर्णता पाउने भन्दै निराश नहुन इलामबासीलाई आग्रह गरे ।

१५ महिनाको ठेक्का लागिसकेको जानकारी दिदैं भट्टराईले सो अवधिमा हेर्न लायकको प्रगति हुने र त्यसपछि थप रकम विनियोजन गरेर विमानस्थल निर्माणलाई पूर्णता दिने बताए । पर्यटन प्रवद्धनका लागि सहयोगसिद्ध हुने बताउँदै भट्टराईले सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको बताए ।

विमानस्थलको गतवर्ष नै परिक्षण उडान भइसकेको छ । इलाम सदरमुकामबाट ५ किलोमिटर दक्षिणमा रहेको विमानस्थलको ७ सय मिटर लम्बाई र ६० मिटर चौडाई कच्ची धावनमार्ग निर्माण सम्पन्न भईसकेको छ । भल व्यवस्थापनको लागि विमानस्थलबाट माइखोलासम्म नाली निर्माणको काम पनि सम्पन्न भइसकेको छ ।

तर बाँकी काम नहुँदा विमानस्थलले पूर्णता पाउन सकेको छैन । विमानस्थल सञ्चालनमा ल्याउन टर्मिनल टावरका लागि भवन निर्माण, धावन मार्ग कालोपत्रे, विमान पाकिर्ङ र कार पार्किङ, भञ्ज्याङदेखि विमानस्थलसम्मको सडक र नाली निर्माण गर्नुपर्ने नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ । तर ती काम अघि बढ्न सकेको छैन ।

विमानस्थलको शिलान्यास २०६८ सालमा तत्कालिन नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले गरेका थिए । निर्माण सुरु भएको ८ वर्ष वितिसक्दा समेत पर्याप्त बजेट नभएको भन्दै विमानस्थलले पूर्णता पाउन सकेको छैन ।

समुद्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको उक्त स्थानमा प्रायः घाम लागिरहने भएकोले विमानस्थलका लागि उपयुक्त मानिन्छ । विमानस्थल निर्माणले पूर्वी पहाडका जिल्ला र सीमापारी भारतको दार्जिलिङ र सिक्किमका बासिन्दाका लागि समेत सहज हुने ठानिएको छ ।

१८ यात्रु अटाउने ट्वीनअटर जहाज चल्ने विमानस्थलका लागि सरोकारवाला निकाय र व्यक्तिबाट ३ सय २६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार