रवि लामिछानेसहित तीनजनालाई पाँच दिन थुना

चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।

शुक्रबार जिल्ला अदालत चितवनले लामिछाने, पत्रकार युवराज कँडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

तीनैजनालाई आत्महत्या दुरुत्साहनको अनुसन्धान सिलसिलामा प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरी चितवन ल्याएको थियो ।

अदालतले बिहीबारैदेखि लागू हुनेगरी पाँच दिनको अवधि दिएको हो ।

कडा सुरक्षाकाबीच उनीहरुलाई राति १ बजे चितवन ल्याइएको थियो ।

मुलुकी फौजदारी संहिताले आत्महत्या दुरुत्साहनलाई कर्तव्य ज्यान मुद्दाकै अंग मानेको छ । आत्महत्या दुरुत्साहन अभियोग पुष्टि भए प्रहरीले कर्तव्य ज्यान मुद्दा नै अघि बढाउँछ ।

आत्महत्या दुरुत्साहनमा पाँच वर्ष जेल सजाय हुने व्यवस्था छ ।

पुडासैनीको शव चितवनको कंगारु होटलमा यही साउन २० गते झुन्डिएको अवस्थामा फेलापरेको थियो ।

पत्रकार पुडासैनीले ‘आत्महत्या’ गर्नुअघि ‘रेकर्ड’ गरेको भनिएको भिडियोमा आफूलाई रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आत्महत्या गर्न बाध्य पारेको उल्लेख रहेको जनाइएको छ ।

समर्थकहरु सडकमा

सोक्रममा लामिछानेका समर्थकहरुले भने उनको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर प्रदर्शन गरेका थिए ।

यसैबीच, चौबिसकोठीमा चक्काजाम गर्न खोज्ने पाँचजनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार