‘तिम्बु पोखरीको कुमारीत्व भंग गर्न खोजियो’

पाँचथर : पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङबा गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित तिङमा, तिम्बु, तिम्बुङ वारक (पोखरी) छेउमा विष्णु मन्दिर बनाउन लागिएकोप्रति आदिबासी जनजाति आवद्ध १८ वटा संस्थाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिवार पाँचथरको फिदिममा पत्रकार सम्मेलन गरी आदिबासी जनजातीआवद्ध ती संघसस्थाहरुले आपत्ति जनाएका हुन् । उनीहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै रैथाने आदिवासीहरुको आस्थाको केन्द्र तिम्बुङ पोखरीमा विष्णु मन्दिर निर्माण गरेर तिम्बु पोखरी कुुमारीत्व भङ्ग गर्न खोजिएको आरोप लगाएका हुन् ।

जैबिक विविधताले भरिपूर्ण आदिबासीहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको तिम्बु पोखरीमा बिष्णु मन्दिर बनाएर धार्मिक सांस्कृतिक आस्था माथि प्राहार गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । जैबिक प्राकृतिक रुपमा शुन्दर रहेको पोखरीमा आधुनिक संरचना बनाएर त्यसको कुमारीत्व भंग गर्न खोजिएको भन्दै निर्माण गरिएको संरचना हटाउन विज्ञप्तिमा माग गरीएको छ ।

बिज्ञप्तिमा भनिएको छ तिम्बु पोखरीको जैबिक प्राकृतिक सौन्दर्यतालाई नष्ट गरेर कृतिमता सृजना गर्न खोजिएको छ । प्राकृती पुजक आदिबासी रैथानेहरुको धार्मिक आस्थामा समेत चोट पु¥याउने काम राज्य पक्षबाट भएको उनीहरुको आरोप छ ।

विज्ञप्तिमा भनिएको अरुको धार्मिक आस्था प्रति सम्मान गछौं । तर, अरुको आस्था नामेट हुने गरी जुनसुकै क्रियाकलाप प्रति हाम्रो बिमती रहने छ । मन्दिर बनेकोमा हाम्रो आपति होइन । पोखरी भन्दा केही टाढा त्यस्ता संरचना बन्दा हाम्रो कुनै आपति रहन्दैन ।

पोखरी छेउमा बनेको त्यो संरचनाले पोखरीको जैविक प्राकृतिक सौन्दर्य नष्ट भएको र त्यो संरचना बन्दा प्रयोग भएको सिमेन्ट र अन्य आधुनिक सामाग्री प्रयोगले त्यसको प्राकृतिक सौन्दर्य बिगारेको भन्दै यसले प्राकृतिक सम्पदामा समेत असर पु¥याएको ठहर गरेको छ ।

सो पोखरीमा पर्यटन मन्त्रालयको ५० लाख रुपैँया र सिदिङमा गाउँपालिकाको ५ लाख रुपैँया गरी ५५ लाखमा बिष्णु मन्दिर निर्माण भइरहेको छ । मन्दिर भित्र बिष्णु भगवानको मुर्ति स्थापना गरेर पोखरीको नाम बिष्णुपोखरी बनाउने षडन्त्र भइरहेको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा नेपाल आदिबासी जनजाती महासंघ, याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किपट संरक्षण मञ्च, तङसिङ एग्रो टुरिज्म प्रा लि, फोनिज पाँचथर लगायतका १८ वटा संघ सस्थाले एैकिबद्धता जनाएका छन ।

बिज्ञप्तिमा निर्माण भएको संरचनालाई त्यस स्थानबाट नहटाएमा त्यसको परिणाम राम्रो नहुने उनीहरुको भनाई छ । उक्त आग्रहलाई बेवास्ता गरेमा त्यसबाट उत्पन्न हुन सक्ने घटनाप्रति सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने समेत चेतावनी दिइएको छ ।

यस्तो छ प्रेस विज्ञप्ती

पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङबा गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित तिङमा, तिम्बु, तिम्बुङ वारक (पोखरी) छेउमा विष्णु मन्दीर बनाउन लागिएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । तिम्बुङ र आसपासका सहायक वारकहरुसँग यहाँका रैथाने आदिवासी समुदायको धार्मिक, साँस्कृतिक र जैविक सम्बन्ध रहीआएको छ । इङवा यङखङ (खोला) को शिर भएकोले यसलाई इङवा वारक पनि भनिन्छ । मुन्धुम र अनेकन मिथकहरुमा वर्णन गरिएका वारकहरुको नाम परिवर्तन गर्ने र वारक छेउमा मन्दीर निर्माण गरिनु शासकीय साँस्कृतिक अतिक्रमणको ज्वलन्त नमूना मध्ये एक हो । ताप्लीजङको मुक्कुमलुङमालाई पाथीभरा बनाइ हिन्दूकृत गरिएको छ । विगतदेखि रैथाने समुदायको सामाजिक, सांस्कृतिक तथा प्राकृतिक श्रोत साधनमाथि हस्तक्षेपको क्रम निरन्तर निरन्तर हुँदैआएको छ । यस्ता सांस्कृतिक अतिक्रमणका उदाहरणहरु बर्गेल्ती छन् । शासकीय अहंबाट उत्पन्न औपनिवेशिकरण र सांस्कृतिक अतिक्रमण अब उप्रान्त सह्य हुनेछैन ।

पर्यटन मन्त्रालय र सिदिङबा गाउँपालिकाको पहलमा निर्माणाधीन हिन्दू मन्दीरले सृष्टिकालदेखि यो ठाउँको काखमा पूजा गर्ने, खेल्ने, रमाउने, खनी खोस्री खाने रैथाने समुदायको आध्यात्मिक आस्था र सम्बन्धलाई छिन्नभिन्न पार्ने दुष्प्रयास गरिएको छ । प्रकृतिपूजक आदिवासीहरुले प्रकृतिमा पाइने स्थानीय वस्तुहरुलाई नै प्रयोग गरेर पूजा गर्ने गर्दछन् । कंक्रिटका कृत्रिम संरचनाहरु निर्माण गर्दैनन् । त्यसैले यो ठाउँ अहिलेसम्म भर्जिन रहेको छ । जैविक विविधता, प्राकृतिक सौन्दर्यता र पर्यावरणलाई सुरक्षित राख्नका लागि पनि यस क्षेत्रमा यस्ता कंक्रिट संरचना निर्माण गर्नु ठीक छैन । जहाँसम्म पर्यटन प्रबद्र्धनको सवाल छ त्यसका लागि रैथाने परम्परा, ज्ञान, संस्कृति र पर्यावरणीय सन्तुलन नविगारीकन गरिनुपर्छ न कि सांस्कृतिक अतिक्रमणबाट । यो कार्यका लागि पान्थर र ताप्लीजङ जिल्ला, आसपासका स्थानीय तह र सरोकारवाला समुदाय सबैको सामुहिक पहलको जरुरत पर्दछ । तर यसका लागि आदिवासी समुदायको संस्कार, संस्कृति र आध्यात्मिक परम्पराको सम्मानका साथै उनीहरुको कन्सेन्टबाट मात्र गरिनुपर्दछ ।

त्यसकारण यहाँको रैथाने संस्कृतिको सम्मान र तिम्बुङ वारकको भर्जिनीटीको रक्षार्थ यो कार्य अविलम्ब रोकिनु उचित हुनेछ । नेपाल आइएलओ महासन्धी १६९ को पक्ष राष्ट्र भएको र आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषण–पत्रलाई समर्थन गर्ने राष्ट्र भएको हुँदा उक्त अन्तर्राष्ट्रिय दस्तावेजहरुमा व्यवस्था भएका आदिवासी अधिकारहरुलाई सम्मान गर्न सबै तहका सरकारहरुलाई आग्रह गर्दछौं । यी दस्तावेजहरुमा आदिवासी समुदायको ऐतिहासिक स्थलहरुको मौलिक नामलाई सम्मान गर्नु पर्ने, परिवर्तन गर्न नहुने प्रावधान छ । अतः मन्दीर निर्माण बन्द गरी सबै निर्माण सामग्री त्यहाँबाट हटाइयोस् भनी सम्बन्धित सबैमा आग्रह गर्दछौं । अन्यथा यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी स्वयं सम्बन्धित पक्ष हुने कुरा समेत अवगत गराउँदछौं ।

रिन्जी शेर्पा अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ जिसप, पान्थर

लक्ष्मण लावती सदस्य, किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समिति

नरेन्द्रराज केरुङ अध्यक्ष, किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पान्थर

राजेन्द्र राई उपाध्यक्ष, किरात राई यायोक्खा, जिकास पान्थर

मोतिहाङ केरुङ अध्यक्ष, लिम्बु विद्यार्थी मञ्च जिल्ला शाखा पान्थर

गणेश साम्पाङ अध्यक्ष, आदिवासी जनजाति पत्रकार महासंघ, जिकास पान्थर

तिलविक्रम नेम्बाङ अध्यक्ष, साङसिङ गुम्बा शिवालय सत्यहाङ सिलौटी पान्थर

भवानी तावा सदस्य, तङसिङ एग्रो टुरिज्म प्रा.लि. पान्थर

राजेन्द्रकुमार जबेगू, कूलपति, याक्थुङ साम्नी यम्बुगेन नेपाल

दिलेन्द्र कुरुम्बाङ अध्यक्ष, लिम्बु भाषा विकास संस्था, पान्थर

सजिव योङया उपाध्यक्ष, लिम्बुवान स्टडी सेन्टर सुम्हात्लुङ च्याप्टर, पान्थर

निशा लोवा अध्यक्ष, लिम्बु पत्रकार संघ पान्थर

सन्देश सुब्बा अध्यक्ष, याक्थुङ मुन चइत चोःक सयङ, पान्थर

मचिन्द्र बेघा अध्यक्ष, किपट संरक्षण मञ्च, पान्थर

मनकुमार आङदेम्बे याक्थुङ युवा मञ्च, जिल्ला शाखा पान्थर

सुवास केरुङ सदस्य, किरात धर्म तथा साहित्य उत्थान संघ, जिकास पान्थर

गंगाराम मगर अध्यक्ष, स्वर्गिक मार्ग संघ नेपाल, जिल्ला शाखा पान्थर

मनकुमार केरुङ अध्यक्ष, केलाःङ सांस्कृतिक समाज

मिति : २०७६।०४।११ (जुलाइ २७, २०१९)

पूर्वपोष्टको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार