इलाम : डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिका इलामको सूर्योदय नगरपालिका १२ स्थित करफोकमा जारी दोश्रो सुर्योदय मेयरकपको सेमीफाइनल प्रवेश गरेकोछ ।
मंगरबार भएको अन्तिम क्वार्टरफाइनलमा इलामको माई नगरपालिका विरुद्ध ३-० को जित निकाल्दै मेचीनगरले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
ए डिभिजनका खेलाडीले भरिएको मेचीनगरसामु माई नगरपालिका निरिह बनेको थियो । पहिलो हाफमा मेचीनगरले ३–० गोल अन्तरको अग्रता बनाएको थियो । मेचीनगरका दिवस उराउले खेलको ५ औ मिनेट, निशान लिम्बुले १८ औं मिनेट र खमिर गिल्सन कन्दङवाले खेलको २५ औं मिनेटमा गोल गरेका थिए ।
दोश्रो हाफमा माईले सम्हालिएको प्रर्दशन गरेपछि मेचीनगरले थप गोल गर्न सकेन ।
प्रतियोगिताको पहिलो सेमीफाइनलमा बुधबार इलामको देउमाई नगरपालिका र झापाको शिवसतासी नगरपालिका भिड्नेछन् ।
प्रतियोगिताका विजेताले नगद २ लाख र उपबिजेताले १ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलरक्षक सर्वाधिक गोलकर्ताले जनही ८ हजार रुपैयाँ पाउनेछन् ।
१८ जेठसम्म सञ्चालन हुने प्रतियोगितामा इलामका ४ र झापाका ५ गरी ९ वटा नगरपालिका टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक सूर्योदय नगरपालिका सहित इलामका इलाम, देउमाई र माई नगरपालिका तथा झापाका दमक, शिवसतासी, कन्काई, मेचीनगर र अर्जुनधारा नगरपालिकाको सहभागिता छ ।
खेलमा सहभागी टिमका १८ खेलाडी र २ अफिसियल सहित २० जनालाई यातायात खर्चको व्यवस्था आयोजकले गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न २० लाख ८१ हजार ९ सय ९८ रुपयाँ खर्च हुने अनुमान गरिएको छ ।
खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्ने र नगरपालिकाभित्रका युवाहरुलाई दुव्र्यसनबाट मुक्त गराई उत्कृष्ठ खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
भिडियो हेर्नुहोस् :