मस्को : मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी हवाई जहाजमा आगो लाग्दा मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको अधिकारीहरूले जनाएका छन्।
सामाजिक सञ्जालमा राखिएका भिडिओमा आगो लागेको जहाजको आपत्तकालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिन्छ ।
रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन्। स्वास्थ्य मन्त्रालयले छ जना अस्पतालमा भर्न गरिएको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाएको विविसीले उल्लेख गरेको छ।
एकजना प्रत्यक्षदर्शीले ७८ जना यात्रुहरू रहेको जेट विमानबाट मानिसहरू निस्किएर भाग्न सक्नु ’चमत्कार’ भएको बताएका विदेशी संचार माध्यमले बताएका छन् ।
उक्त जहाज सुखोइ सुपरजेट(१०० भएको र त्यो स्थानीय समयअनुसार साँझ पाँच बजेर ५० मिनेटमा मुर्मन्स्क सहरको निम्ति उड्ने तालिका रहेको बताइएको छ।
समाचार संस्था इन्टरफ्याक्सका अनुसार मस्कोको शेरमियतएभो विमानस्थलबाट उडेको केहीबरेमै चालक दलका सदस्यले आपत्कालीन सङ्केत जारी गरेका थिए। तर आपत्कालीन अवतरणको पहिलो प्रयास विफल भएको पनि समाचारहरूमा जनाइएको छ।
’फ्लाइटरेडार२४’ वेबसाइटका अनुसार विमान उडेको करिब आधा घण्टामा आपतकालीन अवतरण भएको थियो। उसको विज्ञप्तिमा आपत्कालीन अवतरण गरेपछि धावनमार्गमा जहाजको इन्जिनमा आगो लागेको थियो ।
चालक दलले यात्रुलाई जोगाउन सबै प्रयास गरेको बताउँदै ५५ सेकेन्डभित्र उनीहरूलाई निकालिएको अधिकारीहरुले बताएका छन् ।