घाचोक (कास्की) : पर्वतारोहणको लागि हालसम्म कञ्चन मानिने माछापुच्छ्रे हिमालको कोखैमा एक वस्तीले भने आन्तुकहरूलाई लोभ्याइरहेको छ ।
गण्डकी प्रदेशको राजधानी पोखराको उत्तरी दिशामा पर्ने माछापुच्छ्रे गाउँपालिका–१ घाचोकस्थित टुसेका स्थानीयले सञ्चालनमा ल्याएको माछापुच्छ्रे सामुदायिक अर्ग्यानिक होमस्टे (घरबास) यतिबेला आगन्तुकको रोजाइको गन्तव्य बन्न थालेको हो ।
पोखरा बसपार्कदेखि झण्डै १८ किलोमिटरको दूरीमा रहेको घाचोक सेती नदीको तीरैतीर हुँदै करीब डेढ घण्टाको बस यात्रापछि पुगिन्छ ।
सामुन्ने टलक्क टल्किने माछापुच्छ्रेको शीर । दौडेर पुगौं–पुगौं लाग्ने । चारैतिर हरिया पहाडले घेरिएर बीचमा समथर जमिनमा रहेको वस्तीमा चिसो हावा चलिरहने । बाह्रैमास घाम लाग्ने सो घाचोक प्राकृतिक सुन्दरताले सुसज्जित छ ।
आदिवासी जनजाति मगर र गुरुङको सघन बसोबास घाचोकको थप सुन्दरता हो । मौलिक चालचलन, सभ्य स्वागत, सत्कार र आर्गनिक खानपानले त्यहाँ पुग्ने जो कोही सन्तुष्टिले तृप्त नहुने कुरै भएन ।
घाचोक पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘पर्यटन गन्तव्य हुन कुनै पनि ठाउँको केही न केही विशेषता हुनैपर्छ । यहाँ त प्राकृतिक सौन्दर्य, जनजातिको संस्कार, संस्कृति छ । उसैमाथि जैविक खानपानले पर्यटकको रोजाइ नबन्ने सवालै उठ्दैन ।’
स्थानीयहरूले २०७५ बैशाखदेखि माछापुच्छ्रे सामुदायिक अर्ग्यानिक होमस्टे सञ्चालनमा ल्याएका हुन् । साढे ३ सय घरधुरी रहेको घाचोकमा २३ घरधुरीले होमस्टे सञ्चालनमा ल्याएका हुन् ।
होमस्टे व्यवस्थापन समितिका अध्यक्ष आशकुमार गुरुङले स्थानीय स्रोतसाधनलाई सदुपयोग गरी पर्यटन प्रवद्र्धन गरी रोजगारीको विकास गर्न होमस्टे सञ्चालनमा ल्याएको बताए । होमस्टेको प्रचारप्रसार हुन थालेपछि पर्यटक आगमन समेत बढेको अध्यक्ष गुरुङको भनाई छ ।
होमस्टे सञ्चालन गरिएको घरहरूमा पाहुनाको लागि अलग–अलग घरको व्यवस्था गरिएको छ । जहाँ प्याकेजको रुपमा प्रतिघरमा प्रतिदिन २ जना पाहुना बस्न पाउने व्यवस्था गरिएको छ । जसअनुसार स्थानीयले सबै घरमा पलैपालो पाहुनाहरूलाई बसाउँदै आएका छन् । तथापी पाहुनाहरूको इच्छाअनुसार रोजेको घरमा बसाउँदै आएको अध्यक्ष गुरुङ बताउँछन् ।
बस्ने कोठा, शौचालय, खानेपानी, इन्टरनेट, विद्युत्को व्यवस्था गरिएको सो होमस्टेमा १ दिनको प्याकेजमा प्रतिव्यक्ति साढे ८ सय सेवा शुल्क लिने गरिन्छ । १ दिने प्याकेज अनुसार पुगेका पाहुनाहरूको रुचीअनुसार स्वागत कार्यक्रम अन्तर्गत बेलुका कोदोको लोकल रक्सी पिलाइन्छ । खानासँग मासु खाना, दालभात, दही, दुध, गुन्दुक, तरकारी दिइने व्यवस्था गरिएको छ । अर्कोदिन बिहानको खाजासहित पाहुनालाई स्थानीय संस्कृति अनुसार बिदाइ गरिन्छ ।
होमस्टेका थप आकर्षण
होमस्टेको प्रमुख आधार भनेकै स्थानीय प्राकृतिक सौन्दर्य हो । आगनबाटै माछापुच्छ्रेको दृश्यावलोकन गर्न सकिन्छ । १०–११ थरिको लालीगुराँस फूल्ने थलो पनि घाचोक नै हो । जहाँ फागुनदेखि बैशाखको अन्त्यसम्म घाचोक वस्ती वरिपरि रङ्गिन हुन्छ । बस्तीको अलिमाथि पिपर ताल क्षेत्र छ । जुन ताल ६ प्रजातिको डाँफे, घोराललगायत चराचुरुङ्गी, जनावरहरूको पानी खाने तथा प्रजनन् स्थल हो ।
घाचोकदेखि तातोपानी क्षेत्र १ घण्टाको पैदल दूरीमा छ । प्रसिद्ध तीर्थस्थलको रुपमा चिनिने तातोपानी बाँथ रोगीहरूका लागि प्राकृतिक उपचार थलो हो ।
स्थानीयले पहुनाहरूलाई लक्षित गर्दै प्रत्येक बेलुका परम्परागत सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । छ्याटु, सोरठी, घाटुलगायत नाचगान प्रदर्शन गर्दै आएका हुन् । योसँगै लोप हुने क्रममा रहेका संस्कृति संरक्षणमा टेवा पुगिरहेको स्थानीय बताउँछन् ।
‘माछापुच्छ्रे खुला गरिनुपर्ने’
माछापुच्छ्रे हिमाल हालसम्म पर्वतारोहणको लागि खुला गरिएको छैन । जुन हिमाललाई अझैंसम्म कुमारी हिमालको रुपमा लिइन्छ । पर्वतारोहणको लागि खुला गरिए पाहुनाहरूको आगमन उल्लेख्य बृद्धि हुने स्थानीयको भनाई छ । जसलाई मध्यनजर गरी स्थानीयले पर्वतारोहणको लागि खुला गरिनुपर्ने माग राज्यसँग गर्दै आएका छन् ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले स्थानीयको माग अनुसार पर्वतारोहणको लागि खुला गरिनुपर्ने निर्णय गाउँसभा पारित गरिएको बताए । तर प्रदेश र संघीय मन्त्रालयबाट अनुमति नपाएको उनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘हालसम्म माछापुच्छ्रेलाई भर्जिन डिस्टिनेसनको रुपमा लिइन्छ । माछापुच्छ्रेको आरोहणको लागि खुला गरिए पर्यटक आगमनमा सुधार हुन्छ । होमस्टे फस्टाउन धेरै दिन कुर्नु नै पर्दैन ।’
महिलाहरूकै नेतृत्व
हाल सो बस्तीमा नव युवायुवतीहरू कमै देखिन्छन् । कोही वैदेशिक रोजगारीमा छन् भने कोही पढाइको शिलशिलामा पोखरा लगायतको शहरी क्षेत्रमा बसोबास गर्दै आएका छन् । होमस्टेमा वयस्क महिला पुरुष र बृद्धाबद्ध मात्रै बस्दै आएका छन् भने बस्तीको नेतृत्व महिलाहरूबाटै भएको छ ।
होमस्टे सञ्चालन पूर्व स्थानीय महिला तथा पुरुष घरधन्दामा मात्रै सीमित थिए । होमस्टे सञ्चालन सम्बन्धी केही सचेतनामूलक कार्यक्रममा सहभागी भएपछि स्थानीय महिलामा क्षमता अभिबृद्धि हुनुको साथै नेतृत्व क्षमताको विकास हुँदै गएको छ । अर्कोतिर होमस्टेमा पाहुनाहरूको आगमन बढेपछि आर्थिक गतिविधि समेत बढेको स्थानीय बताउँछन् ।
होमस्टे सञ्चालन गर्दै आएकी वनकुमारी गुरुङ पाहुनाहरूलाई आफ्नै घरमा स्वागत सत्कार गरी आयआर्जन हुन थालेपछि दंग परेकी छिन् । उनले भनिन्, ‘हामी पहिले खेतीपाती र घरधन्दामा मात्रै सीमित थियौं । तर आजभोलि घरमै बसीबसी आयआर्जनको बाटो खुलेको छ । स्थानीय साधनस्रोतको सदुपयोग भएको छ । बाह्य मान्छेसँग बोल्न नसक्ने हामीहरू पाहुनाहरूलाई मजाले स्वागत सत्कार गर्दै आएका छौं ।’
भिडियो हेर्नुहोस् :
लोकान्तरबाट साभार