काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन र प्रहरीबीच झपड भएको छ ।
अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेता कालीमाटीस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा संगठन विस्तार गर्नेक्रममा प्रहरीसँग बिहीार बिहान झडप भएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी गराए ।
झडपमा क्रान्तिकारीका सचिव डिबी साउद, अनेरास्ववियुका सचिवालय सदस्य नारायण घर्तीलगायत पाँच घाइते भएको उनले बताए ।
अन्य घाइते हुनेमा केन्द्रीय निर्वाचन आयोगका सदस्य सञ्जय दुवाडी, सम्पर्क विभाग सचिव सागर भट्ट, काठमाडौं भूगोल जिल्ला कमिटी उपाध्यक्ष राजकुमार ढकाल रहेका छन् ।
अनेरास्ववियुका सचिवालय सदस्य घर्तीले आफू सरकारद्वारा सन्चालित क्याम्पसमा संगठन विस्तार गर्न जाँदा प्रतिष्ठान प्रशासनले प्रहरी बोलाएर कुटपिट गरेको बताए ।
घाइतेमध्ये क्रान्तिकारीका सचिव साउदको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
साउदलाई टाउकोमा पाँच टाँका लगाइएको सचिवालय सदस्य घर्तीले जानकारी दिए ।
प्रतिष्ठानका कार्यकारी निर्देशक दुर्गादत्त ढकालले प्रतिष्ठानमा अहिलेसम्म कुनै विद्यार्थी संगठनको संगठन नभएकाले जबर्जस्ती संगठन खोल्नेक्रममा प्रहरीसँग विद्यार्थी नेताको झडप भएको बताए ।
‘हाम्रो प्रतिष्ठानमा कुनै विद्यार्थी संगठनको संगठन छैन । बाहिरबाट आएर अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले बलजफ्ती संगठन खोल्न थालेका थिए’–उनले भने–‘प्रतिष्ठानमा अध्ययन गरिरहेका विद्यार्थीले संगठन चाहिँदैन भन्दै थिए । बाहिर र भित्रका विद्यार्थीबीच संगठन खोल्ने र नखोल्ने भन्ने विषयमा विवाद हुँदा प्रहरीसँग झडप भएको हो ।’
उनले झपडमा दुवैतर्फका विद्यार्थी घाइते भएको जानकारी गराए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त प्रतिष्ठान सन्चालन गर्दै आएको छ । प्रतिष्ठानमा होटल व्यवस्थापन र सत्कार विषय अध्ययन हुँदै आएको छ ।
यसैगरी, अनेरास्ववियुका महासचिव महरले विज्ञप्ति जारी गर्दै विद्यार्थी नेतामाथि आक्रमण गर्नेमाथि कारबाहीको माग गरेका छन् ।



















































