पर्यटन प्रर्वधनका लागि ‘ढापपोखरी महोत्सव’ हुने

  नयाँ बुलन्द
7 Shares

इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा रहेको ढापपोखरीमा डुङ्गा सयर गर्दै पर्यटक ।

इलाम : इलामको सन्दकपुर गाउँपालिका ५ जमुनास्थित चन्द्रपाल थेवे ढाप पोखरीमा सात दिने ‘ढापपोखरी पर्यटन महोत्सव’ आयोजना गरिने भएको छ ।

पर्यटन प्रर्वधन गर्ने उदेश्यले आगामी २४ देखि ३० चैतसम्म पाँचौ ‘ढापपोखरी पर्यटन महोत्सव’ आयोजना गर्न लागिएको सोमबार इलाममा पत्रकार भेटघाट गरी आयोजकले जानकारी दिएको छ । महोत्सवका लागि वडा अध्यक्ष जीतबहादुर साँवाको संयोजकत्वमा एक सय एक सदस्यीय मूल आयोजक समिति गठन गरी तयारी थालिएको छ ।

रामनवमीको अवसर पारेर आयोजना गर्न लागिएको महोत्सवमा बोटिङ र फिसिङ कार्यक्रम विशेष आकर्षणको केन्द्र हुनेछन् । सो पोखरीमा करिब साढे ७ हजार माछा छन् । ग्रासकार र कमनकार जातका ती माछा २ वर्ष अघि तत्कालिन जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको थियो । पोखरीमा डुङ्गा सवार अर्को आकषर््ाण हुनेछ । चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण समितिको पहलमा विस्तार भएको पोखरीमा कात्तिक २०७४ देखि २ वटा डुङ्गा समेत सञ्चालनमा ल्याइएको छ ।

महोत्सवमा विभिन्न जातजातिको परम्परागत संस्कृतिको प्रर्दशनी, जातिय खाना र भेषभूषाको प्रर्दशनी, ऐतिहासिक र पुरातात्विक सामाग्री प्रर्दशनी गरिनेछन् । त्यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा सांस्कृतिक र खेलकुदका कार्यक्रम समेत आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवकै अवसर पारेर रेडपाण्डा पाइने स्थान चोयाटार र हाँगेथाम सफारी सहितका व्यवस्था मिलाउने पनि आयोजक समितिको तयारी छ ।

पर्यटकका लागि होमस्टेको व्यवस्था गरिएको छ । पोखरी आसपासका २ दर्जन घरमा खान र बस्ने व्यवस्था गरिएको महोत्सव मूल आयोजक समतिकिा संयोजक जीतबहादुर साँवाले जानकारी दिए ।

५० हजार बढि आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष लिइएको महोत्सवमा करित्र २० लाख खर्च लाग्ने अनुमान आयोजकको छ । त्यसका लागि आयोजकले प्रायोजकको खोजी भईरहेको जनाएको छ ।

महोत्सवलाई भव्य बनाउँदै बचेको रकमले पोखरी क्षेत्रका अधुरा कामलाई पुरा गरिने उपाध्यक्ष निरवहादुर फागोले जानकारी दिए । पोखरी क्षेत्रको ड्यामसाइडलाई मजवुत बनाउने, पोखरीबीचको डाँडामा पार्क निर्माण, आगन्तुकलाई बिश्राम गर्न गोलघर, शौचालय र खानेपानीको व्यवस्था गर्ने, पोखरी आशपास पार्क बनाउने, रिङरोडको व्यवस्था गर्नेलगायतका काम अधुरै छ ।

ढापपोखरी जिल्लाकै सबैभन्दा ठूलो मानव निर्मित पोखरी हो । ५० रोपनी क्षेत्रफलमा फैलिएको पोखरीको लम्बाई २ सय १५ मिटर र चौडाई १ सय मिटर छ । सामान्य सीमसार रहेका क्षेत्रमा स्थानीयले निरन्तरको प्रयासपछि पोखरी निर्माण भएको हो ।

२०७२ वैशाख १ देखि स्थानीयले जनश्रमदान गरेर निर्माण थालेको ढापपोखरीले एक वर्षपछि पोखरीको आकार लिएको थियो । पहिलो दिन नै करिब एक हजार पाँच सय जनाले पोखरी निर्माणका लागि श्रमदान गरेका थिए ।

चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण समितिको पहलमा पोखरीको संरक्षण र विस्तार थालिएसँगै वर्षेनी महोत्सवको आयोजना हुन थालेको हो । २०७२ वैशाख यता ४ वटा महोत्सव सम्पन्न भइसकेका छन् ।

सदरमुकाम इलाम बजारबाट करिब २२ किलोमिटर उत्तरमा रहको जमुनामा ढापपोखरीसहित हाँगेथाम, चोयाटार, जौवारी लगायत जैविक, धार्मिक र पर्यटकीय महत्वका स्थल छन् । यो महोत्सवले यी सवै पर्यटकीय क्षेत्रको प्रचार र प्रर्वधनमा सहयोग पुग्ने आशा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक साँवाले बताए ।

स्थानीय प्रयासयमा पोखरीको संरक्षण र विस्तार भएपछि त्यस क्षेत्रमा वर्सेनि पर्यटकको आउजाउ समेत बढेको छ । जिल्लाकै नौलो गन्तव्यको रुपमा विकास हुँदै गएको सो पोखरीको विस्तारसँगै पोखरीदेखि तलका वस्तीमा पानीका मूहान फुटेका छन् । जसका कारण पानीको हाहाकारमा रहेका त्यहाँका स्थानीयले नियमित पिउने पानीको सूविधा समेत पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार