इलाम : आइतबार बिहान इलाम सदरमुकामको एक घरमा आगलागी हुँदा करिब १४ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
विहान करिब साढे ६ बजे इलाम नगरपालिका ७ सुन्तलाबारीका मनबहादुर गुरुङको एक तला पक्का र तलामाथि टिनको बेरा र छाना भएको २ तले घरमा आगलागी भएको हो ।
गुरुङको घरुमा डेरा गरी बसेका बिष्णुमाया लिम्बूको भान्छा कोठाबाट भएको आगलागीबाट घरको माथिल्लो तला पुर्ण रुपले क्षतिग्रस्त भएको छ ।
आग लागिबाट नगद दस लाख सहित सुन, चाँदी, भाँडावर्तन, लताकपडा र अन्नपात गरी करिब चौध लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
लिम्बूको भान्छा कोठाबाट ग्यासको सिलिण्डर पड्केर आगलागी सुरु भएको प्रहरीले जनाएको छ । करिब १ घण्टापछि स्थानीयबासी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।
चुम्लुङ र फासिङद्वारा राहत वितरण
किरात याक्थुङ चुम्लुङ इलाम र याक्थुङ फासिङ सजुम इलामले आगलागी पीडित लिम्बूको परिवारलाई प्रारम्भिक राहत वितरण गरेको छ ।
पीडितलाई ग्यासको सिलिण्डर, ग्यास चुल्हो, प्रेसरकुकर, भाँडावर्तन लगाय ११ हजार छ सय रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको हो ।
चुम्लुङ र फासिङले घटनास्थलमा नै पुगेर पीडित लिम्बू परिवारलाई राहत वितरण गरेको थियो ।
हेर्नुहोस् भिडियोमा :