इलामको ढापपोखरीमा पर्यटकको चहलपहल

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको ढापपोखरीमा पर्यटकको चहलपहल बढेको छ । स्थानीयको संरक्षणपछि विस्तार भएको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढापपोखरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएपछि पर्यटकको चहलपहल बढेको हो । ५० रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको पोखरी, आसपासको चियाबारी र रमणीय स्थानका कारण ढापपोखरीमा आगन्तुकको ध्यान बढ्दै गएको हो । सदरमुकामबाट २२ किलोमिटर उत्तरको ढापपोखरीमा रमाइलो गर्न र घुम्नका लागि जिल्लाका विभिन्न स्थानका साथै सीमापारिको दार्जिलिङबाट समेत पर्यटक पुग्न थालेका छन् ।

पोखरी र पर्यटकको आकर्षणका लागि चन्द्रपाल थेवे ढाप सीमसार संरक्षण तथा पर्यटन विकास समितिले पोखरीमा विभिन्न प्रजातिका ८ हजार माछाका भुरासमेत छाडेको छ । वातावरण सन्तुलन र पर्यटन विकासका लागि पोखरीको विस्तारले ठूलो मद्दत पुगेको सरोकारवालाको भनाइ छ । ‘जिल्लाकै नयाँ र फरक गन्तव्यका रूपमा विकास भएको पोखरीलाई प्राकृतिक ढङ्गले साजसज्जायुक्त बनाउँदै पर्यटकलाई आकर्षित गर्न सकिन्छ,’ पर्यटन विकासमा सक्रिय युद्ध वैद्यले भने, ‘आसपासका हाँगेथाम, चोयाटार, जौवारीलगायत स्थानलाई पनि विकास गर्दै प्याकेज बनाउनुपर्छ ।’

दलदल अवस्थामा रहेको जमिनलाई पूर्वी मोहोडामा बाँध कसेपछि पोखरी विस्तार भएको हो ।  ४ वर्षअघि संरक्षण शुरू गरिएको पोखरीमा डुङ्गा सञ्चालन पनि रहेकाे छ । पोखरीमा पानी भरिएपछि नयाँ प्रजातिका चरासमेत आउन थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार