इलाम : चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै विगत ९ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको अवस्था जटिल बनेको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विशेषज्ञ टोलीले डा. केसीलाई काठमाडौं लैजान सुझाव दिएपछि केसीलाई हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भएको हो । राती इलाममा हेलिकप्टर आउन नसक्ने भएपछि झापाको भद्रपुरसम्म एम्बुलेन्सबाट र त्यहाँबाट हेलिकप्टरमा काठमाडौं लैजाने तयारी भएको छ ।
सत्याग्रहको नवौं दिनमा विहीबार केसीको अवस्था जटिल बनेपछि विशेषज्ञको टोलीले चाँडो भन्दा भाँडो काठमाडौं लैजान सुझाव दिएका थिए ।
विशेषज्ञको सुझाव बमोजिम डा. केसीलाई राती नै हेलिकप्टर मार्फत काठमाडौं पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।
डा. केसीका अभियन्ता समेत रहेका डा. अभिषेक सिंहले केसीको मेडिकल रिपोर्ट आउने वित्तिकै उनलाई काठमाडौं लगिने बताए । उनले डा. केसीको सत्याग्रह भने जारी रहने जानकारी दिए ।
केसीलाई भेट्न पूर्वप्रधानन्याधीशसहितको टोली इलाममा
इलाम अस्पतालमा १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई भेट्न पूर्वप्रधान्याधीश सुशीला कार्कीसहितको टोली बिहीबार इलाम आएको छ । सत्याग्रहको ९ दिनसम्म पनि उनको मुद्दा सुनुवाइ नभएपछि त्रिभुुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा कार्यदलका संयोजक केदारभक्त माथेमा, अधिकारकर्मी दमननाथ ढुंगानालगायतको टोली साँझ इलाम आइपुगेको हो ।
उनीहरूले यसअघि केसीका मुद्दा सम्बोधन गर्न सरकारलाई आग्रह गरिसकेका छन् ।
डा. केसीको स्वास्थ्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट बुधबार नै विशेषज्ञ टोली आएको थियो । प्रतिष्ठानका अस्पताल निर्देशक डा. विकास शाहले केसीको अवस्था चिन्ताजनक रहेकाले तत्काल यहाँबाट रेफर गर्नुपर्ने बताइसकेका छन् ।
इलाम अस्पतालमा आईसीयू, सीसीयूलगायतका सुविधा नभएकाले जुनसुकै अवस्थामा पनि संकट हुन सक्ने सहयोगी धर्म गौतमको भनाइ छ । तर केसीले इलाम नछाड्ने अडान पटक–पटक राख्दै आएका छन् ।
डा. केसीको पक्षमा सदरमुकाममा हस्ताक्षर अभियान पनि सुरु भएको छ । सत्याग्रह थालेयता उनको पक्षमा सदरमुकाममा दिनहुँ र्याली निस्कने गरेका छन् । उनलाई समर्थन गर्ने संघसंस्था पनि थपिँदै गएका छन् ।
भिडियो हेर्नुहोस् :