महोत्सवमा प्रवेश नै नगरी शुल्क ! पर्यटक नै आएनन् : व्यवसायी (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

इलाम : काठमाडौंकी कपडा व्यापारी कान्ता श्रेष्ठ एक दिनको बस यात्रा गरी इलाम आइपुगिन् । इलाममा विहीबारबाट सुरु भएको मेची क्षेत्र पर्यटन महोत्सवमा दुई वटा स्टल बुकिङ गरिन् । अनि दुवै स्टलमा उतैबाट ल्याएका कपडा फिँजाइन् । एउटा स्टलमा लेडिज र अर्कोमा जेन्सको कपडा राखिन् ।

उनी जतिबेला काठमाडौंबाट इलाम प्रस्थान गर्दै थिइन् । त्यतिबेला सोच्दै थिइन्, महोत्सवमा राम्रै व्यापार हुन्छ । अनि काठमाडौं फर्केर व्यवसायमा थप केही सुधार हुन्छ ।

पति र एक छोरासहित इलाम आइपुगेकी श्रेष्ठको वास्तविकता भने फरक बन्यो । उनले जे सोचेकी थिइन्, त्यो पूरा हुने छाँटकाँट देखिएन । दुई दिनको स्टल बसाईमा व्यापार नै नभएपछि उनी निराश बनेकी छन् । विहीबार र शुक्रबार जम्मा चार हजार रुपैयाँको हाराहारीमा मात्र सामान विक्री भएको बताउँछिन् ।

काठमाडौंबाट यहाँसम्म आउँदाको खर्च र स्टलको भाडा पनि व्यापारले धान्न मुस्किल देखिएको भन्दै उनी   चिन्तित बनेकी छन् । ‘तीन जनाको परिवार यहाँसम्म आउँदा, सामानको भाडा तिर्दा नै निक्कै खर्च भइसकेको छ । स्टलको २० हजार रुपैयाँ तिर्न बाँकी नै छ’ निराश मुद्रामा उनले भनिन्, ‘खाना र बासको त हिसाब नै छैन । व्यापार गर्न होइन, सामान बुझाउन मात्र आइयो जस्तो छ ।’

श्रेष्ठको चिन्ता स्वभाविक हो । किनकी महोत्सवमा व्यवसाय फस्टाउन आगन्तुक (पर्यटक) नै महत्वपूर्ण मानिन्छ । इलाममा जारी महोत्सवमा वाह्य पर्यटकको आगमन शुन्यजस्तै देखिन्थ्यो । इलाम बजार र आसपासका मानिसहरुमात्र महोत्सवमा आउने, अवलोकन गर्ने र फर्कने भएकाले व्यापार हुन नसकेको सहजै अनुमान गर्न सकिन्छ ।

महोत्सव अवलोकनका लागि पर्यटक नै नआएकाले व्यापार हुन नसकेको श्रेष्ठको भनाई छ । पर्यटकको आकर्षणका कार्यक्रमहरु खासै केही नभएकाले नआएको उनको भनाई छ । ‘पर्यटकका लागि आकर्षक केही छैन । न व्यवस्थापन राम्रो छ, न त प्रचारप्रसार नै । अनि केका लागि बाह्य पर्यटक यहाँ आउँछन्’ उनले भनिन्, ‘पर्यटक नआएपछी सबै व्यापारीको हालत उस्तै बन्ने भयो ।’

श्रेष्ठको मात्र होइन, अन्य व्यवसायिक स्टलहरुको अवस्था पनि उस्तै छ । सोचेजस्तो पर्यटकहरु इलाम नभित्रिएकाले महोत्सव सुनसानजस्तै बनेको ममता खाद्य उद्योग तथा प्याकेजिङकी प्रोपाइटर सेवी राई बताउँछिन् । ‘अन्य अन्य महोत्सवमा त पर्यटन निकै देखिन्थ्यो । यो महोत्सवमा त्यस्तो देखिएन । पर्यटक नआएपछी व्यापार हुने कुरै भएन’ राईले भनिन्, ‘महोत्सवको अवधि लामो भएर हुन सक्छ । आशा गरौं अन्तिमतिर आउलान् ।’

उसो त प्रचारप्रसारमा भनिजस्तो साविक मेचीका न उद्योगीको उपस्थिती छ, न त पर्यटकको नै । महोत्सवमा देखिएका करिब ६६ वटा स्टलहरु प्राय इलामकै व्यवसायीको देखिन्छ । बाह्य जिल्लाबाट उद्योगी, व्यापारी, व्यवसायी एवम् पर्यटकको समेत पर्याप्त उपस्थिती नहुनुले महोत्सव सुनसानजस्तै बनेको छ ।

इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिको आयोजनामा विहीबारदेखि १२ दिने मेची क्षेत्र पर्यटन महोत्सव जारी छ ।

महोत्सव प्रवेश नै नगरी शुल्क !

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा प्राय प्रवेश शुल्क लिइदैंन । महोत्सवमा राखिएका विभिन्न स्टल र प्रदर्शनीमा राखिएका सामग्रीहरुको अवलोकन समेत निशुल्क गर्छन् । स्टलमा राखिएका सामानहरु खरिद गरेर लैजान परेमा मात्र शुल्क लाग्छ । अनि महोत्सवमा राखिएका विभिन्न कार्यक्रममा सहभागी जनाउन शुल्क लाग्ने गर्दछ ।

तर यहाँ भने महोत्सव प्रवेश नै नगरी शुल्क लिइने गरेको छ । महोत्सव आयोजना गरिएको ठूलो टुँडिखेलमा प्रवेश नै नगरी प्रवेश द्वारमा आयोजकले टिकट काउण्टर नै खडा गरी शुल्क लिएको छ । प्रवेशद्वारमा नेपाल प्रहरीकै जस्तो पोसाक (नीलो) मा चार जना चेकजाँच गर्ने सुरक्षागार्डले टिकट चेकजाँच गरी मात्र प्रवेश गराउने भएकाले पर्यटकलाई थप असहज भएको देखिन्छ । आयोजकले महोत्सव अवलोकनका लागि प्रवेश गर्नकै लागि मात्र प्रतिपर्यटक ५० रुपैयाँ र विद्यार्थीका लागि प्रतिविद्यार्थी २० रुपैयाँका दरले शुल्क लिइरहेको छ । अन्य प्रत्येक कार्यक्रममा सहभागी भएवापतको छुट्टै शुल्क लाग्छ ।

प्रवेश शुल्कको चौतर्फी विरोध

आयोजकले महोत्सवस्थल प्रवेशकै लागि शुल्क लिएको भन्दै चौतर्फी विरोध सुरु भएको छ । महोत्सव स्थलदेखि विभिन्न सामाजिक संजालमा गेटमै शुल्क लिएकोप्रति आयोजकको विरोध गरेका छन् । पर्यटन प्रवर्द्धन गर्न की नाफा कमाउन महोत्सव आयोजना गरिएको भन्दै आयोजकसँग प्रश्न गर्न थालेका छन् । कतिपयले महोत्सवलाई ‘कमाईखाने भाँडो’ बनाउन लागेको आरोप समेत लगाउन थालेका छन् ।

प्रवेश शुल्कले पनि पर्यटकमा कमी   

आयोजकले पर्यटकलाई गेटबाहिर नै शुल्क लिन थालेकाले पनि महोत्सवमा पर्यटकको संख्यामा कमी आएको व्यवसायीहरुको भनाइ छ । कतिपय आन्तिरक पर्यटकहरु शुल्कै कारण गेटसम्म आएर पनि प्रवेश नगरी नै फर्कने समेत गरेका छन् । कतिपयले बाहिर नै खर्च गर्नुपरेकाले समेत भित्र खर्च नगरी फर्कन्छन् ।

साँस्कृतिक कार्यक्रमका लागि शुल्क लिइएको : आयोजक

यसैबीच आयोजक समितिले भने महोत्सवभित्र आयोजना हुने साँस्कृतिक कार्यक्रमका लागि बाहिर नै शुल्क लिएको बताए । समितिका सचिव देवी पौडेलले महोत्सवभरी विभिन्न कलाकारहरुका साथमा कार्यक्रम हुने भएकाले त्यसको व्यवस्थापनका लागि शुल्क लिइएको बताए । ‘त्यस्तो धेरै शुल्क पनि लिएका छैनौं’ पौडेलले भने, ‘प्रतिव्यक्ति ५० रुपैयाँ मात्र छ । विद्यार्थीका लागि त २० रुपैयाँ मात्र छ ।’

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार