इलाम : प्रदेश १ का चार जिल्ला इलाम, झापा, पाँचथर र ताप्लेजुङका समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विहिबारबाट इलाममा प्रथम ‘मेची क्षेत्र पर्यटन महोत्सव’ सुरु भएको छ ।
इलाम पर्यटन प्रर्वद्धन सरोकार समितिको आयोजनामा विभिन्न जातीय झाँकीको तामझामसहित १२ दिने महोत्सवको सुरु भएको हो । इलामको धोवीधाराबाट सुरु भएको जातीय झाँकीसहितको र्यालीले इलाम बजार परिक्रमा गरी इलामको ठूलो टुँडिखेलमा प्रवेश गरेपछि महोत्सवको उद्घाटन गरिएको थियो । महोत्सवको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैतले गरे ।
इलाममा हालसम्म आयोजना भएको मध्ये सबैभन्दा ठूलो मेची क्षेत्र पर्यटन महोत्सवमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका पर्यटन व्यवसायी र उद्योगीहरुको सहभागिता रहेको छ ।
इलाम सदरमुकामको ठूलो टुँडिखेलमा १६ पुससम्म हुने महोत्सवमा चार जिल्लाका व्यवसायीयले आआफ्नो जिल्लामा उत्पादित सामग्रीको प्रदर्शन गरेका छन् । महोत्सवमा विभिन्न ६६ वटा स्टलहरु राखिएका छन् । यी स्टलहरुमा चार जिल्लामा उत्पादित कृषिजन्य, औद्योगिक तथा व्यवसायिक सामग्रीहरु प्रदशर्नीमा राखिएका छन् । यसका साथै चार जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिको लोप हुन लागेको कला संस्कृति, जातीय खानाको परिकारहरु, दुर्लभ जीवजन्तु चौंरीगाई र पर्यटकीय क्षेत्रको प्रचारप्रसार सामग्री प्रदर्शनीमा राखिएका छन् ।
महोत्सवमा ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजक इलाम पर्यटन प्रर्वद्धन सरोकार समितिका सचिव देवी पौडेलले जानकारी दिए । झापा, पाँचथर, ताप्लेजुङ र इलाममा पालैपालो आयोजना हुने ‘मेची क्षेत्र पर्यटन महोत्सव’ को सुरुआत इलामबाट भएको हो । महोत्सवमा नेपालका विभिनुन क्षेत्रका साथै भारतको सिक्किम, दार्जिलिङ र पश्चिम बंगालबाट समेत पर्यटकहरु इलाम आएका छन् ।
होत्सवमा विभिन्न कार्यक्रमहरु समेत आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा साहित्यिक कार्यक्रम, साँस्कृतिक कार्यक्रम, खेलकुदका कार्यक्रमका साथै सम्मानको कार्यकरम रहेको आयोजक समितिका सचिव पौड्यालले जानकारी दिए । यस्तै प्रदेश १ का होटल व्यवसायीको भेला, साविक मेचीका पर्यटन व्यवसायीहरूको भेला, वृद्ध, बच्चा र विद्यार्थीलक्षित कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
महोत्सवले साविकका मेचीका चार जिल्लाका पर्यटकीय स्थानको प्रचारप्रसारका लागि विशेष योगदान पुर्याउने आयोजकको अपेक्षा छ । इलाममा अन्तुडाँडा, कन्याम, सन्दकपुर, सानी पाथिभरा, माईपोखरी, गजुरमुखी, माङमालुङ, सिद्धिथुम्का, माङसेबुङ, सलकपुर, छिन्टापु, टोड्के झरनालगायतका पर्यटकीय गन्तव्यहरु छन् । झापामा केचनकवल, अर्जुनधारा, सतासीधाम, जामुनखाडी सिमसार क्षेत्रलगायतका पर्यटकीय स्थलहरु छन् ।
पाँचथरमा जोरपोखरी, सिलौटी, हिलिहाँङ दरबार, छिन्तापु, तिम्बुङ पोखरी, साधुटार, पौवा भञ्ज्याङलगायतका गन्तव्यहरु छन् । ताप्लेजुङमा भने प्रसिद्ध धार्मिकस्थल पाथिभरा देवी मन्दिर, कंचनजंघा हिमश्रृंखला, तिम्बुङपोखरी, मिल्के जलजले क्षेत्रलगायतका स्थानहरु पर्यटकीय गन्तव्यका रुपमा चर्चित छ ।
भिडियोमा हेर्नुहोस् :