आजदेखि इलाममा मेची क्षेत्र पर्यटन महोत्सव सुरु हुँदै

  राम योङहाङ
0 Shares

इलाम : बिहीबारदेखि प्रथम ‘मेची क्षेत्र पर्यटन महोत्सव’ सुरु हुँदै छ । इलाम पर्यटन सरोकार मञ्चको आयोजनामा साविक मेची अञ्चलस्तरीय महोत्सव संचालन हुन लागेको हो ।

झापा, पाँचथर, ताप्लेजुङ र इलाममा पालैपालो सञ्चालन हुने ‘मेची क्षेत्र पर्यटन महोत्सव’ को सुरुआत इलामबाट हुने भएको छ । दीगो पर्यटन विकास गर्ने उद्देश्यले पहिलोपटक हुन लागेको महोत्सव १६ पुससम्म सञ्चालन हुनेछ । महोत्सवमा करिब ५० हजार पर्यटक भित्र्याउने लक्ष्य आयोजकको छ ।

महोत्सवमा भारतको सिक्किम, दार्जिलिङ साथै पश्चिम बंगाल क्षेत्र र नेपालमा विभिन्न स्थानबाट पर्यटक आउने क्रम सुरु भएका छ ।

इलाम बजारस्थित ठूलो टुँडिखेलमा आयोजना हुने महोत्सवमा १ सय १६० भन्दा बढी व्यावसायिक स्टलहरू राखिएका छन् । महोत्सवमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका स्थानीय उत्पादन, कला संस्कृति, राष्ट्रिय कलाकारको प्रस्तुति, रमाइलो मेला, ट्राभलहरूबाट प्याकेज बिक्री, जातीय खानाको परिकारहरू राखिनेछन् ।

त्यस्तै प्रदेश–१ का होटल व्यवसायीको भेला, साविक मेचीका पर्यटन व्यवसायीहरूको भेला, विभिन्न साहित्यिक स्रष्टाहरूबाट साहित्यिक कार्यक्रम, वृद्ध, बच्चा र विद्यार्थीलक्षित कार्यक्रम, भेडा, चौरी, अवलोकन, घोडचढी लगायतका कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

इलामलगायत साविक मेचीका पर्यटकीय स्थानको प्रचारप्रसारका लागि यो महोत्सवले सहयोग गर्ने आयोजकको अपेक्षा छ । इलाममा अन्तुडाँडा, कन्याम, सन्दकपुर, सानी पाथिभरा, माईपोखरी, गजुरमुखी, माङमालुङ, सिद्धिथुम्का, माङसेबुङ, सलकपुर, छिन्टापु, टोड्के झरनालगायतका पर्यटकीय गन्तव्यहरु छन् । महोत्सवमा करिब तीन करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार