‘मेची क्षेत्र पर्यटन महोत्सव’ को तयारी अन्तिम चरणमा

  राम योङहाङ
0 Shares

इलाम : इलाममा यसै सातादेखि संचालन हुन लागेको ‘मेची क्षेत्र पर्यटन महोत्सव’ को तयारी तीब्र पारिएको छ । ५ देखि १६ पुससम्म इलाम सदरमुकाममा संचालन हुने साविक मेची अंचल स्तरीय महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक इलाम पर्यटन सरोकार मञ्चले जनाएको छ ।

यस क्षेत्रको दीगो पर्यटन विकाश गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको पर्यटन सरोकार मञ्चका अध्यक्ष विजय राईले जानकारी दिए । साविक मेची अंचलका झापा, पाँचथर, ताप्लेजुङ र इलाममा पालैपालो संचालन हुने ‘मेची क्षेत्र पर्यटन महोत्सव’ को सुरुवात इलामबाट हुँदैछ ।

पहिलोपटक हुन लागेको महोत्सवमा करिब ५० हजार पर्यटक भित्र्याउने लक्ष्य आयोजकको छ । महोत्सवको प्रचार तथा प्रवद्र्धन भारतको सिक्किम, दार्जिलिङ साथै पश्चिम बंगाल क्षेत्र र नेपालमा विभिन्न स्थानहरुमा भइरहेकाले पर्याप्त मात्रामा पर्यटकहरु भित्रने आयोजकको आशा छ ।

महोत्सवमा करिब तीन करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवको प्रवद्र्धकका रुपमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति रहेका छन् ।

इलाम बजारस्थित ठूलो टुँडिखेलमा आयोजना हुने महोत्सवमा १ सय ५० व्यवसायिक स्टलहरु रहनेछन् । महोत्सवमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका स्थनीय उत्पादन, कला संस्कृति, राष्ट्रिय कलाकारको प्रस्तुती, रमाइलो मेला, ट्राभलहरुबाट प्याकेज बिक्री, जातयी खानाको परिकारहरु राखिनेछन् । त्यस्तै प्रदेश १ का होटल व्यवसायीको भेला, साविक मेचीका पर्यटन व्यवसायीहरुको भेला, विभिन्न साहित्यीक श्रष्ठाहरुबाट साहित्यिक कार्यक्रम, वृद्ध, बच्चा र विद्यार्थी लक्षित कार्यक्रम, भेडा, चौरी, अवलोकन, घोडचढी लगायतका कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

इलामलगायत साविक मेचीका पर्यटकीय स्थानको प्रचारप्रसारका लागि यो महोत्सवले सहयोग गर्ने आयोजकको अपेक्षा छ । इलाममा अन्तुडाँडा, कन्याम, सन्दकपुर, सानी पाथिभरा, माईपोखरी, गजुरमुखी, माङमालुङ, सिद्धिथुम्का, माङसेबुङ, सलकपुर, छिन्टापु, टोड्के झरनालगायतका पर्यटकीय गन्तव्यहरु च्र्चामा छन् । झापामा केचनकवल, अर्जुनधारा, सतासीधाम, जामुनखाडी सिमसार क्षेत्रलगायतका पर्यटकीय स्थलहरु छन् ।

पाँचथरमा जोरपोखरी, सिलौटी, हिलिहाँङ दरबार, छिन्तापु, तिम्बुङ पोखरी, साधुटार, पौवा भञ्ज्याङलगायतका गन्तव्यहरु छन् । ताप्लेजुङमा भने प्रसिद्ध धार्मिकस्थल पाथिभरा देवी मन्दिर, कंचनजंघा हिमश्रृंखला, तिम्बुङपोखरी, मिल्के जलजले क्षेत्रलगायतका स्थानहरु पर्यटकीय गन्तव्यका रुपमा चर्चित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार