तीन दिने सिद्धिथुम्का पर्यटन महोत्सव सम्पन्‍न, २० लाख बराबरको कारोबार

   सुजता सुनुवार
0 Shares

इलाम : इलाममा भएको तीन दिने सिद्धिथुम्का पर्यटन महोत्सव मंगलबार सम्पन्न भएको छ । जिल्लाको देउमाई नगरपालिका वडा नम्बर ७ साविक सिद्धिथुम्कामा गएको कार्तिक २५ गतेबाट सुरु भएको महोत्सवमा तीनै दिन छुट्टाछुट्टै विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो । पर्यटन प्रवद्र्धन दिगो बनाउने उद्धेश्य सहित आयोजना गरिएको तीन दिने महोत्सवमा करिब २० लाखको कारोबार भएको महोत्सव आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईले जानकारी दिए ।

महोत्सवका अवसरमा विभिन्न २० स्टल राखिएका थिए । ती स्टलमा पुजा सामाग्री, कृषि सामाग्री, स्थानिय उत्पादनमा आधारित विभिन्न खाद्य परिकारहरु र ऐतिहासिक महत्वका विभिन्न सजावटका सामाग्रीहरु प्रदर्शनीमा राखिएका थिए ।

यस्तै बाह्य र आन्तरिक गरी दुई हजार पाँच सय पर्यटकले महोत्सवका अवसरमा महत्वपूर्ण पर्यटकिय क्षेत्रको अवलोकन गरेका छन् । यसका साथै विभिन्न जातजातिका जातिय परिकारको स्वाद समेत लिएका छन् । छिमेकी देश भारतका विभिन्न स्थान, छिमेकी जिल्लाहरु झापा, मोरङ्ग, पाँचथर, इलाम जिल्लाका विभिन्न स्थान र काठमाण्डौका पर्यटकहरु महोत्सवमा सहभागी भएको बताइएको छ ।

महोत्सवमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागी सिद्धिथुम्का चुली पुग्ने र दृश्यावलोकन गर्ने, स्थानीयस्तरका अन्य पर्यटकीयस्थल घुम्ने व्यवस्था मिलाइएको थियो । यस्तै सिद्धिथुम्काको मुख्य आकर्षण सिद्धिथुम्का चुली हो । समुद्री सतहबाट एक हजार छ सय ९३ मिटरको उचाईमा रहेको यो चुलीबाट सूर्योदय, सूर्यास्तको दृश्य देखिनुका साथै विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका हिमश्रृङ्खला पनि देख्न सकिन्छ ।त्यस्तै इलामका सबै भाग, झापा, सुनसरी, मोरङ, धनकुटा र पाँचथर जिल्ला सहित भारतीय क्षेत्रका पनि केही भागको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

यस्तै महोत्सवमा पुगेका पर्यटकले सिद्धिदेवीस्थान, खान्द्रुङ गुफा, गुफाभित्र रहेका ५० मिटर भन्दा बढी लम्बाईका पाँच वटा सुरुङहरु, अजम्बरे डाँडा, देवीथुम्का डाँडा, ५० मिटरजति अग्लो दुई तले पङ्खेलुङ झरना, पाल्सेम डुब्लिङ गुम्बा, किरातेश्वर शिवालय मन्दिर लगायतको अवलोकन गरी पर्यटकले मनोरञ्जन समेत लिएका छन् ।

पर्यटन प्रवद्र्धन दिगो बनाउने लक्ष्यका साथ वि.सं. २०६५ सालबाट सिद्धिथुम्का पर्यटन महोत्सव सुरु गरिएको हो । यस वर्षको महोत्सव तेस्रो रहेको आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार