काठमाडौं : बढ्दो सहरीकरणसँगै ग्रामिण क्षेत्रमा समेत खाना पकाउने एलपी ग्यासको प्रयोग हुन थाले पछि वर्सेनि यसको आयात बढ्दै गएको छ । गत वर्षमा मात्र ३ लाख ७० हजार ५ सय ६० मेट्रिक टन खाना पकाउने ग्यासको आयात भएको छ ।
नेपाली उपभोक्ताको भान्सामा पछिल्लो पाँच वर्षमा १ खर्ब रुपैयाँभन्दा बढीको खाना पकाउने एलपी ग्यास खपत भएको छ । सहजै प्रयोग गर्न सकिने अत्यावश्यक वस्तुकोे रूपमा रहेको ग्यास सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि यसको प्रयोग बढ्दै गएको छ । बढ्दो सहरीकरणसँगै दाउराको अभाव हुन थालेपछि ग्यासको खपतसँगै आयातदर बर्सेनि बढ्दै गएकोे नेपाल आयल निगमले जनाएको छ ।
आर्थिक वर्ष ०७४/०७५ मा २५ अर्ब रुपैयाँ बराबरको ३ लाख ७७ हजार मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ । ग्रामीण क्षेत्रमा पनि खपत बढ्दै गएकाले बर्सेनि १५ देखि २० प्रतिशतका दरले ग्यासको आयात बढ्दै गएको निगमको भनाई छ । निगमले आर्थिक वर्ष २०७३/७४ मा १९ अर्ब ४८ करोड ९७ लाख ८८ हजार रुपैयाँबराबरको ३ लाख १४ हजार ८ सय ५ टन ग्यास आयात गरेको थियो ।
मुलुकमा विभिन्न ५५ वटा उद्योगहरुले ग्यास आयात गरी बजारमा वितरण गर्ने गरेका छन् । निगमले अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरे पनि ग्यासमा उपभोक्तालाई प्रत्यक्ष असर पर्न सक्ने भन्दै लामो समयदेखि समायोजन गरेको छ । हाल बजारमा प्रति शिलिण्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ रहेको छ ।