गाईलाई सुत्केरी भत्ता

 फिदिम : स्थानीय तहहरुले कर बढाइरहेको भन्दै सर्वसाधारण असन्तुष्ट छन । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न क्षेत्रमा करको दायरालाई विस्तार गर्दा ‘जनप्रतिनिधिले दुःख दिने मात्रै काम गरेको’ गुनासो बढी नै सुन्न पाइन्छ । स्थानीय सरकार बनेर ‘यो चाँही राम्रो काम भयो’ भन्ने अत्यन्तै न्यून मात्रामा मात्रै सुनिन्छ । यस्तै विरलै सुनिने कार्य गर्ने प्रयत्न पाँचथरको फाल्गुनन्द गाँउपालिका वडा नं. २ इम्बुङमा भएको छ । जहाँ गाईलाई सुत्केरी भत्ता प्रदान गर्न थालिएको छ ।

झट्ट सुन्दा आश्चार्य लागेपनि यो कामको थालनी नै भएको छ । सर्वसाधारणले समेत अपेक्षाकृत सेवा स्थानीय सरकारबाट नपाइरहेका बेला फाल्गुनन्द–२ मा गाईलाई सुत्केरी भत्ता वितरण गर्न थालिएको हो । फाल्गुनन्द गाँउपालिका २ नं. वडा कार्यालय र स्थानीय सहकारी संस्थाको प्रयासमा गाइलाई सुत्केरी भत्ता वितरण गरिएको हो । गाई पालक कृषकलाई पशुपालन र कृषि पेशामा निरन्तर लाग्न प्रोत्साहित गर्ने उद्देश्यले भत्ता वितरण गर्न थालिएको हो ।

गाई पालन गर्दा गाई सुत्केरी भएकै कारण भत्ता पाइन्छ भन्ने आफूले कहिल्यै नसोचेको स्थानीय गाई पालक लोकन्द्र फुयालको भनाई छ । गाईलाई सुत्केरी भत्ता प्रदान गर्ने कार्यले निरन्तरता पाए पशु पालन र कृषिमा भविश्य देखेका कृषकहरु आफ्नो पेशामा थप हौसिएर लाग्ने र आत्मसम्मान मिलेको महशुस गर्ने फुयालको दाबी छ ।

फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय फिक्चुखोला कृषि सहकारी संस्था लिमिटेड र उक्त वडामा पशुपालनमा सहयोग गर्दै आएको संस्था मिलन केन्द्र नेपालको संयोजनमा गाई सुत्केरी भएवापत भत्ता उपलब्ध गराउन थालिएको फाल्गुनन्द–२ का वडाअध्यक्ष वहादुर सिंह नेम्वाङले वताए ।

उनका अनुसार पहिलो पटक २७ ओटा विमित गाईका गाई पालक किसानहरुलाई २ हजार २ सयको दरले सुत्केरी भत्ता वितरण गरिएको छ । गाई सुत्केरी हुँदा स्याहार–चारक गर्न सहयोग पुगोस भन्ने उद्देश्यले थालिएको भत्ता वितरणलाई आगामी वर्षमा थप विस्तारिक र व्यवस्थित बनाइने वडाध्यक्ष नेम्वाङको दाबी छ ।

उक्त वडामा उन्नत जातिको गाई पालनका लागि सहयोग गर्दै आएको मिलन केन्द्र नेपालका कार्यक्रम संयोजक विचारसिंह लावतीले विमा गराइएका ४ महिना भित्रका सुत्केरी गाइहरुलाई सो सुविधा उपलव्ध गराएको वताए । इम्वुङमा गुड इभर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ५४ ओटा र घुम्ती कोषवाट १० ओटा गरी ६४ ओटा उन्नत जातका गाई पालन गरिदै आएको छ ।

स्थानीय बासिन्दा समेत रहेका पूर्व सांसद् अइन्द्रसुन्दर नेम्वाङ यस्ता प्रयासले युवाहरु स्थानीय स्तरमै उत्पादन र पेशा व्यवसाय सञ्चालन गर्न उत्साहित हुने वताए । सहकारी मार्फत उन्नत प्रजातिका गाई पालन र दूध तथा दूग्धजन्य पदार्थको बजारिकरणको कार्य गर्नुपर्ने नेम्वाङको जोड छ ।मेची पोष्ट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार