काठमाडौं : अमेरिकाले चीनमा रहेका आफ्ना नागरिकलाई असामान्य आवाज या दृश्यबाट सतर्क रहन सुझाव दिएको छ ।
चीनमा रहेका एक अमेरिकीको रहस्यमय स्थितिपछि अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई सचेत रहन चेतावनी दिएको हो ।
चीनमा रहेका एक अमेरिकी नागरिकले आफूले कडा, संदिग्ध, असामान्य आवाज र दबाबको सामना गर्नुपरेको गुनासो गरेपछि अमेरिकाले आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको हो ।
अमेरिकी विदेश मन्त्री माइक पाम्पियोले यसअघि क्यूवामा पनि आफ्ना दूतावासका कर्मचारीले यस्तै समस्याको सामना गर्नुपरेको बताएका छन् ।
यसलाई गम्भीरतापूर्वक लिँदै विदेश मन्त्री पाम्पियोले ती व्यक्तिको स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान गरिने बताए । उनले असामान्य आवाज र दृश्य आउने ठाउँमा नजान आफ्ना नागरिकलाई आग्रह गरे ।
अमेरिकी दूतावासका प्रवक्ता जिनी लीले चीनको ग्वान्जोउ शहरमा सन् २०१७ को अन्तिमदेखि गत अप्रिलसम्म आफ्ना कर्मचारीले शारीरिक विकृतिको सामना गर्नुपरेको बताए ।
यसपछि कर्मचारीलाई अमेरिका फिर्ता गरिएको थियो । अमेरिकी दूतावासले कर्मचारीको मस्तिष्कमा चोट पुगेको जनाएको छ ।
तर, त्यसको कारण भने पत्ता लाग्न सकेको छैन । आफ्ना नागरिकमाथि भएको घटनाबारे अमेरिकाले चीनलाई सूचीत गरिसकेको जनाइएको छ ।
चीनले पनि घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्ने आश्वासन दिएको छ ।