प्रकाश नेपाल
इलाम : एसियाली बिकास बैंक एडीवीको सहयोगमा इलाम सदरमुकाममा सञ्चालन हुन लागेको ‘इलामबजार तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजना’ अन्तर्गत पहिलो चरणको ९० प्रतिशत काम पुरा भएको छ । सम्झौता पूर्व उपभोक्ताबाट पाँच प्रतिशत रकम उठाउने कार्य अन्तिम चरणमा पुगेसँगै पहिलो चरणको कार्य अन्तिम चरणमा पुगेको हो ।
खानेपानी आयोजना सञ्चालन हुने अन्तिम समयमा उजुरी परेपछि आयोजनाको काम प्रभावित भएको थियो ।
एसियाली बिकास बैंक (एडीवी)का प्रतिनिधि सहितको टोलीले भर्खरै सन्दकपुर गाउँपालिकामा रहेको मुहानको अनुगमन तथा सर्भे सम्पन्न गरेको छ । सो क्षेत्रका जनताहरुसँग समेत छलफलपछि इलाम सदरमुकाममा जिल्ला स्थित राजनैतिक दल, संघसंस्था, सञ्चारकर्मी लगायतसँग बिहिबार छलफल समेत भएको छ । छलफलमा नेकपा एमालेका कार्यबाहक अध्यक्ष भक्त के सि , नेपाली कांग्रेसका खगेन्द्र देवान, माओवादी केन्द्रकी टीका घिमिरे लगायतले यहाँ विवाद नरहेको वताएका थिए । उनीहरुले खानेपानीको काम चाँडै सुरुवात गर्न एडिवीका प्रतिनिधि समक्ष आग्रह समेत गरेका थिए ।
आयोजना सञ्चालन गर्न जिल्लावासीको सहयोग अपरिहार्य रहेको उपभोक्ता समिति अध्यक्ष केदार थापाले वताए ।
इलामको उत्तरी क्षेत्र माइमझुवाबाट सदरमुकाममा ल्याउन लागिएको सो खानेपानी आयोजनाको विषयमा चरणवद्ध छलफल र सर्भे सकिएकाले पहिलो चरणको करिव ९० प्रतिशत कार्य सम्पन्न भएको उनको भनाई छ । एडिबिका प्रतिनिधिले समेत आगामी असार सम्ममा सम्झौता गरिसक्ने वताएका थिए ।
नेपाल सरकारको शहरी बिकास मन्त्रालय अन्र्तगत खानेपानी तथा ढल निकास बिभागमार्फत तेस्रो सहरी खानेपानी तथा सरसफाई आयोजना संचालन हुन लागेको हो । आयोजना सम्पन्न भएपश्चात २४ घण्टा नै उपभोक्ताको धारामा पानी झर्ने र आवश्यक अनुसार उपभोग गर्न पाइने भएको छ । प्रति ब्यक्ति दैनिक ९० देखि १०० लिटरसम्म पानी बितरण गरिने गरि आयोजना सञ्चालन हुने भएको जनाइएको छ ।
हालसम्ममा ३ करोड अठासी लाख ५१ हजार रकम स्थानिय उपभोक्ताहरुबाट संकलन भइसकेको कोषाध्यक्ष तिलक ठकुरीले जानकारी दिए ।



















































